वीरेन्द्र जैसी । नेपालगन्ज
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रेफ्री छनौटमा प्रश्न उठेको छ । विशेषगरी भारोत्तोलनतर्फका अन्तराष्ट्रियस्तरका खेलहरू खेलाएका समसुद्धिन सिद्धिकीले रेफ्रीको लाइसेन्सप्राप्त व्यक्तिहरूलाई प्रतियोगिताबारे हालसम्म कुनै जानकारी नदिइएको र जिम्मेवारी पाएका रेफ्रीहरूबारे पनि जानकारी प्राप्त नभएको बताएका छन् । ‘देशको लागि खेलकुदको ओलम्पिकजस्तैै आयोजनामा पनि मान्यताप्राप्त रेफ्रीहरूलाई जानकारी नदिएरै कसरी खेल खेलाइँदै छ ? जानकारी भएन,’ सिद्धिकीले भने ।
सिद्धिकीले रेफ्रीका लागि उनीहरूको लाइसेन्स नवीकरण भएको हुनुपर्नेमा हालसम्म केही व्यक्तिहरूको मात्रै लाइसेन्स नवीकरण भएको र लाइसेन्स नवीकरण भएका कोही पनि व्यक्तिलाई प्रतियोगिताबारे जानकारी नदिइएको बताए । उनका अनुसार भारोत्तोलनका लागि काठमाडौँका गोपाल श्रेष्ठ, पार्थसार्थी सेन र कुमार श्रेष्ठ पनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त रेफ्री रहेकोमा उनीहरूलाई पनि हालसम्म प्रतियोगिताबारे जानकारी नदिइएको बताए ।
‘खेलाडीहरूको महान पर्वलाई पनि गाउँघरमा खेलाउने खेलजस्तै रूपमा लिएका छन् । राष्ट्रियस्तरको प्रतियोगितामा रेफ्रीको स्तरलाई तलमाथि गर्न पाउनुहुन्न । मान्यता नपाएका रेफ्रीले अम्पायरिङ गर्न कसरी पाउँछ र भत्ता कसरी खान पाउँछ ?’ सिद्धिकीले प्रश्न गरे ।
पौडी प्रतियोगिताको व्यवस्थापन फितलो
कर्णालीले आयोजना गर्ने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत उद्घाटनअघि नै सुरु भएका खेलमध्ये एक पौडी प्रतियोगिता पनि हो । उक्त प्रतियोगिता नेपालगन्जमा आयोजना भइरहेको छ । तर, प्रतियोगिता सञ्चालन भइरहँदा पनि नेपालगन्जवासीमा कुनै उत्साह छैन । प्रतियोगितास्थलमा खेलाडी, तिनका आफन्त तथा खेल अफिसियलबाहेक अरु नेपालगन्जवासीको उपस्थिति देखिन्न ।
खेलकुदको महाकुम्भका रूपमा लिइने राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनमा पनि खेलक्षेत्रका व्यक्तिहरूसँग कुनै समन्वय नगरिएको खेलाडी समसुद्धिन सिद्धीकीले बताए । नेपालगन्ज रंगशालाबाट करिब पाँच सय मिटर नजिक घर भएका सिद्धिकीले भने, ‘मेरै छेउमा राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको छ तर मलाई नै जानकारी भएन । खेल सुरु भइसकेपछि मात्रै थाहा पाएँ ।’ खेलाडीहरू पनि आयोजकले खेलतालिका र खेलाडी सूची समयमा जानकारी नदिइएको बताउँछन् ।
पौडी प्रतियोगिता भइरहेको नेपालगन्ज रंगशालामा बिहीबार अपरान्ह भेटिएका एक खेलाडीले भने, ‘खेलाडीहरूको लिस्ट नै समयमा दिन्नन् । लिस्ट टाँस्ने बोर्डमा नामावली नराख्दा कन्फ्युज भयो । हाम्रो एकजना सर लिस्ट खोज्न जानुभएको छ ।’ लुम्बिनी प्रदेशबाट त केही खेलाडीको नाम नै प्रतियोगितामा राख्न छुटाइएको नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशव न्यौपानेले बताए ।
प्रतियोगिता सञ्चालन गरिरहेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनामा सहरवासीको उत्साह कम देखिएको स्वीकाछन् । तर, यसो हुनुमा उनले समन्वय गर्नमा कमजोरी भएको भने स्वीकार गरेनन् । ‘सबै खेलकुदमा उस्तै रौनक हुँदैन । यसमा पनि धेरैको चासो नभएको होला,’ श्रेष्ठले भने ।









प्रतिक्रिया दिनुहोस्