मधुर पौडेल । बाँसगढी (बर्दिया) ।
बडादसैँ, दीपावली तथा छठ पर्वको अवसर पारेर बर्दियाको बाँसगढीमा सुरु भएको बाँसगढी प्रिमियर लिग (बिपिएल) सिजन– ३ टी–२० क्रिकेट प्रतियोगिता २०८२ को पहिलो खेलमा ककौरा सुपर किङ्स विजयी बनेको छ । सोमबा सम्पन्न पहिलो खेलमा ककौरा सुपर किङ्स र माछागढ सुपर स्ट्राइकर्सबीच प्रतिस्पर्धा भएको थियो । टस जितेर पहिला ब्याटिङ रोजेको ककौरा सुपर किङ्सले १४.४ ओभरमा १०२ रन जोड्न सफल भयो । सुपर किङ्सका लागि विजय चौधरीले सर्वाधिक ३१ रन प्रहार गरे ।
बलिङतर्फ माछागढ सुपर स्ट्राइकर्सका नितेश न्यौपानेले ३ विकेट, युवराज रावत र सोलुप चौधरीले समान २–२ विकेट तथा सुरेश भण्डारी र युवराज वलीले समान १–१ विकेट लिए । १०३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको माछागढ सुपर स्ट्राइकर्सको टोली ९८ रनमा अलआउट हुँदै खेललाई ४ रनले गुमाउन पुग्यो । स्ट्राइकर्सका हेमन्त आचार्यले ३० बलमा ४६ रनको उत्कृष्ट पारी खेले भने सोलुप चौधरीले १७ बलमा ४१ रनको आक्रामक प्रदर्शन गरे । तर अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन् ।
बलिङतर्फ ककौरा सुपर किङ्सका विजय चौधरी र अजय साहानीले समान ३–३ विकेट लिए भने प्रेम वलीले १ विकेट हात पारे । ब्याटिङमा ३१ रन र बलिङमा ३ विकेटसहित उत्कृष्ट प्रदर्शन गरेका विजय चौधरीलाई म्यान अफ द म्याच घोषित गरिएको थियो । जिल्ला क्रिकेट संघ बर्दियाको समन्वय तथा बाँसगढी नगरपालिकाको सहयोगमा बाँसगढी क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताको सोमबार बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख खड्काले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको बताउँदै वडा कपबाट उदाएका प्रतिभाशाली खेलाडीहरूको हौसला बढाउने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार वडा कपमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं २ का विश्व केसी र वडा नं ९ का गौरव खड्का (११ वर्ष)लाई नगरपालिकाका तर्फबाट विशेष प्रोत्साहनका रूपमा १२ कक्षासम्मको शिक्षा शुल्क र हरेक तीन महिनाको क्रिकेट क्लास शुल्क नगरपालिका स्वयंले व्यहोर्नेछ ।









प्रतिक्रिया दिनुहोस्