ओलीले चाहे आफ्नो दलभित्र होस् चाहे काँग्रेस एमालेको गठबन्धनको सरकारको नेतृत्व गर्दा होस् आफूबाहेक अरु कोही पनि जान्ने छैनन् । म नै सर्वज्ञानी छु भन्ने अहंकारले ओलीलाई नै रछ्यानको पात्र जस्तो बनाइसक्यो तर पनि उनको अझै अहंकारको मात्रामा कतै कमी आएको छैन । उनलाई कत्ति पनि ग्लानी भएको छैन ।
भीम रावत
नेपालको इतिहासमै गत भदौ २३ र २४ गते अकल्पनीय एउटा विद्रोह भयो । त्यो पनि केपी ओली प्रधानमन्त्री रहेकै समयमा । अझ भनौँ केपी ओलीकै कुशासनका कारणले । तर आफू देशको कार्यकारी प्रमुख भएको समयमा भएको देशभित्र यति ठूलो घटना हुँदा त्यसको नैतिक जिम्मेवारी समेत स्वीकार नगर्ने प्रधानमन्त्री पनि ओली नै हुन पुगे । जेनजी विद्रोहलाई हेर्ने, बुझ्ने र महसुस गर्ने जुन दृष्टिकोण केपी ओली र एमालेको रह्यो त्यो नै गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेको पराजयको प्रमुख कारण हो । तर यस्लाई अहिले एमालेका अधिकांश नेताहरूले गल्तीको महसुस गरे पनि ओली चाहीँ अझै पनि त्यसलाई महसुस गर्न र गल्ती भएको स्वीकार्न तयार छैनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीति जीवनको प्रारम्भ त्यति सशक्त र बौद्धिक थिएन । उनी २०२५ सालमा विद्यार्थी संगठनको फ्र्याक्सन कमिटीमा आबद्ध भई आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरी झापा जिल्ला कमिटीमा आबद्ध भएका थिए । औपचारिक शिक्षामा कक्षा ८ सम्म मात्रै अध्ययन गर्न पाएका ओली विद्यार्थी हुँदा नै धेरै पटक गिरफ्तारीमा पनि परेका थिए । २०२८ सालमा झापा विद्रोहका एक प्रमुख पात्रको रूपमा उनलाई लिइन्छ । सो विद्रोहको समयमा झापाका किसान रामनाथ ढकालको हत्या गरेको आरोपमा ओली २०३० साल असारमा पक्राउ परे र त्यहाँबाट उनको जेल जीवनको यात्रा सुरु भयो । उनलाई २०४४ साल असार ११ गते जेलबाट रिहाइ हुनुअघिसम्म तत्कालीन पञ्चायती व्यवस्थाले नेपालका करिब १० वटाभन्दा बढी विभिन्न जेलहरूमा सरुवा गर्दै यातना दिने गरेको पाइन्छ ।
असारमा जेलमुक्त भएका ओलीको २०४४ पुसमा भएको तत्कालीन नेकपा मालेको केन्द्रीय कमिटीको बैठकले उनलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको थियो । तत्पश्चात् ओलीको राजनीतिक यात्राले नेतृत्वदायी भूमिका पाएको हो । २०४६ सालको जनआन्दोलनमा ओलीले संयुक्त वाममोर्चाको लुम्बिनी अञ्चल प्रमुखको नेतृत्व समेत गरेका थिए । २०४८ सालको पहिलो संसदीय निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नं. ६ बाट निर्वाचित भएका ओली एमालेका तत्कालीन महासचिव मदन भण्डारीका नजिक हुन खोजिरहेका भए तापनि मदन भण्डारीले त्यति विश्वास नगरेको दृष्टान्त सुनाउँछन् एमालेकै पुराना नेता राधाकृष्ण मैनाली । खास गरी २०५० साल जेठ ३ गते जब मदन भण्डारीको रहस्यमय दुर्घटनामा हत्या भयो । त्यसपछि ओलीको विवादास्पद र गुटगत राजनीति सुरु भयो । लामो समयसम्म माधव नेपाल र झलनाथ खनालले नेतृत्वमा ओलीलाई आउन दिएनन् । ओलीले आफ्नो गुटलाई बलियो बनाउन मदन भण्डारीकी पत्नी विद्या भण्डारीलाई विभिन्न बहानामा आफ्नो गुटमा सामेत गराए । विद्या भण्डारीको साथ पाएर ओलीले ‘मदनको लिगेसी’ आफू मात्र रहेको जस्तो प्रचार गर्न थाले । दोस्रो संविधानसभाको निर्वाचनपश्चात् नेपाली काँग्रेसको नेतृत्वमा नेपालको संविधान २०७२ साल असोज ३ मा जारी भएसँगै पूर्वराजनीतिक सहमतिअनुसार २०७२ असोज २४ गते ओली पहिलोपटक नेपालको ३८औँ प्रधानमन्त्री बनेका थिए ।
केपी ओली प्रधानमन्त्री भएपश्चात् नेपालमा खास गरेर मधेशी दलहरूले संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ प्रति असहमति जनाउँदै आइरहेका थिए । उनीहरूले आन्दोलन गरे र त्यो आन्दोलनमा भारतको अप्रत्यक्ष सहयोग र समर्थन रहिआएको थियो । नेपाल र भारतबीचको सम्बन्ध चिसियो र भारतले अघोषित नाकाबन्दी लगायो । त्यसबेला भारतसँग नझुकेका ओली प्रधानमन्त्री राष्ट्रवादी मानिए । ओलीको नेतृत्वको शिखर त्यतिबेलाको त्यही घटनाले बनाएको हो । २०७४ सालको संघीय निर्वाचनमा नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच वाम कार्यगत एकता गरी निर्वाचनमा जाने र निर्वाचनपश्चात् पार्टी एकीकरण समेत गर्ने सहमति भयो । ती दुई कम्युनिष्ट पार्टी एक भएर निर्वाचनमा जाँदा नेपाली जनताले उनीहरूलाई झण्डै दुईतिहाइको हाराहारी सङ्ख्यामा जिताएर पठाए । केपी ओली प्रधानमन्त्री बने । ओली शक्तिशाली प्रधानमन्त्री बनेपश्चात् उनीमा शक्तिको उन्माद चढेर हो कि के हो ? ओलीले माओवादी केन्द्रसँग पार्टी एकता त गरे तर उनको कुनियतले पार्टी एकता गरेका रहेछन् भन्ने पछि मात्र माधव नेपाल, वामदेव र प्रचण्डले थाहा पाए । ओली पार्टी एकता गरेर पार्टी र सरकारको नेतृत्व आफैँले गर्ने र आफू नै सधैँ सर्वशक्तिमान भइरहने उनको मनसाय भएको पुष्टि भयो । पार्टीमा जब आलोचना सुरु भयो र ओलीको विकल्प प्रचण्डलाई पूर्वसहमतिअनुसार सरकारको नेतृत्व दिनु पर्ने बहस सुरु भयो तब ओलीले संसद् नै विघटन गरिदिए । एक पटक होइन, दुई÷दुई पटक । चाहे सरकारमा रहँदा होस् वा पार्टी नेतृत्वमा ओली आफ्नो प्रतिकूल हुने अवस्था देखे भने संसद् नै विघटन गरिदिने, पार्टी नै विघटन गरिदिने हदसम्म पुगिदिन्छन् तर अरुको कुरा सुन्दैनन् ।
ओलीले नेकपा एमाले पार्टीमा माथिदेखि तलका कमिटीसम्म जब आफ्ना ‘एसम्यान’हरूको कमिटी बनाउन गुट सिर्जना गर्न थाले । यसले पार्टीलाई मात्र कमजोर पार्न सुरु गरेन कि ओलीको ‘राजनीतिक कद’ पनि घटाउन थाल्यो । २०७९ को निर्वाचनमा ७८ सिट जितेर दोस्रो दलको रूपमा खुम्चिनु परेको एमाले नेतृत्वले आफूलाई सत्ताको केन्द्रबाट बाहिर जान चाहेन । प्रचण्डको ढुलमुले राजनीतिक चरित्र बुझेका ओलीले कहिले तानेर त कहिले धकेलेर भए पनि प्रचण्डलाई आफ्नो अनुकूल चलाउन खोजेका थिए । तर जब ओलीकै समर्थनमा पछिल्लो पटक प्रधानमन्त्री भएका प्रचण्डले काँग्रेस र एमालेका नेताहरूकै भ्रष्टाचार गरेका फाइलहरू खोल्न सुरु गरे र उनीहरू नजिकका केही मान्छेहरू पक्राउ पर्न थाले तब ओली र देउवाले बिचौलियाको विश्वासमा सत्ता उलटपुलट गरिदिएका थिए । काँगे्रस एमालेको नियत र चरित्रले कहिल्यै हुन नदिने खालका कागजी सहमतिको बनावटी बहानामा दुई प्रमुख पार्टीहरू मिलेर सत्ताभोग गर्ने सहमतिमा जब ओली फेरी प्रधानमन्त्री बने तब ओलीको राजनीति यात्राको उत्तरार्ध अलोकप्रियता उन्मुख भयो । ओलीको पछिल्लो नेतृत्वकालमा सत्तामा रहेका पार्टीका नेताहरू जतिसुकै भ्रष्टाचारी र अपराधी भए पनि बचाउ गर्ने र विरोधीहरूका नराम्रा विषयहरू खोजी–खोजी सत्ताको शासनले दमन गर्ने जुन प्रवृत्ति ओलीले अख्तियार गरे, त्यो नै उनको राजनीतिक जीवनकालको दुर्दान्त क्षण हुन पुग्यो । ओलीले चाहे आफ्नो दलभित्र होस् चाहे काँग्रेस एमालेको गठबन्धनको सरकारको नेतृत्व गर्दा होस् आफूबाहेक अरु कोही पनि जान्ने छैनन् । म नै सर्वज्ञानी छु भन्ने अहंकारले ओलीलाई नै रछ्यानको पात्र जस्तो बनाइसक्यो तर पनि उनको अझै अहंकारको मात्रामा कतै कमी आएको छैन ।
उनलाई कत्ति पनि ग्लानी भएको छैन । नेपालको इतिहासमै गत भदौ २३ र २४ गते अकल्पनीय एउटा विद्रोह भयो । त्यो पनि केपी ओली प्रधानमन्त्री रहेकै समयमा । अझ भनौँ केपी ओलीकै कुशासनका कारणले । तर आफू देशको कार्यकारी प्रमुख भएको समयमा भएको देशभित्र यति ठूलो घटना हुँदा त्यसको नैतिक जिम्मेवारी समेत स्वीकार नगर्ने प्रधानमन्त्री पनि ओली नै हुन पुगे । जेनजी विद्रोहलाई हेर्ने, बुझ्ने र महसुस गर्ने जुन दृष्टिकोण केपी ओली र एमालेको रह्यो त्यो नै गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेको पराजयको प्रमुख कारण हो । तर यस्लाई अहिले एमालेका अधिकांश नेताहरूले गल्तीको महसुस गरे पनि ओली चाहीँ अझै पनि त्यसलाई महसुस गर्न र गल्ती भएको स्वीकार्न तयार छैनन् । हालै सम्पन्न एमालेको केन्द्रीय सचिवालयको बैठकमै एमालेका ५ उपाध्यक्षहरूमध्ये ४ जनाले ओलीको खुलेर आलोचना गरे र उनीहरूले ओलीलाई अब नेतृत्व छोड्न आग्रह गरे । ओली नजिकका अर्थात् लामो समयदेखि नै ‘ओलीका एसम्यान’हरू भनेर चिनिनेहरूले समेत अब पार्टी निर्माणका अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नु पर्ने बताएका छन् । यसले ओलीको राजनीतिक जीवनमा ठुलो अर्थ राख्दछ ।
तर पनि ओलीमा अहंकारले यति धेरै जगडेको छ कि उनी अझै पनि खुलेरै म नेतृत्व छोड्दिन भनिरहेका छन् । आफ्नो आलोचना गर्नेलाई बोल्न समेत दिँदैनन् । केही चिजको पनि सीमा हुन्छ भनेझैँ ओलीको पनि एमाले पार्टीमा सायद सीमा सकिन लाग्यो कि जस्तो देखिँदैछ । अध्यक्ष ओलीसहित १५ जनाको एमाले केन्द्रीय सचिवालयमा ओलीका पक्षमा एक जना उपाध्यक्ष रामबहादुर थापा, उपमहासचिव लेखराज भट्ट, सचिव पद्मा अर्याल र महेश बस्नेत मात्र देखिएका छन् ।
उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त तथा महासचिव शंकर पोख्रेल, उपमहासचिव योगेश भट्टराई, रधुबीर महासेठ, सचिवहरू यामलाल कँडेल, हिक्मत कार्की र छबिलाल विश्वकर्मा गरी १० जना ओलीको विपक्षमा उभिएका छन् । सचिवालयको बैठकमा यस्तो चित्र देखेर ओली बैठकमै रिसले चुर भएका र अरुलाई बोल्न समेत नदिएर बैठक लामो भयो । अब बैठक समाप्त भयो भनेर हिँड्ने गरेको एक सचिवालय सदस्यले प्रतिक्रिया दिएका छन् । ती सदस्यले भने, ‘ओली अब पार्टीभित्रै शक्ति सन्तुलन बदलिएको देखेर पनि आफ्नो अहंकार त्याग्न तयार छैनन् । आफ्नो अहंकारले आफ्नो राजनीति जीवन यात्राको उत्तरार्धमा दुखान्त राजनीतिक यात्रा देख्दा देख्दै पनि उनले आफ्नो कमजोरीहरू स्वीकार गरेर पार्टीलाई पुनःनिर्माण गर्न मार्ग प्रशस्त गर्नुको सट्टा अझ फेरी नेपाली कम्युनिष्ट पार्टीसँग पार्टी एकता गरेर आफ्ना कमजोरी लुकाउने र एकतापछि पनि आफैँ अध्यक्ष बन्ने जस्तो सपना बुनिरहनुभएको आशंका उहाँको व्यवहारबाट हामीलाई लागिरहेको छ । उहाँको यस्तो व्यवहारले एमाले अझै कमजोर हुन्छ कि भन्ने हामीलाई डर लागेर नै हामीले सच्चिनोस् भनिरहेका छौँ ।’









प्रतिक्रिया दिनुहोस्