लखनउमा करिब दुई महिना बसेपछि थाहा भयो, सुनिललाई देखिएको समस्या उनी र उनका आफन्तहरुले कहिल्यै नसुनेको ‘गुइलिन ब्यारे सिन्ड्रोम’नामक विकार भयो । खासमा सुनिललाई भएको समस्या चिकित्सकहरुका अनुसार एकदमै दुर्लभ समस्या हो ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ मोतिपुरका २६ वर्षीय सुनिल कार्कीको जीवन जसोतसो सामान्य नै चलिरहेको थियो । तीन भाइबहिनीको परिवारका कान्छो छोरा सुनिलले पाँच वर्षअघि बिहे गरेका थिए । उनकी तीन वर्षीया छोरी छिन् ।
कहिले स्वदेशमै त कहिले भारतमा गएर ज्याला मजदुरी गरेर आमाबुवा र आफ्नो परिवारको लालनपालनको जोहो गरिरहेका सुनिल अहिले हातखुट्टा र शरीर नचल्ने भएर ओछ्यानमा पल्टिन बाध्य छन् । हाल उनी नेपालगञ्ज–१८ मा दिदीको कोठामा आश्रय लिएर कोहलपुरको हल्वदारस्थित कौशल्या मेमोरियल अस्पतालमा उपचार गराइरहेका छन् ।
कुनै पूर्वसंकेत र समस्याबिनै पहिलोपटक समस्या देखिएको करिब एक दुई हप्तामै उनी उठ्न नसक्ने स्थितिमा पुगे । स्वस्थ र तन्दुरुस्त अवस्थाका सुनिल अहिले अरुको सहाराबिना उठ्न नसक्ने स्थितिमा छन् । सुनिलको यो अवस्था एक्कासी भएको हो । समस्या सुरु भएको दिन थियो २०७९ साल असार २५ गते । सुर्खेतमा भिनाजुसँग बसिरहेका सुनिललाई एकदिन उठ्न नै नसक्नेगरी खुट्टाहरुले साथ छोडेको महशुस गर्न थाले । हातमा पनि कुनै संवेदना महशुस भइरहेको थिएन ।
त्यसपछि उनलाई नेपालगञ्जमा न्यूरो सर्जन जोशन न्यौपानेकहाँ पु¥याइयो ।यहाँ उपचार सम्भव नहुने देखेपछि उनलाई भारतको लखनउ लगियो । लखनउमा करिब दुई महिना बसेपछि थाहा भयो, सुनिललाई देखिएको समस्या उनी र उनका आफन्तहरुले कहिल्यै नसुनेको ‘गुइलिन ब्यारे सिन्ड्रोम’नामक विकार भयो । खासमा सुनिललाई भएको समस्या चिकित्सकहरुका अनुसार एकदमै दुर्लभ समस्या हो ।
कौशल्या मेमोरियल अस्पतालमा अहिले सुनिलको फिजियोथेरापी भइरहेको छ । अस्पतालका वरिष्ठ फिजिसियन डा. शुभाष पाण्डेले यो शरीरको तातो चिसो थाहा पाउने स्नायु प्रणालीमा आफ्नै शरीरको प्रतिरक्षा प्रणालीले आक्रमण गर्दा उत्पन्न हुने दुर्लभ र जटिल समस्या रहेको बताउँछन् ।
उनका अनुसार यसको उपचार यही हो भन्ने यकिन छैन । तर फिजियोथेरापी, अक्युपन्चर र औषधीको नियमित उपचारले सुधार हुने गरेको छ । भेरी अस्पतालका नूरोलोजिष्ट डा. निरज गौतमले समस्या पत्ता लागेर उपचारमा गइसकेपछि करिब दुई वर्षमा ८० प्रतिशत बिरामीहरु पूर्णतया निको हुने बताउँछन् । त्यसका लागि उपचार जारी राख्नुपर्ने उनको भनाइ छ ।
उपचारमा सहयोग गर्न परिवारको अनुनय
यसको राम्रो उपचारका लागि भारतको मेदान्ता, राममनोहर लोहिया, जिपीजिआई र नेपालका न्यूरो अस्पताल काठमाडौं, शिक्षण अस्पताल लगायतका अस्पतालमा उत्तम रहेको डा. सुभाष पाण्डेले बताए । तर सुनिलको परिवारसँग ती अस्पताल लैजान आर्थिक ल्याकत छैन । परिवारको आडभरोसा बन्ने बेला उनको परिवारमाथि आइपरेको यो संकट उनीहरु बयान गर्न सक्दैनन् ।
सुनिल अहिले नेपालगञ्जमा दिदीको कोठामा आश्रय लिइरहेका छन् । घरमा ६० कटेका बुवा र ५५ बटेकी आमा छन् । आमाबुवा दुवै शारीरिक रुपले स्वस्थ छैनन् । दाइको परिवार अलग्गै बस्छ । तीन वर्षकी छोरीसहित पाँचजनाको परिकार धान्नुपर्ने जिम्मेवारी काँधमा रहेका सुनिल ओछ्यानमा छन् ।
उनको अहिलेसम्मको उपचारमै करिब १२ लाखभन्दा बढी खर्च भइसकेको सुनिलकी दिदी सुनिता थापा कार्कीले बताइन् ।
गाउँघरमा सापटी र ऋणदान गरेर उनीहरुले अहिलेसम्म त उपचार गरे । अब अगाडीको उपचारका लागि कम्तिमा १० लाख रुपैयाँ लाग्ने चिकित्सकहरुको अनुमान छ । चिकित्सकहरु जतिुसक्दो चाडो उपचार गरेमा सञ्चो हुने सम्भावना बढ्ने चिकित्सकहरु बताउँछन् ।
उक्त रकम कसरी जोहो गर्ने उनीहरु छटपटीमा छन् ।
मिसन टुडेमार्फत उनीहरुले आर्थिक सहयोग गर्न सक्ने क्षमताका मनकारीहरुलाई सहयोगका लागि अनुनय गरेका छन् । सहयोग गर्न चाहनेहरुले सुनिलकी दिदी सुनिता थापा कार्कीको नाममा कुमारी बैंकमा रहेको ०२४०३७४०४४००० नम्बरको खातामा रकम जम्मा गर्न सक्नुहुनेछ । थप जानकारीका लागि सुनिताको सम्पर्क नम्बर ९७५६४५३०२५ रहेको छ ।
के हो ‘गुइलिन ब्यारेसिन्ड्रोम’ ?
‘गुइलिन ब्यारेसिन्ड्रोम’ एक दुर्लभ विकार हो । जसमा शरीरको प्रतिरक्षा प्रणालीलेस्नायुमा आक्रमण गर्छ । हात र खुट्टामा कमजोरी हुनु सम्झमाउनु यसको सामान्यतया पहिलो लक्षण हो । यी समस्यादु्रत गतिमा शरीरमा फैलिन सक्छ ।
अन्ततःसम्पूर्ण शरीरलाई पक्षाघात गर्न सक्छ । यो समस्यालाई चिकित्सा आपतकालीन अवस्था पनि भन्ने गरिन्छ । यो अवस्था भएका अधिकांश व्यक्तिहरू उपचार प्राप्त गर्न अस्पतालमै भर्ना हुनुपर्छ ।
गुइलिन ब्यारे सिन्ड्रोमको सही कारण अज्ञात छ । तर दुई तिहाइ बिरामीहरूले अघिल्लो छ हप्तामा संक्रमणको लक्षणहरू रिपोर्ट गर्छन् । सिन्ड्रोम कोभिड भाइरस संग संक्रमण पछि हुन सक्छ । यो जोन्सन एन्ड जोन्सन वा एस्ट्राजेनेका कोभिड–१९ खोप प्राप्त गर्नेहरूमा पनि दुर्लभ प्रतिक्रिया मानिएको छ । अमेरिकामा हरेक वर्ष करिब तीन हजारदेखि ६ हजार मानिसमा यो समस्या देखिने गरेको पाइएको छ ।
गुइलिन ब्यारे सिन्ड्रोमको लागि कुनै ज्ञात उपचार नभए पनि केही उपचारहरूले लक्षणहरू कम गर्न र रोगको अवधि घटाउन सक्छन् । यद्यपि अधिकांश मानिसहरू गुइलेन–ब्यारे सिन्ड्रोमबाट पूर्ण रूपमा निको हुन्छन् ।
केही गम्भीर अवस्थाहरू घातक हुन सक्छन् । रिकभरी हुन धेरै वर्ष लाग्न सक्छ । धेरैजसो मानिसहरू लक्षणहरू सुरु भएको छ महिना पछि फेरि हिड्न सक्षम हुन्छन् । केही व्यक्तिहरूमा यसको कमजोरी, थकानजस्ता दीर्घकालीन प्रभावहरू रहिरहन सक्छन् ।