कोहलपुर
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ मा लागू औषध न्युनिकरणका बारेमा सचेतना गराइएको छ । बाँकेमा प्रमुख समस्याको रुपमा रहेको लागू औषध प्रयोग न्युनिकरण सम्बन्धी जनचेतनामुलक अभिमुखीकरण गराइएको हो ।
समाज सेवा संस्था नेपाल हवल्दारपुरको आयोजना र लागू औषध नियन्त्रण ब्युरो शाखा नेपालगन्जको समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अवसरमा बोल्दै र लागू औषध नियन्त्रण ब्युरो शाखा नेपालगन्जका प्रमुख इन्स्पेक्टर प्रकाश कुमार केसीले बाँके जिल्लामा लागु औषध दुव्र्यसन प्रमुख समस्याको रुपमा रहेको बताए । उनका अनुसार बाँकेमा १५ वर्षका बालबालिकादेखि महिला समेत लागू औषध प्रयोगकर्ता रहेका छन् । कक्षा पाँचमा पढ्ने विद्यार्थी समेत यसमा ग्रसित भएको उनको भनाइ छ ।
उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ लागू औषधका २ सय ४९ वटा केस दर्ता भएका थिए भने ३७६ जनालाई पक्राउ गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा १ सय ५३ वटा लागू औषधका मुद्दा दर्ता भएको र २३५ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।
२०७७/०७८ मा ४ सय २७ मुद्दा दर्ता भएकोमा १ सय ५५ जनालाई पक्राउ गरिएको केसीले बताए । ब्युरोले लागू औषध दुव्र्यसन रोक्नको लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिरहेको उनले बताएका हुन् । आफ्नो ठाउँ र गाउँ तथा समाजमा पनि यस्ता प्रकारका कुलतमा फसेका व्यक्ति भएमा आफूहरुलाई जानकारी गराउन हुन उनको आग्रह थियो ।
उक्त अवसरमा बोल्दै संस्थाका अध्यक्ष विनोद थापाले संस्थाले लामो समयदेखि लागू औषध दुव्र्यसन विरुद्ध कार्यक्रम गर्दै आएको बताए ।उनका अनुसार नयाँ वर्षको अवसरमा लागू औषध दुव्र्यसन सम्बन्धी बृहत जनचेतनामुलक कार्यक्रम आयोजना गरिनेछ ।उनले सो अवसरमा बृहत रक्तदान कार्यक्रम समेत गरिने जानकारी दिए ।
यस्तै उक्त अवसरमा विभिन्न जनचेनतामुलक कार्यक्रमको समेत आयोजना गरिनेछ । यस्तै लागू औषध परामर्श केन्द्रका परामर्शदाता दिपेन्द्र जोशीले बाँके जिल्लामा लागू औषधको दुव्र्यसनमा गरेकाहरुलाई आफूहरुले परामर्श प्रदान गर्दै आएको जानकारी दिए ।
उनले विभिन्न कुलतमा फसेकाहरुलाई केन्द्रमा ल्याउन पनि आग्रह गरेका छन् । उक्त अवसरमा लागू औषध प्रयोगकर्ता भएर पछि सुध्रिएका अविराज क्षेत्रीले लागू औषध दुव्र्यसनमा नफस्न सहभागीहरुलाई आग्रह गरेका थिए । उक्त कार्यक्रममा, बालबालिका, विद्यार्थी, किशोरी, महिला तथा जनप्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको थियो ।