नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशका करिब ३४ प्रतिशत नागरिक बीमाको पहुँचमा पुगेका छन् । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतका अनुसार प्रदेशभर हाल पाँच लाख ७४ हजार १०० भन्दा बढी बीमालेख कायम रहेका छन् । जसमध्ये जीवन बीमातर्फ पाँच लाख ८९ हजार ७९ वटा बीमालेख जारी भएका छन्, भने निर्जीवन बीमातर्फ २८ हजार ७६२ वटा बीमालेख कायम छन् ।
नेपाल बीमा प्राधिकरणको सुर्खेत कार्यालयको आयोजनामा पत्रकारहरूसँग आयोजित बीमा सम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रममा कर्णालीमा बीमाको अवस्था, सम्भावना र चुनौतीबारे जानकारी दिइएको हो । कार्यालय प्रमुख निलप्रसाद लामिछानेले बीमा गरिबीको पुस्तान्तरण रोक्ने मुख्य माध्यम र विपत्तिको सारथि भएको बताए । बीमाबारे सकारात्मक सन्देश प्रवाह गर्न पत्रकारहरूलाई समाचार सामग्री तयार गरी प्रचार–प्रसार गर्न उनको आग्रह छ ।
बीमा प्राधिकरण सुर्खेत कार्यालयमा कार्यरत वीरबहादुर माझीले आर्थिक क्षतिपूर्तिका लागि जोखिम हस्तान्तरणको महत्वपूर्ण माध्यम बीमा भएको बताए । उनका अनुसार कर्णाली सरकारले बजेटमार्फत ‘एक स्थानीय तह एक बीमक’ कार्यक्रम ल्याएको छ । हाल कर्णालीमा १६ हजार घरधुरीको बीमा गरिएको र ती घरहरू क्षतिग्रस्त भएमा बीमा रकम भुक्तानी दिने काम भइरहेको उनले जानकारी दिए ।
कर्णाली प्रदेश पत्रकार महासंघका महासचिव खगेन्द्र भट्टराईले प्रदेशभर ६९३ जना पत्रकारको स्वास्थ्य बीमा गरिएको जानकारी दिए । उनले बिरामी भई उपचार गरेपछि पनि खर्च दाबी नगर्ने प्रवृत्ति देखिएको उल्लेख गरे । उपचारअघि पूर्व जानकारी दिनुपर्ने र उपचार लिएको तीन दिनभित्र खर्च रकम दाबी गर्नुपर्ने व्यवस्था रहेको भन्दै पत्रकारहरूलाई यो सेवा लिन उनको आग्रह छ ।
यो बीमा कार्यक्रम अन्तर्गत पत्रकारहरूले अधिकतम ७० हजार रूपैयाँसम्मको उपचार खर्च दाबी गर्न सक्ने व्यवस्था छ । बीमा प्राधिकरणको तथ्यांकअनुसार कर्णाली प्रदेशमा जीवन बीमातर्फ ८४ करोड ५० लाख ७९ हजार रूपैयाँभन्दा बढी बीमाशुल्क संकलन भएको छ । नविकरण बीमा शुल्क दुई अर्ब सात करोड ६९ लाख रूपैयाँ नाघेको छ । यसरी कूल बीमाशुल्क संकलन दुई अर्ब ९२ करोड १९ लाख रूपैयाँभन्दा बढी पुगेको छ ।
प्रदेश कार्यालयमार्फत गरिएको बीमा कारोबारको कूल रकम २५ अर्ब ३२ करोड रूपैयाँभन्दा बढी रहेको छ, भने समग्र बीमा व्यवसायको आकार ४७ अर्ब रूपैयाँभन्दा माथि पुगेको तथ्यांकले देखाउँछ । यस अवधिमा तीन हजार २४९ वटा बीमालेख पुनर्जागरण भएका छन्, जसको रकम १३ करोड ९२ लाख रूपैयाँभन्दा बढी रहेको छ ।
त्यस्तै एक हजार ४१४ वटा बीमालेख समर्पण गरिएको छ, भने समर्पण बीमाङ्क १५ करोड १२ लाख रूपैयाँभन्दा बढी रहेको छ । बीमालेख ऋणतर्फ तीन हजार ७७७ वटा बीमालेखमार्फत ६४ करोड ४७ लाख रूपैयाँभन्दा बढी ऋण प्रवाह गरिएको प्राधिकरणले जनाएको छ ।
उक्त कार्यक्रममार्फत कर्णालीमा बीमाको दायरा विस्तार हुँदै गएको र अझ प्रभावकारी बनाउन सरोकारवालाको भूमिका आवश्यक रहेको पत्रकारहरूले बताएका छन् ।
कार्यालय विस्तार, बीमालेख सङ्ख्या वृद्धि, अर्बौँको बीमाशुल्क संकलन र दाबी भुक्तानीको अवस्थाले कर्णाली प्रदेशमा बीमा कार्यक्रम क्रमश सुदृढ बन्दै गएको संकेत गर्छ । तर प्रतिशतका मक देखिएपनि नागरिकमा बीमाप्रतिको चेतना र आकर्षण बढ्दै जाने प्राधिकरणको अपेक्षा छ ।









प्रतिक्रिया दिनुहोस्