विश्वनाथ सिम्खाडा । कालीकोट ।
५२ वर्षअघि विवाह गरेर शुभकालिका गाउँपालिका– ३ भर्ता पुग्दा जुना विकलाई गाउँमा पानीको हाहाकार छ भन्ने थाहा थिएन् । १६ वर्षको उमेरमा नयाँ जीवन सुरु गर्न ठानादेखी भर्तागाउँ पुगेकी उनले कल्पनै नगरेको अवस्था पाइन् । उनको साँझ बिहान एक गाग्री पानीका लागि बित्न थाल्यो । पँधेरा र खोलामा पानी लिन झिसमिसेमै पुग्दापुग्दै कहिलेकाहीँ जंगली जनावरसँग जम्का भेटसमेत हुन्थ्यो । वर्षहरू बित्दै जाँदा उनले वर्षौँ भोगेको यो दुःखबाट कुनै दिन मुक्ति मिल्ला भन्ने सोच्नै छाडेकी थिइन् । तर, अहिले उनले नसोचेको भइदियो । अहिले ६३ वर्षमा हिँड्दै गरेकी जुनाले जीवनभर भोगेको दुःखबाट पार पाइन् ।
सातामुला खानेपानी तथा सरसफाइ आयोजना योजना गाउँमै निर्माण भएपछि जुनाका दिनहरू फेरिएका हुन् । आफ्नै घरको आँगनमा धारा उद्घाटन गर्न पाउँदा जुनाको खुसीको सीमा थिएन् । एक करोड ४३ लाखको लागतमा निर्माण थालिएको आयोजनाले अहिले जुना मात्र हैनन् भर्ता गाउँका सयौँ महिलाको दुखका दिन फेरिएका छन् । उच्च भूभाग र नजिकै खानेपानीको मूल नभएको कारण भर्ताबासीले सदियौँदेखि खानेपानीको चरम संकट भोगे । घन्टौँ हिँडेर पँधेरा र खोला पुग्थे । कैयौँका जीवन पानीको अभाव र पीडामै बिते । पानीका कारण उजुङमा झट्ट छोरी नदिने कथन गर्ने पाका पुस्ता अझै छन् । सोही गाउँमा अहिले ठूलो खानेपानी आयोजना निर्माण भएको छ ।
जुना मात्र हैनन् सोही गाउँकी ४८ वर्षीया लक्ष्मी विक काकाकुल जीवन फेरिएकोमा खुसी व्यक्त गरिन् । ‘एक खेप पानी बोक्दा बिहान जान्थ्यो । दिनभर काम गरेर थकित शरीरसँगै साँझ पँधेरा नपुग्नुको विकल्प थिएन,’ उनले हिजोको दुःख सम्झिँदै भनिन्, ‘अहिले घरमै पानी आउँदा जुनी फेरिएको महसुस भएको छ ।’
भर्ताकी जुना मात्र हैनन् खानेपानी घरको आँगनमै पुगेपछी रास्कोट नगरपालिका–८ पाटडिलकी तारा बराल पनि दुःखका दिन गएको बताउँछिन् । ‘समय आउँदो रैछ । घरको आगनकै अगाडी खानेपानीको धारा पुग्दा साँच्चै दुःखका दिनहरू गए’ उनले भनिन् । जिल्लाको ५ वटा स्थानीय तहमा ६ हजार ६ सय ५८ घरधुरीमा एकघर एकधारा निर्माण गरिएको हुरेन्डेक नेपाल कालीकोटका प्राविधिक प्रमुख राजेन्द्रबहादुर शाहीले जानकारी दिए । सम्पन्न योजनामा समुदायको श्रमदान ३ करोड ९२ लाख ७२ हजार ४ सय ७९, पालिकाको लगानी ३ करोड ४२ लाख ९७ हजार १ सय ४८ रूपैयाँ र हेल्भेटास नेपालको ७ करोड ४२ लाख १३ हजार ९ सय ८१ गरी जम्मा १४ करोड ७७ लाख ८३ हजार ६ सय ८ रूपैयाँ खर्च भएको हुरेन्डेक नेपालका कार्यक्रम संयोजक नरेश दर्जिले बताए ।
स्थानीय तह अनुसार खाँडाचक्र नगरपालिकामा ७ योजना सकिँदा ६ सय ७५ धारा, रास्कोट नगरपालिकामा १६ योजना सकिँदा १ हजार ४ सय ३२ धारा, नरहरिनाथ गाउँपालिमा ३३ वटा योजना सकिँदा २ हजार ६ सय २८ धारा, शुभकालिका गाउँपालिकामा २२ योजना सकिँदा १ हजार ७ सय ७९ धारा र सान्नि त्रिवेणी गाउँपालिमा २ वटा योजना सकिँदा १ सय ६२ धारा गरी जिल्लाको ५ स्थानीय तहमा ६ हजार ६ सय ५८ एकघर एकधारा निमार्ण गरिएको हुरेन्डेक नेपाल कालीकोटका जिल्ला व्यवस्थापक दिलिपकुमार शाहीले जानकारी दिए ।
नेपालको खानेपानी क्षेत्रको राष्ट्रिय नीतिका रूपमा ल्याइएको ‘एकघर एकधारा नीति’ सबैलाई खानेपानीको सुविधा उपलब्ध गराउने महत्वपूर्ण रणनैतिक कदम बनेको छ । नागरिक समाजहरूको एजेण्डा बनेको चुनावी घोषणापत्रहरूमा समेत समावेश भएको यो नारा अनुसार काम हुने हो भने यसले समुदायलाई समृद्धितिर लैजाने निश्चित भएको शुभकालिका गाउँपालिका वडा नं ८ का वडाध्यक्ष दिपराज महताराले बताए ।
खानेपानी आयोजनाहरू पूर्ण रूपमा सञ्चालन नहुने विभिन्न कारणहरूमध्ये आयोजनाप्रति अपनत्वको भाव कम हुनु एक हो । मानिसमा ‘यो मेरो हो’ भन्ने भावना जागृत नभइञ्जेल संरचनाहरूको रेखदेख, मर्मत सम्भारको जिम्मेवारी ग्रहण गर्दैन्, सानोतिनो कुरामा पनि अरुको मुख ताक्ने प्रवृत्ति रहिरहन्छ । तर भौतिक संरचनाप्रति अपनत्व जागेपछि मानिसले हुँदा अन्य प्राविधिक कारणहरूको समाधान उपभोक्ताले आफैँ खोज्न सक्छन् । तसर्थ, एकघर एकधारा नीतिको सफल कार्यान्वयनले आयोजनाप्रति उपभोक्ताहरूको अपनत्व अभिवृद्धि भई आयोजनाहरू दिगो रूपले पूर्ण रूपमा सञ्चालन गर्न सहयोगी भएको पाइएको हेल्भेटास नेपालका वास अधिृकत चन्द्रप्रकाश केसीको बुझाइ छ ।
केसीका अनुसार नेपालको संविधानले सुरक्षित खानेपानी र सरसफाइमा पहुँचलाई मौलिक हकको रूपमा मान्यता दिएको छ । संविधानको धारा ३५ मा ‘स्वास्थ्यसम्बन्धी हक’ समावेश गरिएको छ । यसको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँचको हक हुनेछ भन्ने वाक्यांश उल्लेख गरिएको छ । त्यसैगरी धारा ३० मा स्वच्छ वातावरणको हक समावेश गरिएको छ । जसको उपधारा १ मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने व्यवस्था गरिएको छ भने उपधारा २ मा वातावरणीय प्रदूषण र ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषणबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक भएको अधिकृत केसीले बताए ।
मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष खडानन्द अधिकारीले समुदायको चासो र तीनै तहको सरकारको नीतिले गर्दा एकघर एकधारा नीति उच्च प्राथमिकतामा परेको बताए । अधिकारीले नेपालको संविधानको ‘सुरक्षित खानेपानी र सरसफाइमा पहुँच’ सम्बन्धी मौलिक हकको सफल कार्यान्वयनका लागि तथा वास क्षेत्र विकास योजनाले तय गरेको उच्च-मध्यम स्तरको सेवा सुनिश्चित गरी दिगो विकासको छैटौँ लक्ष्य हासिल गर्नसमेत यो नीति अपरिहार्य उनको भनाइ छ ।
कालीकोटमा यो वर्ष १५ वटा खानेपानीका योजनाहरू निमार्णधन छन् भने उक्त योजनामा सबै क्षेत्रको कुल ६ करोड ८८ लाख ९ हजार १ सय १० रूपैयाँ बजेट खर्च लाग्ने अधिकारीले बताए ।
सन् २००८ देखि हाल २०२५ सम्म आउँदा हेल्भेटास नेपालको सहयोगमा हालसम्म सामुदायिक धारा र एकघर एकधारामा ५ स्थानीय तहमा जम्मा १ सय १० योजना सम्पन्न भएका छन् भने जम्मा २४ करोड १४ लाख ७१ हजार १ सय ९८ रूपैयाँ खर्च भएको छ । त्यसैगरी ७ हजार ५ सय ४५ धारा निमार्ण गरिएको हुरेन्डेक नेपालका प्रमुख कार्यकारी तथा समाजिक अभियान्ता जजराज शाहीले बताए ।
प्रतिक्रिया दिनुहोस्