सम्पादकीयः नयाँ पर्यटकीय गन्तव्यको प्रचारप्रसार आवश्यक



बाँकेका विभिन्न स्थानमा आझेलमा रहेका कैयौँ रमणीय स्थानहरू छन् । ती स्थानहरूलाई पछिल्लो समयमा केही सामुदायिक वन उपभोक्ता समितिहरूले संरक्षण तथा प्रवद्र्धन गर्न सुरु गरेका छन् । सामुदायिक वनक्षेत्र बाहेकका स्थानहरूमा रहेका विभिन्न तालतलैया, मठमन्दिर, खोलानाला आदी स्थानहरूलाई पर्यटनसँग जोड्न सके त्यहाँका स्थानीयहरूको आयआर्जनमा पनि टेवा पुग्न सक्ने देखिन्छ भने नयाँ पर्यटकीय गन्तव्य पनि हुन सक्छन् । बाँकेस्थित पूर्व–पश्चिम राजमार्गमै रहेको बाँके राष्ट्रिय निकुञ्ज, नेपालगन्जस्थित बागेश्वरी मन्दिर, वाटरपार्क, महेन्द्रपार्क, रानीतलाउ, कान्तीताल, गुम्बा, गुरुनानक, मस्जिद, राप्ती सोनारीस्थित चुरे पहाडमा अवस्थित बर्फानीबाबा, नरैनापुरस्थित चुरे पहाडमा अवस्थित सन्तानेश्वर मन्दिर, बैजनाथस्थित कन्नवा ताललगायत जिल्लाका अन्य पालिकाभित्र रहेका विभिन्न रमणीय स्थानहरू छन् । यी पुराना गन्तव्यहरूलाई व्यापक प्रचारप्रसारको खाँचो देखिन्छ । बाँके जिल्लासँग जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा बाँके राष्ट्रिय निकुञ्जकै आगन भएर आन्तरिक तथा वाह्य पर्यटकहरू पुग्ने गर्दछन् । तर बाँके राष्ट्रिय निकुञ्जभित्र आवश्यक सम्पूर्ण पूर्वाधार तथा संरचनाहरू बनेपनि ओझेलमा परेको जस्तो देखिन्छ । न्यून सङ्ख्यामा बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक पुग्ने गर्दछन् ।

यस विषयमा सरोकारवालाले गम्भीर भएर सोँच्न आवश्यक छ । व्यापक प्रचारप्रसारको खाँचो देखिन्छ । त्यसैगरी जिल्लामा भएका अन्य अत्यन्त मनमोहन रमणीय र सुन्दर स्थानहरू पनि छन् । ती स्थानहरूको खोजी गरी आवश्यक प्रचारप्रसार गरेर, नयाँ योजना बनाएर ती स्थानहरूलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिन्छ । जसका लागि वडा सरकार, स्थानीय सरकार, विभिन्न सामुदायिक वन उपभोक्ता समितिहरू तथा स्थानीय नागरिक जागरुक हुन जरुरी छ । यी स्थानहरूलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउन सकेमा त्यहाँका स्थानीय नागरिकहरूको आम्दानीको स्रोतको बाटो पनि खोलिने र उक्त स्थानहरूको व्यापक प्रचारप्रसार हुने देखिन्छ । कोहलपुर नगरपालिका वडा नम्बर १३ खड्कवारस्थित रानीघाट मध्यवर्ती सामुदायिक वनले पछिल्लो समय पिकनिक पार्कको निर्माण गरी सञ्चालनमा ल्याएको छ । उक्त पिकनिक पार्कमा अहिले दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । ‘रानीघाट पार्क’को रूपमा विकास गरिएको क्षेत्र अवलोकन, भ्रमण र पिकनिकका लागि लुम्बिनी प्रदेशका साथै कर्णालीका विभिन्न जिल्लाहरूबाट समेत आउन थालेका छन् । रानीघाट नजिकै हात्तीसार क्षेत्र रहेकाले समेत आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको देखिन्छ ।

रानीघाट पार्क व्यवस्थापन समितिले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको छ । जुन अत्यन्तै सराहनीय र सकारात्मक छ। पिकनिक पार्कमार्फत् वन उपभोक्ता समूहले आन्तरिक आम्दानीको स्रोत बढाइरहेको देखिन्छ । यसले गर्दा समूहको आम्दानीमा पनि वृद्धि हुने र उक्त स्थानको पहिचान पनि हुँदै गएको छ । त्यसैगरी रोजगारीको सिर्जना समेत भएको देखिन्छ । आफ्नै वनक्षेत्रभित्र रहेका साधन र स्रोतको प्रयोग गरेर उक्त स्थानको पहिचान पनि बढ्ने र आम्दानी पनि हुने कार्य अन्य समूहहरूले पनि गर्न जरुरी छ । खड्कवार क्षेत्रका नागरिकहरूको सामूहिक प्रयासबाट सुरु भएको काम सराहनीय छ । स्थानीय नागरिकको प्रयास र पहलले मात्र सबै कामहरू हुन सक्दैनन् । सबै सरोकारवाला निकायले आवश्यक सहयोग, समन्वय तथा योजना बनाएर लगानी गर्न आवश्यक छ । आआफ्ना नजिक रहेका विभिन्न रमणीय क्षेत्रहरूलाई संरक्षण र प्रवद्र्धन गर्दै ती स्थानहरूलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा पहिचान गराएर प्रचारप्रसार गरी आयस्रोत पनि बढाउन सकिन्छ भने रोजगारीको समेत अवस्था सिर्जना हुन्छ । तसर्थ नयाँ पर्यटकीय गन्तव्यको खोजी गरी व्यापक प्रचारप्रसार गर्न सरोकारवालाले ध्यान दिनु जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार