ग्रामीण क्षेत्रका नागरिकका लागि ‘हेल्लो हेल्थ’ कार्यक्रम उपयोगी



नन्दराम जैशी । सुर्खेत ।

पछिल्लो समय ग्रामीण क्षेत्रका नागरिकका लागि हेल्लो हेल्थ कार्यक्रम उपयोगी बन्न थालेको छ । संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत वर्षदेखि सञ्चालनमा ल्याएको यो कार्यक्रम देशभरका ग्रामीण क्षेत्रका नागरिकका लागि उपयोगी माध्यम बन्दै गएको छ । मन्त्रालयको आयोजनामा सोमबार वीरेन्द्रनगरमा सम्पन्न गुनासो व्यवस्थापन तथा सार्वजनिक सूचनासम्बन्धी अन्तरक्रिया कार्यक्रमका अवसरमा यस्तो बताइएको हो ।

कार्यक्रममा सहभागी सरोकारवाला निकायले ग्रामीण क्षेत्रका नागरिकका लागि हेल्लो हेल्थ कार्यक्रम उपयोगी रहेको भन्दै जतिसक्दो छिटो गुनासो सम्बोधनका जोड दिनुपर्ने बताएका थिए । स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउने उद्देश्यले सञ्चालनमा ल्याइएको हेल्लो हेल्थ टोल–फ्री सेवा (११३३) कार्यक्रममार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा प्रदान गरिँदै आएको छ ।

उक्त सेवामार्फत नागरिकले चिकित्सक तथा स्वास्थ्यकर्मीबाट फोनमै सामान्य रोग, गर्भावस्था, बालस्वास्थ्य, मानसिक स्वास्थ्यलगायत विषयमा परामर्श लिने गरेको मन्त्रालयले जनाएको छ । यो सेवा विशेषगरी दुर्गम र ग्रामीण क्षेत्रका नागरिकका लागि यो उपयोगी मानिएको मन्त्रालयका वरिष्ठ स्वास्थ शिक्षा प्रशासक भक्तबहादुर केसीले बताए ।

उनका अनुसार डिजिटल तथा टोल–फ्री सेवाको माध्यमबाट नागरिकका समस्या सुन्ने र समाधान गर्ने अभ्यासले सुशासन प्रवद्र्धन र स्वास्थ्य सेवाको पहुँच विस्तारमा सकारात्मक योगदान पु¥याइरहेको छ । नागरिकलाई आवश्यक परेको खण्डमा यी सेवाको अधिकतम उपयोग गर्न वरिष्ठ स्वास्थ शिक्षा प्रशासक केसीको आग्रह छ । तर स्वास्थ सेवा गुणस्तरीय बनाउने लक्ष्य र अपेक्षासहित यो कार्यक्रम सुरु गरिए पनि अस्पतालहरूमा गुनासो व्यवस्थापन र व्यवहार परिवर्तन नहुदाँ समस्या कायमै रहेको उनको तर्क छ ।

‘गुनासो व्यवस्थापनका लागि मन्त्रालयले गत वर्ष मंसिर महिनादेखि हेल्लो हेल्थ कार्यक्रम सञ्चालन गरेको हो,’ उनले भने, ‘अस्पतालमा बिरामीप्रति स्वास्थ्यकर्मीले गर्ने व्यवहार राम्रो नभएको विषयमा सबैभन्दा धेरै सुनासो आउने गरेका छन् । गत वर्ष मंसिरदेखि असारसम्म मात्रै ५४९ वटा गुनासो आएका थिए ।’ यस कार्यक्रमअन्तर्गत दिनभरीका स्वास्थ्यसम्बन्धी समाचार संकलन गरेर समाचारमा दिइएका सुझाव सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने गरिएको उनले बताए । उनका अनुसार प्राप्त सुनासो सम्बोधनका लागि विभिन्न चार चरणमा काम गर्ने गरिएको छ ।

‘हेलो सरकार’ पनि प्रभावकारी बन्दै

नागरिकको गुनासो र स्वास्थ्य परामर्शका लागि ‘हेल्लो हेल्थ’सँगै ‘हेलो सरकार’ कार्यक्रम पनि प्रभावकारी माध्यम बन्न थालेको छ । नेपाल सरकारले नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याएका ‘हेलो सरकार’ र ‘हेल्लो हेल्थ’ कार्यक्रम प्रभावकारी बन्दै गएका हुन् । यी दुवै कार्यक्रमले नागरिक र सरकारबीचको दूरी घटाउँदै सेवा प्रवाहलाई उत्तरदायी बनाउन सहयोग पु¥याइरहेको हेलो सरकार कार्यक्रमका फोकलप्रसन राममणि कोइरालाले बताए ।

उनका अनुसार हेलो सरकार टोल–फ्री सेवा (११११) प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअन्तर्गत सञ्चालन भइरहेको नागरिक गुनासो व्यवस्थापन प्रणाली हो । यसमार्फत नागरिकले सरकारी सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती, भ्रष्टाचार, विकास निर्माण तथा प्रशासनसम्बन्धी गुनासो र सुझाव निःशुल्क रूपमा दर्ता गराउँदै आएका छन् । हेलो सरकारमा प्राप्त गुनासोलाई सम्बन्धित निकायमा पठाई समाधानको प्रक्रिया अघि बढाइने गरिएको उनको भनाइ छ ।

‘हेलो सरकारमा परेका १६ सय ४२ वटा गुनासोमध्ये १२ सय बढी गुनासो फछ्र्याैट गरिएको छ । जसमा कर्णाली प्रदेशबाट ६७ वटा गुनासो परेकोमा ९ वटा सम्बोधन भएको छ,’ उनले भने, ‘विभिन्न माध्यमबाट गुनासो आउने गर्छन् । ती गुनासो हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८ अनुसार सम्बोधनका लागि प्रक्रिया अघि बढाउने गरिएको छ ।’

समाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकालले मन्त्रालय तथा कार्यालयहरूमा सूचना अधिकारीको व्यवस्था गरिए पनि प्रभावकारी ढंगले जिम्मेवारी पूरा गर्न नसकेको बताए । हरेक कार्यालयमा सूचना अधिकारी सम्बन्धित विषय मात्रै हेर्ने गरी व्यवस्था गर्नुपर्ने भन्दै थप जिम्मेवारीका कारण पछिल्लो समय कर्मचारीहरू सूचना अधिकारीको जिम्मा लिन आनाकानी गर्ने गरेको उनको भनाइ छ ।

समाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख बृषबहादुर शाहीले कर्णालीका आम नागरिकले स्वास्थ्यसम्बन्धीका सूचना माग गरेको खण्डमा तत्काल जानकारी दिने प्रयत्न भइरहेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले स्वास्थ्य सेवा प्रवाहमा नम्र र सहज व्यवहार गरेमा ५० प्रतिशत गुनासो आफैँ सम्बोधन हुने बताए ।

वीरेन्द्रनगर–१ का वडाध्यक्ष दिनेश खत्रीले स्थानीय तहमा सबैभन्दा धेरै गुनासो आउने गरेको उल्लेख गरे । स्वास्थ्य सेवा प्रवाह र विकास निर्माणका गतिविधिलगायत जेसुकै विषयमा गुनासोकै लागि गुनासो गर्ने चलन रहेको उनले स्पष्ट पारे । हेल्लो हेल्थ र हेलो सरकार कार्यक्रममार्फत आवश्यक सेवा लिन वडावासीलाई सुसूचित गराउने उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार