सम्पादकीयः प्रेम र सद्भावको पर्व होली



आज हिन्दु धर्मावलम्बीहरुले खुसियालीका साथ मनाउने पर्व होली अर्थात् फागु पूर्णिमा । नेपालमा होली पर्वलाई दुई दिन मनाइँदै आइएको छ । हिमाली र पहाडी जिल्लामा अघिल्लो दिन मनाइने परम्परा रहेको छ भने तराईमा भने पछिल्लो दिन होली पर्व मनाउने गरिन्छ । सरकारले हिमाली र पहाडी जिल्लाहरुमा अघिल्लो दिन र तराईमा पछिल्लो दिन सार्वजनिक बिदा दिँदै आएको छ । होली केवल रङको मात्र नभई प्रेम, भाइचारा र सद्भावको पर्व पनि हो । यस पर्वमा एकअर्कामा रङ लगाएर माया प्रेम साटासाट गरिन्छ । नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक हो । यिनै विविधताबीच यहाँका विभिन्न धर्मावलम्बीहरूले आआफ्ना विभिन्न चाडपर्व, धार्मिक एवम् सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने नेपालीको आफ्नै सद्भावयुक्त परम्परा छ । यी पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याउँदै आएका छन् । एउटा धर्म मान्ने जाति सम्प्रदायले अर्को धर्म मान्ने जाति सम्प्रदायको चाडवाडहरूमा साझा भएर एकजुट भएर मनाउने प्रचलनले नेपालको सुन्दरता अझै बढाएको छ । समाजमा रहेका विभिन्न जातजाति, विभिन्न धर्मावली तथा सम्प्रदायले एकअर्काका चाडवाडहरू मिलेर मनाउँदा भाइचारा सम्बन्ध पनि नजिक बनाइरहेको हुन्छ । मानव इतिहासको आरम्भदेखि वसन्त ऋतुको आगमनको स्वागत गर्ने परम्परा रहँदै आएको छ ।

देशभरि सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने चाड फागुवा होली वसन्त ऋतुको आगमनसँगै हाम्रो घरआँगनमा भित्रिसकेको छ । यो पर्वको आरम्भ कसरी भयो भन्ने कुरामा विभिन्न मत उल्लेख रहेको पाइन्छ । प्राचीन समयदेखि नै नेपालमा यो पर्व मनाएको इतिहास छ । मल्लकालीन युग, पृथ्वीनारायण शाहको दिव्योपदेशमा पनि होली पर्वको चर्चा भएको पुस्तकहरूमा उल्लेख छ । यो पर्वले वसन्त ऋतुको सुखद् अनुभूति गराउँछ । सत्ययुगमा हिरण्यकश्यपु राक्षसकी बहिनी होलिकाको नामबाट रहन गएको हो भन्ने भनाइ छ । हिरण्यकश्यपुका छोरा प्रह्लाद विष्णुभक्त भएकै कारण हिरण्यकश्यपुले प्रह्लादलाई मार्नका लागि आफ्नी बहिनीले आगोमा नडढ्ने वरदान पाएकी हुँदा उनै होलिकाले प्रह्लादलाई आगोमा लिएर बस्दा होलिका डढी, तर प्रह्लाद जस्ताको त्यस्तै रहे । यो देखेर जनहरूले प्रह्लादजस्ता भक्त बाँचेको खुसीमा यो पर्व मनाउने गरेको र उनै होलिकाको नामबाट होली (फागु) नाम रहन गएको कथन छ । फागुन शुक्ल अष्टमीकै दिन औपचारिकरूपमा फागुन उत्सव प्रतीक चीर गाडेर यो पर्व आरम्भ गरिन्छ । नेपालको पहाडमा भन्दा तराईमा यो पर्व रमाइलोका साथ मनाइन्छ । तराईवासीहरू एकजुट भई ढोल बजाउँदै अबिर, रंग छर्दै घरघर गएर रंग लगाइ आफूभन्दा ठूलोको आशीर्वाद लिने गर्छन् । यतिमात्र होइन होली गीत गाउँदै नटुवालाई नचाउँदै घर जाने, मालपुवा खाने गर्छन् ।

पछिल्लो समय यो पर्वमा निकै विकृति भित्रिएको देखिन्छ । बजारमा पाइने अनेक किसिमका केमिकल मिलाएर बेचिएका रंग, अबिरले कतिको अनुहार बिगार्नेसमेत गर्छ । रंगले मानिसको स्वास्थ्यमा नकारात्मक असर गर्दछ । कसैको इच्छाविपरीत कसैलाई पनि अबिर, रंग तथा केमिकलयुक्त पदार्थहरु प्रयोग गर्न हुँदैन् । यो कार्य कानुनविपरीत हुन्छ । होली प्रेम र सद्भावको पर्व हो, जसले जात, धर्म, उमेर, वर्ग सबै भुलाएर एकता र मित्रताको भावना फैलाउने अवसर प्रदान गर्दछ । यो पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइन्छ । होलीका रंगहरूले पुराना मनमुटाव मेट्ने, नयाँ सम्बन्ध सुरुवात गर्ने सन्देश दिन्छन् । नेपालमा यो पर्व विशेष उल्लासका साथ मनाइन्छ, जहाँ विभिन्न रंग र अबिर खेल्दै खुसियालीसाथ प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउन मद्दत गर्दछ । होली पर्वको अवसरमा, समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवद्र्धन गर्न पनि यो पर्व महत्वपूर्ण मानिन्छ । प्रेम र सद्भाव कायम राख्दै होली पर्व मनाऔँ । शुभकामना ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १९ गते मंगलबार