सुशील कोइरालाको छैटौँ स्मृति दिवसः कांग्रेस बाँकेले सम्झिएन, ‘संविधानका पिता’



तत्कालीन अवस्थामा प्रधानमन्त्रीको हैसियतमा संविधान निर्माणमा अग्रणी भूमिका खेलेका, पार्टीका सभापतिसमेत भइसकेका कोइरालालाई उनकै मातृपार्टी नेपाली कांग्रेसले सम्झिएन ।

नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवा यतिबेला गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् । यस्तै लामो समय बाँकेकै सक्रिय राजनीति गरेका कोइरालालाई बाँके कांग्रेसले समेत सम्झिने चेष्टासमेत गरेन ।

शुभाकर विश्वकर्मा । नेपालगन्ज ।

माघ २६ अर्थात बाँकेले आफ्ना एक सादगी नेता, नेपाली कांग्रेसले पार्टी सभापति र देशले पूर्वप्रधानमन्त्री गुमाएको दिन ।

नेपालका ३७औँ प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको २०७२ माघ २६ गते राति १२.५० मध्यरातमा काठमाडौंको महाराजगन्जस्थित निवासमा निधन भएको थियो । केही दिनबाट सामान्य ज्वरोको कारण अस्वस्थ भएका उनको निमोनियाकै कारण आकस्मिक निधन भएको चिकित्सकहरुको भनाइ थियो । उनले नेपाली कांग्रेसको सभापति रहेकैबेला ७७ वर्षको उमेरमा यो धर्तीमा अन्तिम स्वास फेरेका थिए ।

‘नेपालको संविधान २०७२’ जारी हुँदा नेपालको प्रधानमन्त्रीसमेत रहेका कोइरालालाई कतिपयले ‘संविधानका पिता’ भनेर सम्बोधन गर्छन् । उसोतः उनी नेपाली कांग्रेसको पार्टी जीवनमा ‘सुशील दा’ उपनामले चिनिन्थे ।

तत्कालीन अवस्थामा प्रधानमन्त्रीको हैसियतमा संिवधान निर्माणमा अग्रणी भूमिका खेलेका, पार्टीका सभापतिसमेत भइसकेका कोइरालालाई उनकै मातृपार्टी नेपाली कांग्रेसले सम्झिएन । नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवा यतिबेला गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् । यस्तै लामो समय बाँकेकै सक्रिय राजनीति गरेका कोइरालालाई बाँके कांग्रेसले समेत सम्झिने चेष्टासमेत गरेन ।

बाँकेमा भने उनलाई केही कार्यकर्ता तथा जनप्रतिनिधिले सामाजिक सञ्जालमा श्रद्धासुमन व्यक्त गर्नुबाहेक अन्य कुनै औपचारिक कार्यक्रम भएन । नेपाली कांग्रेस बाँकेकी नेतृ तथा नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले उनले फेसबुकमा नेपाली राजनीतिका अनुकरणीय साधक र सादगी नेताका रुपमा सम्झेकी छन् ।

यता, नेपाली कांग्रेस बाँकेले मौषम प्रतिकूलताका कारण कुनै पनि कार्यक्रम नभएको जानकारी दिएको छ । नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले मौषम प्रतिकूलताका कारण कार्यक्रम हुन नसकेको बताइन् । उनका अनुसार कोइरालाको सम्झानामा आज कार्यक्रम हुन सक्छ ।

को थिए, कोइराला

कोइरालाको जन्म विक्रम सम्वत् १९९६ साउन २८ गते पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको हो । उनका ६ भाई र एक बहिनी जन्मेका थिए ।

वन अधिकृत बोधप्रसाद जागिरका सिलसिलामा बाँकेको नेपालगन्ज पुगेका थिए । त्यसपछि कोइराला परिवारको बसोबास नेपालगन्जमै भयो । उनी विश्वेश्वर कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भएर राजनीतिमा लागेका थिए ।

उनको औपचारिक राजनीतिक यात्रा विक्रम सम्वत् २०१० सालदेखि सुरु भयो । पछि २०१७ सालमा प्रजातन्त्रको अपहरणपछि १६ वर्षसम्म स्वप्रवासमा बसे । त्यहाँ रहँदा उनले नेपाली कांग्रेसको मुखपत्र तरुण सम्पादन गरेका थिए । राजनीतिक जीवनमा उनले नेपाल र भारत गरी पाँच वर्ष बन्दी जीवन बिताए । २०३६ सालमा कोइराला केन्द्रीय सदस्य निर्वाचित भए ।

सुशील तत्कालीन प्रतिनिधिसभा चुनावमा २०४८ र २०५६ मा बाँकेबाट निर्वाचित भएका थिए । पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यबाहक सभापति भएर काम गरे । १२औँ महाधिवेशनमा नेपाली कांग्रेसको सभापति चुनिए । उनी नेपाली कांग्रेसमा पटकपटक मन्त्री पद अस्वीकार गरेका त्यागी नेता हुन् ।

उनलाई पार्टीले परराष्ट्रमन्त्रीदेखि उपप्रधानमन्त्री बन्न प्रस्ताव गर्दासमेत अस्वीकार गरेका थिए । कोइराला २०७० साल माघ २७ गते प्रधानमन्त्री चुनिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २७ गते बिहीबार