12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

कोहलपुर नगरपालिका, एक वर्षमा दुई प्रतिवेदन गुपचुप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र ६, २०७७  

डिल्ली शाही ।

कोहलपुर नगरपालिकाले एक वर्षमा दुई वटा प्रतिवेदन गुपचुपमै सिमित भएका छन् ।

गत वर्षको फागुन महिनामा आधारभुत तह २०७६ को परिक्षामा त्रुटी भएपछि छानविन समिति बनाएको थियो र अर्को जनता माध्यमिक विद्यालयमा आर्थिक अनियमितता गरेको उजुरी परेपछि छानविन समिति बनेको थियो ।

सो समितिहरुबाट आएको निष्कर्षबाट नै कारवाहीको दायरामा ल्याउने भनिएको थियो । तर दुवै छानविन समितिहरुले सो प्रतिवेदन अझै पनि सार्वजनिक गरेका छैनन् ।

तीन विषयको प्रश्न पत्रमा समस्या

गत वर्ष फागनुमा सञ्चालन गरेको तीन वटा विषयमा निकै त्रुटी देखिएको थियो । नेपाली, गणित र विज्ञान विषयमा त्रुटी देखिएको थियो । नेपाली विषयमा ५ वटा, गणितमा १० वटा र विज्ञानमा ४० वटा त्रुटीहरु फेला परेको थियो ।

कोहलपुर नगरपालिकाका सामुदायिक र संस्थागत गरी ४३ वटा विद्यालयका २ हजार ३ सय ५५ जना विद्यार्थीहरु परीक्षामा सहभागि रहेका थिए । प्रश्नपत्रमा त्रुटीहरु देखापरेपछि सर्वपक्षिय बैठकबाट समिति गठन गरेको थियो । जसमा त्रिभुवन माध्यामिक विद्यालयका अंग्रेजी शिक्षक ऋर्षीराज शर्मा, नमूना विद्या सदनका संस्थापक शिव डाँगी र जनता मावि मैटहवाका शिक्षक बद्रि ढकाल रहेका छन् ।

रकम अनियमितता गरेको भन्दै उजुरी

बाँकेको कोहलपुर वडा नम्बर ३ मा रहेको जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिले गत पुष महिनामा उजुरी गरेको थियो । विव्यसले विद्यालयको रकम अनियमितता गरेको भन्दै कोहलपुर नगर शिक्षा शाखामा उजुरी दिएका थिए ।

सो निवेदनमा भवन निर्माण, पुस्तकालय व्यवस्थापन, फर्निचर, कम्प्यूटर खरिद, शिक्षकको तलब कटौती, सामुदायहरुले चन्दा दिएको रकममा अनियमितता भएको भन्दै विव्यसले उजुरी दिएको थियो । सो उजुरी दिएपछि कोहलपुर नगरपालिकाले छानविन समिति बनाएको थियो । सो समितिमा नगर शिक्षा शाखा अधिकृत रविलाल मिजार, लेखापाल हेमन्त पौडेल र प्राविधिक सहायक बलबहादुर
नेपाली सदस्य थिए ।

पीडित अभिभावकको उजुरी

बाँकेको कोहलपुर वडा नम्बर ३ मा रहेको जनता माध्यमिक विद्यालयका पीडित अभिभावकहरुले जिल्ला समन्वय समितिको कार्यालयमा समेत उजुरी दिएका छन् । उक्त उजुरीमा भनिएको छ, जनता माध्यमिक विद्यालयको आर्थिक वर्ष २०७५/०७६/०७७ को २ कोठे भवन निर्माण, आ.व. २०७६/०७७ आइ.सि.टी कम्प्यूटर खरिद, आ.व. २०७५/०७६ लेखापरीक्षण अघि पछि, बिना विज्ञापन शिक्षकको नियूक्ति जस्ता कुराहरुलाई लिएर उजुरी परेको छ ।

यस्तै आर्थिक वर्ष २०७५/०७६/०७७ को २ कोठे भवन निर्माणमा विद्यालयकै पुराना इट्टा, सरिया, ढङ्गा, झ्याल, ढोका प्रयोग गरी नयाँ खरिद विल पेश गरेको, खरिद समिति, उपभोक्ता समितिलाई थाहै नदिई (किर्ते गरी) मिलोमतो ठेक्का र खरिद गरेको र भवन अपुरै रहेको जस्ता कुराहरु उजुरीमा उल्लेख गरिएको छ ।

यस्तै आ.व. २०७६÷०७७ आइ.सि.टी कम्प्यूटर खरिदमा आफूखुसी विद्यालयका सामान खरिद गरेको र खरिद भएका सामग्रीको झुट बिल पेश गरेको, विद्यालयको खाताबाट रकम निकालेको तर सम्बन्धीत पक्षलाई रकम भुक्तानी दिन बाँकी रहेको जस्ता कुराहरु उजुरीमा उल्लेख गरिएको छ । सो उजुरीपछि जिल्ला समन्वय कार्यालयले फागुन १७ गते के–कसो भएको हो बुझि नियमनुसार आवश्यक कारवाही हुन आदेश दिएको छ ।

उता कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले मिसन टुडे राष्ट्रिय दैनिकसंगको टेलिफोनमा कुरा गर्दै छानविन समितिले तयार गरेको प्रतिवेदन हेर्न नभ्याएको बताए । उनका अनुसार गत वर्ष भएको कक्षा ८ को परिक्षामा गल्ती कमजोरी भएको थियो त्यसको छानविन पनि भयो तर सबै कुराहरु सार्वजनिक नहुने बताए ।

‘केही कुराहरु आन्तरिक हुन्छन्, सबै पत्रपत्रिकामा राख्नुपर्दछ भन्ने हुँदैन’ उनले भने, ‘शिक्षकहरुलाई स्पष्टिकरण समेत सोधेका थियौं, फेरी यस्तो गल्ती नगर्ने समेत चेतावनी दिएका छौँ ।’ उनका अनुसार जनता माध्यमिक विद्यालयमा भएको छानविन समितिले बनाएको प्रतिवेदन पास नभएको बताए । ‘दोषीलाई के कारवाही गर्ने भन्ने नै थाहा छैन, कुन खाले कारवाही गर्ने भन्ने थाहा छैन’ उनले भने ।

यस्तै कोहलपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले दुवै प्रतिवेदनको बारेमा आफुलाई जानकारी नभएको बताए । उनका अनुसार छानविन समिति बनाउँदा पनि जानकारी भएन र प्रतिवेदन बनाउँदा पनि आफूलाई जानकारी नभएको भन्दै यसको बारेमा आफुले केही बोल्न नमिल्ने बताए ।

यस्तै आधारभुत तह २०७६ को परीक्षामा देखिएको त्रुटीको छानविन समितिका अध्यक्ष ऋषिराज शर्माले समिति बनाएको पाँच दिनभित्रै प्रतिवेदन तयार गरेर नगर प्रमुख रावतलाई हस्तान्तरण गरेको बताए । ‘अहिलेसम्म किन सार्वजनिक भएन मलाई थाहा छैन ?, तर हामीले समिति बनाएको पाँच दिनमा नै प्रतिवेदन तयार गरी बुझाएका हौं’ उनले भने ।

यस्तै जनता माध्यमिक विद्यालयमा आर्थिक अनियमितता गरेको भन्दै उजुरी गरेपछि बनेको छानविन समितिका संयोजक रविलाल मिजारले प्रतिवेदन तयार गरेर कोहलपुर नगरपालिकामा बुझाएको बताए । ‘अहिलेसम्म किन सार्वजनिक भएको छैन मलाई थाहा छैन, सार्वजनिक गर्नुपर्ने हो’ उनले भने । (फलाेअफ न्युज)

प्रकाशित मितिः शुक्रबार, चैत्र ६, २०७७     11:09:34 AM  |