जुम्ला ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डाक्टर सुधा शर्मा गौतमले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गुणस्तर विकासका लागि बजेट अभाव हुन नदिने आश्वासन दिएकी छन् । मंगलबार जुम्ला पुगेकी मन्त्री गौतमले कठिन भूगोल र सीमित स्रोत साधनकाबीच स्वास्थ्य सेवा, अध्ययन तथा अनुसनधानका क्षेत्रमा प्रतिष्ठानले गरेको काम अनुकरणीय रहेको बताइन् ।
प्रतिष्ठानको पूर्वाधार विकास र सेवा सुधारका लागि बजेट अभाव हुन नदिने भन्दै उनले पदाधिकारी तथा कर्मचारीलाई उत्कृष्ट नतिजा देखिने गरी काम गर्न निर्देशन दिइन् । कर्णालीको सम्भावना बुझ्नकै लागि जुम्ला आएको उल्लेख गर्दै यहाँको सम्भावनाअनुसार राज्यले लगानी बढाउनुपर्ने उनको भनाइ छ । अब बजेट अभावका कारण प्रतिष्ठान पछि नपर्ने भन्दै बजेटमा कर्णालीलाई विशेष प्रथामिकता दिने उनले बताइन्।
‘बजेट अभावकै कारण चेरे चौरमा निर्माण भइरहेको बहुउेश्यीय परियोजनाका भवनले पूर्णता नपाएको समस्या देखेँ,’ उनले भनिन्, ‘अब एकैचोटि अर्बका हिसाबले बजेट दिन सम्भव नभए पनि वार्षिक बजेटमा प्रथामिकता दिनुपर्छ । बजेट अभावले प्रतिष्ठानका पूर्वाधार निर्माणमा केही विलम्ब भएको गुनासो बढेको छ । त्यसतर्फ मन्त्रालयको ध्यान केन्द्रित भएको छ ।’
कर्णालीको सम्भावनालाई हेर्दा राज्यको लगानी न्यून रहेको उनले बताइन् । ‘अब लगानी बढाउनुको विकल्प छैन् । हामी लगानी बढाउँछौ । बजेट अभावमा भवन निर्माण रोकिँदैनन्,’ उनले थपिन्, ‘सेवा सुधारको प्रयास रोकिनु हुँदैन् । लगानी बढाउँछौ । तर नागरिक सन्तुष्ट हुने गरी सेवा दिन प्रतिष्ठानले ध्यान दिनुपर्छ ।’ साथै स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन मन्त्रालय लागिपरेको उनले बताइन् ।
प्रतिष्ठानलाई रेफर सेन्टरका रूपमा नभई गुणस्तरीय सेवा पाउने स्थानका रूपमा विकास गर्न सबै लाग्नुपर्नेमा उनको जोड छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले प्रतिष्ठान कर्णालीको गौरव भएको बताए । चुनौतीलाई अवसरका रूपमा लिँदै गुणस्तरीय स्वास्थ्य सेवा प्रदानमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
प्रतिष्ठानका अधुरा भवन निर्माण, सेवा सुधारलाई ध्यानमा राखी बजेटमा विशेष प्रथामिकता दिने उनले प्रतिबद्धतासमेत व्यक्त गरे । हरेक वर्ष कति बजेट चाहिन्छ सोहीअनुसार कार्ययोजना बनाएर मन्त्रालयमा पेश गर्न उनले निर्देशन दिए । ‘भवन निर्माण हुने तर प्रयोग नहुने हुनु भएन् ।
कार्ययोजनासहित आएमा वार्षिक रूपमा प्रर्याप्त बजेट विनियोजन हुन्छ,’ उनले भने, ‘सीमित स्रोत साधनकाबीच कर्णाली प्रतिष्ठानले कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको छ । अध्ययन तथा अनुसन्धानमा पनि उल्लेखीय काम गरिहेको छ ।’
प्रतिष्ठानका उपकुलपति डाक्टर पुजन रोकायाले प्रतिष्ठान स्थापनाको १३ वर्षबढी बितिसक्दा राज्यले अपेक्षाकृत रूपमा लगानी नगरेको भन्दै आवश्यक सहयोगका लागि अनुरोध गरे । उनका अनुसार हाल डायलासिस सेवासमेत सुरु भएको छ भने ब्लड बैंक पनि स्थापना भएको छ । ‘कर्णालीका स्वास्थ्य सूचक वृद्विमा प्रतिष्ठानले उल्लेखीय भूमिका निर्वाह गरेको छ । तर बजेट अभाव झेल्दै आएको छ । अब समस्या समधान हुने आशामा छौँ,’ उनले भने, ‘दैलेखको राकम कर्णालीमा स्याटेलाईट अस्पताल, हर्बल प्लान्ट तथा हेल्थ टुरिजमको प्रर्वद्धन गर्ने लक्ष्य छ । यसमा सरकारको सहयोगको खाँचो छ ।’
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले प्रतिष्ठानको वृद्वि विकासमा राज्यले पर्याप्त लगानी गर्नुपर्ने बताए । यो कर्णालीको गौरवको विषय भएकाले प्रतिष्ठानमा साधन स्रोतको अभावले रेफर गर्नुपर्ने बाध्यताको अन्त्य गर्न राज्यले नै ध्यान दिनुपर्ने उनको भनाइ छ । प्रतिष्ठानका डिन प्रनित पोखरेलले कर्णाली प्रतिष्ठानलाई अन्य प्रतिष्ठान सरह नहेरी यहाँको आवश्यकतालाई मध्यनजर गरी लगानी बढाउन आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्