सम्पादकीयः सामाजिक सुरक्षाको सुनिश्चितता



सामाजिक सुरक्षा नागरिकको सम्मानपूर्वक जीवनयापन, श्रमिकको आर्थिक संरक्षण र सामाजिक न्याय सुनिश्चित गर्ने महत्वपूर्ण आधार हो । मानिसको जीवन सधैँ एकनास हुँदैन । रोजगारी गुम्न सक्छ, दुर्घटना हुन सक्छ, बिरामी पर्न सकिन्छ र बुढ्यौलीमा काम गर्ने क्षमता कमजोर हुन सक्छ । यस्तो अवस्थामा नागरिकलाई आर्थिक तथा सामाजिक रूपमा असुरक्षित हुन नदिन राज्यले अवलम्बन गर्ने संरक्षण प्रणाली नै सामाजिक सुरक्षा हो । यही महत्वलाई आत्मसात् गर्दै नेपालमा सामाजिक सुरक्षा कोष दिवस मनाइन्छ । यो दिवस केवल औपचारिक कार्यक्रम गर्ने अवसर नभई श्रमिकको सामाजिक सुरक्षाको अवस्था समीक्षा गर्ने र आगामी कार्यदिशा तय गर्ने अवसर पनि हो । नेपालको संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ । यसै संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने उद्देश्यले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भयो । त्यसपछि सामाजिक सुरक्षा कोष स्थापना भई २०७६ साउन १ गतेदेखि औपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने कार्य प्रारम्भ भयो ।

यसले श्रमिकको जीवनमा आइपर्न सक्ने जोखिम न्यूनीकरण गर्दै भविष्यप्रतिको भरोसा बढाउने आधार तयार गरेको छ । सामाजिक सुरक्षा कोषले औषधोपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा गरी विभिन्न योजनामार्फत श्रमिकलाई संरक्षण प्रदान गर्दै आएको छ । नियमित योगदानका आधारमा श्रमिकले बिरामी हुँदा उपचार सुविधा, दुर्घटनामा पर्दा आर्थिक सहायता, अशक्त हुँदा संरक्षण तथा अवकाशपछि पेन्सनलगायत सुविधा प्राप्त गर्न सक्छन् । श्रमिकको जीवनमा आइपर्ने जोखिमलाई व्यक्तिगत समस्याका रूपमा मात्र नहेरी सामूहिक योगदान र राज्यको संस्थागत व्यवस्थापनमार्फत सम्बोधन गर्ने यो महत्वपूर्ण अवधारणा हो । तर, सामाजिक सुरक्षा कोषको स्थापना र योजना सञ्चालन हुँदैमा सबै श्रमिक सामाजिक सुरक्षाको पहुँचमा पुगेका छैनन् । औपचारिक क्षेत्रका धेरै रोजगारदाता तथा श्रमिक अझै पनि कोषमा आबद्ध हुन सकेका छैनन् । अझ ठूलो चुनौती अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको हो । कृषि, निर्माण, घरेलु श्रम, साना व्यवसाय, यातायात तथा स्वरोजगार क्षेत्रमा लाखौँ नागरिक कार्यरत छन् । उनीहरूको रोजगारी अनिश्चित छ र नियमित आम्दानीको पनि सुनिश्चितता छैन ।

यस्ता श्रमिक सामाजिक सुरक्षाको दायराबाहिर रहँदा राज्यले संविधानले परिकल्पना गरेको सामाजिक न्यायको लक्ष्य हासिल गर्न कठिन हुन्छ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने प्रयास पनि महत्वपूर्ण छ । विदेशमा पसिना बगाएर देशको अर्थतन्त्रमा योगदान पु¥याउने श्रमिकले आफ्नो भविष्य सुरक्षित गर्न पाउने वातावरण बन्नुपर्छ । योगदान रकम कट्टा हुने तर सुविधा प्राप्त गर्न झन्झट बेहोर्नुपर्ने अवस्था आउनु हुँदैन । उपचार सुविधा लिन अस्पतालको पहुँच, दाबी भुक्तानीको प्रक्रिया, पेन्सनको व्यवस्था तथा कोषको लगानी पारदर्शिताजस्ता विषयमा सेवाग्राहीको विश्वास जित्नुपर्छ । सामाजिक सुरक्षा कोष श्रमिकको रकम व्यवस्थापन गर्ने निकाय मात्र नभई उनीहरूको भविष्यको भरोसा बन्न सक्नुपर्छ । यसका लागि कोषको प्रशासनिक क्षमता, वित्तीय पारदर्शिता र जवाफदेहिता बलियो बनाउनुपर्छ । रोजगारदाताले पनि सामाजिक सुरक्षालाई अतिरिक्त आर्थिक भारका रूपमा बुझ्ने प्रवृत्ति त्याग्नुपर्छ । सुरक्षित र सन्तुष्ट श्रमिक नै उत्पादनशील संस्थाको आधार हुन् । श्रमिकको स्वास्थ्य, भविष्य र परिवारको सुरक्षामा गरिने लगानीले अन्ततः रोजगारदाता र समग्र अर्थतन्त्रलाई नै लाभ पु¥याउँछ । त्यसैले रोजगारदाता, श्रमिक संगठन, सरकार र कोषबीच प्रभावकारी समन्वय आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर १२ गते शुक्रबार