हिन्दु नेपालीहरूलाई ठूला ठूला चाडबाडहरूले घपक्कै ढाकेको छ । सबैभन्दा ठूलो चाड दसैँ भर्खरै सकिएको छ भने दोस्रो ठूलो चाड तिहार आँगनमै आइसकेको छ । त्यसपछि तराईमा मनाइने अर्को ठूलो चाड छठ पनि नजिक आउँदैछ । चाडबाडले वर्षौँवर्षसम्म पनि भेटघाट हुन नसकेका, काम विशेषले टाढा भएकाहरूका आफन्त, इस्टमित्र, छरछिमेकीहरूलाई भेटघाट गराउने महत्वपूर्ण कडीका रूपमा काम गर्दछ ।भेटघाट गरी मिठो मसिनो खाने, राम्रो लगाउने, रामरमाइलो गरिने कारण चाडबाड भन्नेबित्तिकै सबैमा हर्षोल्लास हुने गर्दछ । यसरी जमघट भएर रमाइलो गर्दै खानपिन गर्दा आफ्नो स्वास्थ्यलाई पनि मध्यनजर गर्न जरुरी छ । चाडबाडकै नाममा अस्वस्थकर खाद्यवस्तुको उपभोगले भविष्यमा स्वास्थ्यमा नकारात्मक असरहरू पर्ने देखिन्छ । स्वास्थ्य अवस्थाको ख्याल गर्दै उपभोग्य वस्तुहरू गुणस्तरीय र अर्गानिक हुनु जरुरी छ । दसैँमा मासु खाने बढी प्रचलन हुन्छ भने तिहारमा रोटी तथा मिठाइजन्य वस्तुहरू बढी उपभोग हुने गर्दछ । आफूले उपभोग गर्ने खाद्यवस्तुहरू सकेसम्म स्थानीयरूपमैै उत्पादन गरिएका रैथाने हुनु जरुरी छ ।
अन्य समयमा पनि यसप्रति सचेत हुनु जरुरीनै छ तर चाडबाडका समयमा बढी उपभोग्य वस्तुहरू खपत हुनेहुँदा विशेषगरी ध्यान जानु जरुरी छ । तिहारमा प्रयोग गरिने रोटी, मिठाइ तथा मासुजन्य वस्तुहरू स्थानीयस्तरमै तथा स्वदेशमै उत्पादन भएका प्रयोग गर्न आवश्यक छ । त्यसैगरी तिहारमा अत्यधिक बढी प्रयोग गरिने भनेको फूल र मालाहरू हुन् । पछिल्ला केही वर्षयता सस्तो तथा सरलरूपमा पाइने प्लाष्टिकजन्य फूल र मालाको बढ्दो प्रयोग भएको देखिन्छ । यसका साथै सीमा क्षेत्रका जिल्लाका सहरहरूमा भारतबाट अवैधरूपमा ल्याइएका फूल तथा मालाहरूको अत्यधिक प्रयोग हुने गरेको छ । सर्वसाधारणहरूले सस्तोमा पाइने भएका कारण भारतीय फूल तथा मालाहरूको प्रयोग गरिरहेका पाइन्छन् । सस्तोका नाममा विदेशी उत्पादन प्रयोग गर्नु अत्यन्तै गलत हो । बिना क्वोन्टाइन नेपाल भित्रिने तथा चोरीबाटो हुँदै नेपाल ल्याएर बिक्री वितरण गरिने यसप्रकारका फूल र फूलजन्य वस्तुहरूमा विषादीको मात्रा हुने अत्यधिक सम्भावना रहन्छ । फूल र माला त अझै सोझै व्यक्तिका नाम, मुख र घाँटीमा जाने हुँदा विषादीले सोझै स्वास्थ्यमा प्रतिकूल असर पार्ने सम्भावना पनि रहन्छ ।
तसर्थ नेपाली उद्यमीले उत्पादन गरेका फूल तथा मालाहरू, तिहारका भाइमसलाहरू, सागसब्जीलगायतका अन्य सम्पूर्ण आवश्यक उपभोग्य सामग्रीहरू स्वदेशमै उत्पादन भएका प्रयोग गर्नु आवश्यक छ । बजारमा कुनै वस्तु खरिद गर्दा त्यसको उत्पादन मिति, मूल्यलगायतमा पनि उपभोक्ताहरूले ध्यान दिन जरुरी छ । घरघरमा दैनिक उपभोग हुने उपभोग्य वस्तुहरू स्वदेशमै उत्पादन भएका प्रयोग गर्नका लागि जागरुक र सचेत नागरिकका हिसाबले अरुलाई पनि सजग गराउनुपर्दछ । सबै नेपालीहरूले यदी स्वदेशमै उत्पादन भएका उपभोग्य सामग्रीहरू उपभोग गर्ने हो भने नेपाली उद्यमीहरूले पनि काम पाउने, नेपालको रूपैयाँँ पैसा पनि नेपालमै रहने तथा रोजगारीको पनि सिर्जना हुनेहुँदा देशमा देखिएको बेरोजगारीको अवस्थालाई पनि केही हदसम्म भएपनि न्यूनीकरण गर्न सक्दछ । नेपालमा उत्पादन भएका वस्तुहरू नेपालमै खपत हुँदा मागमा पनि वृद्धि हुन्छ भने उत्पादनमा पनि वृद्धि हुँदै जान्छ । जसका कारण नेपालको अर्थतन्त्रमा समेत टेवा पुग्ने देखिन्छ । सकेसम्म स्वदेशमै रैथाने वस्तु उत्पादन गर्नतर्फ लागौँ र रैथाने तथा स्वदेशी उत्पादन नै प्रयोग गरौँ । हामी सबैले स्वास्थ्यका लागि पनि हितकर हुने रैथाने र स्वदेशी उत्पानको प्रयोग गर्दै उत्पादन पनि बढाउन पहल गरौँ ।









प्रतिक्रिया दिनुहोस्