दसौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा लुम्बिनीको यात्रा समूह चरणमै समाप्त



नन्दराम जैशी । सुर्खेत ।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा लुम्बिनी प्रदेशको यात्रा समूह चरणमै समाप्त भएको छ । प्रतियोगितामा सुखद सुरुवात गर्न नसकेको लुम्बिनी दोस्रो खेलमा पनि पराजित भएपछि उपाधि होडबाट बाहिरिएको हो । यता, गण्डकी प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले भने सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । महिला क्रिकेटमा बिहीबारका खेलले दुई प्रदेशको फरक अवस्था देखाएका छन् ।

एकातिर लुम्बिनी प्रदेशले लगातार दुई खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिनुपरेको छ भने अर्कोतिर बागमती प्रदेशले लगातार जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । लुम्बिनीका लागि मधेश प्रदेशसँगको खेल प्रतियोगितामा टिकिरहने अन्तिम अवसर थियो । तर, ब्याटिङमा अपेक्षित प्रदर्शन गर्न नसक्दा लुम्बिनीले मधेशसामु सामान्य लक्ष्य प्रस्तुत ग¥यो । त्यसलाई मधेशले सहज रूपमा पछ्याउँदै पाँच विकेटको जित निकाल्यो ।

बिहीबार वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा सात विकेट गुमाएर ७९ रन मात्रै बनाउन सक्यो । लुम्बिनीको इनिङ्समा ओपनर ऋतु रावल एक्लैले संघर्षपूर्ण ब्याटिङ गर्दै अविजित ४१ रन बनाइन् । उनले ५६ बलमा पाँच चौका प्रहार गरिन् । तर, अर्को छेउबाट पर्याप्त साथ नपाउँदा उनको व्यक्तिगत प्रयासले टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पु¥याउन सकेन ।

लुम्बिनीको ब्याटिङमा अन्य खेलाडीको प्रदर्शन निराशाजनक रह्यो । सिमा थापाले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । आस्मा पुलामीमगरले पाँच, अनिता चौधरी र दीपा कुँवरले समान चार, सुस्मिता भुषालले दुई तथा श्रुती बुढाथोकी, सरस्वती पुन र मनिषा रानाले समान एक रन बनाए । लुम्बिनीको कमजोर ब्याटिङको फाइदा उठाउँदै मधेशकी बलर सुस्मिता यादवले उत्कृष्ट प्रदर्शन गरिन् । उनले चार ओभरमा २० रन खर्चेर चार विकेट लिँदै लुम्बिनीको ब्याटिङ क्रमलाई ध्वस्त पारिन् । रोजी कडारीले दुई तथा कप्तान पुजा महतोले एक विकेट लिए ।

मधेशको कसिलो बलिङसामु लुम्बिनीका ब्याटर खुलेर खेल्न सकेनन् । ८० रनको सामान्य लक्ष्य पछ्याएको मधेशले १२.४ ओभरमै पाँच विकेट गुमाएर जित सुनिश्चित ग¥यो । मधेशकी ओपनर एलिषा यादवले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा आठ चौकासहित ४२ रन बनाइन् । लक्ष्य पछ्याउने क्रममा उनको ब्याटिङ निर्णायक बन्यो । कप्तान पुजा महतोले १५ तथा अनुराधा चौधरीले सात रनको योगदान दिइन् ।

ओपनर साना प्रविनले चार, सरस्वती चौधरीले दुई र चाँदनी खातुनले अविजित चार रन बनाइन् । लुम्बिनीका लागि सरु तिवारीले तीन विकेट लिए पनि मधेशको जित रोक्न पर्याप्त भएन । सुस्मिता भुषाल र सरस्वती पुनले एक–एक विकेट हात पारे । बलिङमा चार विकेट लिएर लुम्बिनीको इनिङ्स धराशायी बनाएकी मधेशकी सुस्मिता यादव प्लेयर अफ द म्याच घोषित भइन् । लुम्बिनीको प्रतियोगितामा लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग पराजित भएको लुम्बिनी मधेशसँगको हारपछि समूह चरणबाटै बाहिरिन बाध्य भयो ।

बागमतीको आत्मविश्वासी प्रदर्शन

लुम्बिनी प्रतियोगिताबाट बाहिरिँदै गर्दा बागमती प्रदेशले भने महिला क्रिकेटमा आफ्नो दाबेदारी बलियो बनाएको छ । गण्डकी प्रदेशलाई पराजित गर्दै बागमतीले प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको हो । यसअघि सुदूरपश्चिम प्रदेशलाई हराएको बागमतीले लगातार दोस्रो जित निकाल्दै समूह चरणमा आफ्नो प्रभाव कायम राखेको छ । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ११० रन बनाउँदा सबै विकेट गुमायो ।

गण्डकीले सुरुवातदेखि नै ठूलो साझेदारी बनाउन नसक्दा बागमतीसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्न सकेन । गण्डकीका लागि ओपनर आयुष्मा चापागाईंले सर्वाधिक २१ रन बनाइन् । चन्द्रमाया बराल र सृजना पौडेलले समान १७ रनको योगदान दिए । सलिना सेनले नौ, सेरिना थापाले आठ तथा कप्तान कुशुम गोदारले सात रन बनाए । सिमाना केसीले पाँच, रञ्जना साउँदले दुई तथा यशोदा भुजेल र रेखा तामाङले समान एक रन बनाए ।

१११ रनको लक्ष्य पछ्याएको बागमतीले सहज ब्याटिङ गर्दै १७.५ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । बागमतीको जितमा विपिशा शाहीले उत्कृष्ट प्रदर्शन गरिन् । उनले ४६ बलमा छ चौका प्रहार गर्दै अविजित ५० रन बनाइन् । दबाबपूर्ण अवस्थामा जिम्मेवारीपूर्ण ब्याटिङ गरेकी विपिशाको अर्धशतक बागमतीको जितको मुख्य आधार बन्यो । ओपनर हिलिशा गुरुङले २७ रनको योगदान दिइन् । उनी र कञ्चन श्रेष्ठ नौ रन बनाएर रनआउट भए ।

त्यसपछि लक्ष्मीमाया रुम्बा लामाले अविजित १३ रन बनाउँदै विपिशालाई साथ दिइन् । बागमतीले थप विकेट नगुमाई लक्ष्य पूरा गर्दै खेल आफ्नो पक्षमा पा¥यो । गण्डकीले ११० रन बनाए पनि बागमतीको ब्याटिङसामु त्यसले पर्याप्त चुनौती सिर्जना गर्न सकेन । विपिशाको संयमित र प्रभावकारी ब्याटिङ तथा टोलीका अन्य खेलाडीको साथले बागमतीलाई सहज जित दिलायो ।

पुरुष क्रिकेटमा कर्णालीको पुनरागमन

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशका लागि अहिलेसम्मका अधिकांश खेलको नतिजा निराशाजनक रहँदै आएको छ । घरेलु मैदान, आफ्नै दर्शकको साथ र पदकको अपेक्षाबीच प्रतिस्पर्धामा उत्रिएको कर्णालीले विभिन्न खेल विधामा अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन । यहीबेला पुरुष क्रिकेटले भने प्रदेशको खेल मनोबल उकास्ने संकेत गरेको छ । प्रतियोगिताअन्तर्गत बिहीबारदेखि सुरु भएको पुरुष क्रिकेटमा कर्णालीले छिमेकी प्रदेश सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।

यो जितले अंकतालिकामा कर्णालीको दुई अंक बनेको छ । प्रतियोगिताको सुरुवाती चरणमै निराशाजनक नतिजा बेहोर्दै आएको घरेलु टोलीका लागि यो आत्मविश्वास फर्काउने महत्वपूर्ण उपलब्धि पनि हो । वीरेन्द्रनगरको कालुन्चोक मैदानमा भएको उद्घाटन खेलमा कर्णालीका विपिन रावलको आक्रामक ब्याटिङ जितको मुख्य आधार बन्यो । १२८ रनको लक्ष्य पछ्याएको कर्णालीले १३ ओभर ३ बलमै चार विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । रावलले मात्र ३५ बलमा ६० रन प्रहार गर्दै घरेलु टोलीलाई सहज जिततर्फ डो¥याए ।

खेलको सुरुवात भने कर्णालीका लागि सहज थिएन । ओपनर दिनेश रावत गोल्डेन डकमा आउट भएपछि घरेलु टोली दबाबमा परेको थियो । तर रावलले आक्रामक शैलीमा ब्याटिङ गर्दै खेलको दिशा बदले । उनलाई दिनेश अधिकारीले १५ रन बनाएर साथ दिए भने मनिष थापा र कप्तान रविन्द्रजंग शाहीले समान १३ रन जोडे ।
सुरुवाती विकेट गुमाए पनि कर्णालीले रनगतिको दबाबमा नपरी लक्ष्य पछ्याउनु उसको ब्याटिङ पक्ष सकारात्मक बन्यो ।

यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२७ रन बनाएको थियो । सुदूरपश्चिमका अभिषेक पालले २८ तथा दीपक बोहराले १८ रन जोडे । कर्णालीका बलरले सुरुदेखि नै विपक्षी टोलीलाई दबाबमा राखेका थिए । दिवान पुन, राजकुमार साह र दिनेश अधिकारीले समान दुई विकेट लिएपछि सुदूरपश्चिम ठूलो योगफल बनाउनबाट रोकियो । कर्णालीको जितमा ब्याटिङ र बलिङ दुवै पक्षको योगदान देखियो । विपक्षीलाई सामान्य योगफलमा रोक्ने बलर र लक्ष्यलाई सहज रूपमा पछ्याउने ब्याटरको संयोजनले घरेलु टोलीलाई प्रतियोगितामा सुखद सुरुवात दिलायो ।

आर्मीको बलियो प्रदर्शन

बिहीबार नै भएको पुरुष क्रिकेटको दोस्रो खेलमा विभागीय टोली नेपाल आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । कालुन्चोक मैदानमा टस जितेर बलिङ रोजेको गण्डकीविरुद्ध आर्मीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको गण्डकी भने आर्मीको कसिलो बलिङसामु टिक्न सकेन । टोली १७ ओभरमै ११० रनमा समेटियो ।

आर्मीको इनिङ्समा राष्ट्रिय टोलीका अनुभवी खेलाडी कप्तान विनोद भण्डारी र कुशल मल्लले समान ३६ रन बनाए । मल्लले दुई छक्का र चार चौका प्रहार गर्दै आक्रामक ब्याटिङ गरे भने भण्डारीले ३६ बलमा एक छक्का र तीन चौकाको मद्दतले ३६ रन जोडे । त्यस्तै वशिर अहमदले २७ रन बनाए । त्रितराज दासले मात्र ११ बलमा २४ रन प्रहार गर्दै आर्मीको रनगति बढाए । राष्ट्रिय टोलीका अर्का सदस्य भीम सार्की भने दुई बल सामना गर्दै खाता नखोली आउट भए ।

आर्मीको आक्रामक ब्याटिङ रोक्न गण्डकीका बलरले प्रयास गरे पनि अतिरिक्त रन नियन्त्रण गर्न सकेनन् । गण्डकीका कप्तान विपिन खत्रीले २८ रन खर्चेर तीन विकेट लिए भने कृष्ण पौडेल र सुदिप अर्यालले समान दुई विकेट हात पारे । तर २१ रन अतिरिक्त खर्चिनु गण्डकीका लागि महँगो साबित भयो । १७८ रनको लक्ष्य पछ्याएको गण्डकीले नियमित अन्तरालमा विकेट गुमायो । ओपनर ईश्वर क्षेत्रीले १५ बलमा पाँच चौकासहित २६ रन बनाएर टोलीलाई राम्रो सुरुवात दिलाउने प्रयास गरे । सोहेल कुँवरले २२ र वंश क्षेत्रीले १६ रन जोडे पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।

आर्मीका बलर तिलकराज भण्डारी गण्डकीको ब्याटिङ ध्वस्त पार्ने प्रमुख खेलाडी बने । उनले तीन ओभरमा १२ रन मात्र खर्चेर चार विकेट लिए । उत्कृष्ट बलिङ प्रदर्शनका कारण उनी म्यान अफ द म्याच घोषित भए । नरेश साउँदले दुई तथा कुशल मल्लले एक विकेट लिए । आर्मीले ब्याटिङमा बनाएको प्रतिस्पर्धात्मक योगफललाई बलिङमा समेत प्रभावकारी प्रदर्शनमार्फत सुरक्षित राख्दै प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ । कर्णालीले सुदूरपश्चिमलाई तथा आर्मीले गण्डकीलाई पराजित गर्दै समान दुई–दुई अंक प्राप्त गरेका छन् ।

पुरुष फुटबलमा एपीएफको क्वार्टरफाइनल यात्रा

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ भने प्रतियोगिताको सहआयोजक कर्णाली प्रदेश भने लिग चरणबाटै बाहिरिएको छ । बिहीबार सम्पन्न खेलमा एपीएफले मधेस प्रदेशलाई ३–१ गोलले पराजित गर्दै अर्को चरणको यात्रा निश्चित गरेको हो, भने गण्डकी प्रदेशसँग ५–० को फराकिलो हार बेहोरेपछि कर्णालीको प्रतियोगितात्मक यात्रा टुंगिएको छ ।

प्रतियोगितामा एकातिर विभागीय टोली एपीएफले प्रभावशाली प्रदर्शन गर्दै उपाधि यात्रालाई निरन्तरता दिइरहेको छ भने अर्कोतिर घरेलु मैदानमा समर्थकको साथ र अपेक्षाबीच मैदान उत्रिएको कर्णालीले लगातार दुई हारसँगै समूह चरणबाटै बिदा लिनुपरेको हो । बिहीबारको दोस्रो खेलमा एपीएफले मधेस प्रदेशविरुद्ध सुरुदेखि नै आक्रामक रणनीति अपनाएको थियो । खेलको ३०औँ मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा समुन श्रेष्ठले गोल थपेपछि एपीएफले मध्यान्तरअघि नै २–० को अग्रता बनायो ।

दोस्रो हाफमा मधेसले खेलमा फर्कने प्रयास गरे पनि एपीएफको रक्षापंक्ति र आक्रमणबीचको तालमेलका कारण अपेक्षित सफलता पाउन सकेन । खेलको ६७औँ मिनेटमा मधेसका गोलरक्षक युनिस चौधरीले डी एरियाबाहिर हातले बल छोएपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए । गोलरक्षक नै बाहिरिएपछि मधेस १० खेलाडीमा सीमित हुन पुग्यो । एक खेलाडी कम भएपछि मधेसमाथि दबाब थपियो ।

यद्यपि टोलीले हार स्वीकार नगरी खेलमा फर्कने प्रयास जारी राख्यो । दोस्रो हाफको अतिरिक्त समयको ९२औँ मिनेटमा दिपेन्द्र विकले गोल गर्दै मधेसको अन्तर घटाए । तर खेलको ९८औँ मिनेटमा डिसन राईले एपीएफका लागि तेस्रो गोल गरेपछि मधेसको पुनरागमन प्रयास समाप्त भयो । खेलमा एपीएफका युवराज खड्का, समुन श्रेष्ठ र डिसन राईले गोल गर्दै टोलीको जितमा योगदान दिए । मधेसका लागि दिपेन्द्र विकले सान्त्वना गोल गरे । खेलमा एपीएफका सन्तोष खत्री तथा मधेसका क्षितिज भण्डारी र हेमन्त भुजेलले पहेँलो कार्ड पाए । कमिसनर वीरेन्द्र पाण्डेका अनुुसार पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको मधेसले दोस्रो खेलमा एपीएफसँग हार बेहोरेको हो ।

घरेलु मैदानमै कर्णालीको बहिर्गमन

दसौँ राष्ट्रिय खेलकुदको सहआयोजक कर्णाली प्रदेशका लागि पुरुष फुटबल प्रतियोगिता भने अपेक्षाअनुसार अगाडि बढ्न सकेन । बिहीबार तेस्रो दिनको पहिलो खेलमा गण्डकी प्रदेशसँग ५–० गोलको फराकिलो अन्तरले पराजित भएपछि कर्णाली लिग चरणबाटै बाहिरिएको हो । कर्णालीका लागि यो खेल जित्नैपर्ने दबाब थियो । उद्घाटन खेलमा नेपाल पुलिस क्लबसँग ३–० ले पराजित भएको कर्णालीलाई प्रतियोगितामा टिकिरहन गण्डकीविरुद्ध जित आवश्यक थियो ।

तर निर्णायक खेलमै टोलीले थप कमजोर प्रदर्शन गरेपछि प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्न पुग्यो । गण्डकीले खेलको सुरुदेखि नै कर्णालीमाथि दबाब सिर्जना गरेको थियो । खेलको १६औँ मिनेटमा लछु थापाले गोल गर्दै गण्डकीलाई अग्रता दिलाए । त्यसपछि २५औँ र ३३औँ मिनेटमा आशिष गुरुङले लगातार दुई गोल गरेपछि गण्डकी पहिलो हाफमै ३–० ले अगाडि रह्यो । दोस्रो हाफमा पनि गण्डकीले आफ्नो आक्रामक लय कायम राख्यो ।

खेलको ५७औँ मिनेटमा सुदिप गुरुङले चौथो गोल थपे । निर्धारित समयपछि थप गरिएको चार मिनेटमा टेकराज गुरुङले पाँचौँ गोल गरेपछि गण्डकीले ५–० को प्रभावशाली जित दर्ता ग¥यो । लगातार दुई खेलमा गोल गर्न नसकेको कर्णालीले भने दुवै खेलमा कूल आठ गोल बेहोरेको छ । म्याच कमिसनर पाण्डेका अनुसार खेलमा गण्डकीका रन्दिप पौडेल र यामबहादुर श्रेष्ठ तथा कर्णालीका दिलविजय शाहीले पहेँलो कार्ड पाएका थिए । प्रतियोगिताअन्तर्गत शुक्रबार पुरुष फुटबलका दुई खेल हुँदैछन् । बिहान ९ बजे लुम्बिनी प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो २ः३० बजे बागमती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन् ।

जिम्न्यास्टिकका प्रारम्भिक प्रतिस्पर्धा सुरु

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिक खेलका प्रारम्भिक चरणका प्रतिस्पर्धा बिहीबारदेखि सुरु भएका छन् । कर्णाली रंगशालाको मिनी कभर्ड हलमा जिम्न्यास्टिकका विभिन्न विधामा प्रारम्भिक चरणका प्रतिस्पर्धा सुरु भएका हुन् । प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरूले आफ्नो सन्तुलन, लचकता र शारीरिक क्षमताको प्रदर्शन गर्दै फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायतका विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।

जिम्न्यास्टिकका मुख्य प्रशिक्षक सुदेशसागर जोशीका अनुसार प्रारम्भिक चरणमा महिलातर्फ ४२ जना र पुरुषतर्फ ४८ जना गरी कूल ९० जना खेलाडी सहभागी छन् । प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा कम्पिटिसन–१, दोस्रो चरणमा कम्पिटिसन–२ (अलराउन्ड) र अन्तिम चरणमा कम्पिटिसन–३ (एपरेटस फाइनल) प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, बागमती, लुम्बिनी, गण्डकी, कोशी प्रदेशका साथै विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनाले सहभागी छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर १२ गते शुक्रबार