बाघको त्रासले सिंगो बस्ती नै थुरथुर



बाघले पशु चौपायामाथि आक्रमण गर्दै गएपछि सुर्खेतको मेहेली र सल्यानको कालाखोला बस्ती नै त्रासले थुरथुर बनेको छ । मेहेली र कालाखोलावासी बाघको त्रासले दिउँसै एक्लै हिँड्न डराउन थालेका हुन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ मा पर्ने मेहेली क्षेत्रमा बाघले आतंक नै मच्चाउन थालेको छ । पछिल्लो ३ महिनाको अवधिमा मात्रै बाघले ६० बढी पशु चौपायाहरू मारेपछि स्थानीयहरू आतंकित बनेका हुन् ।

नन्दराम जैशी । सुर्खेत ।

बाघले पशु चौपायामाथि आक्रमण गर्दै गएपछि सुर्खेतको मेहेली र सल्यानको कालाखोला बस्ती नै त्रासले थुरथुर बनेको छ । मेहेली र कालाखोलाबासी बाघको त्रासले दिउँसै एक्लै हिँड्न डराउन थालेका हुन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ मा पर्ने मेहेली क्षेत्रमा बाघले आतंक नै मच्चाउन थालेको छ । पछिल्लो ३ महिनाको अवधिमा मात्रै बाघले ६० बढी पशु चौपायाहरू मारेपछि स्थानीयहरू आतंकित बनेका हुन् ।

एक हप्ताअघि मात्रै गोठमा बाँधिएको गोरु मारेको वडाध्यक्ष डण्डबहादुर विकले जानकारी दिए । बाघले वडामा रहेका डाँडा खोरिया, तीनघरे, काफलगैरी, देवस्थल, लेकछडा, भित्रीगैरी लगायतका क्षेत्रमा पशु चौपाया मार्ने गरेको उनले बताए । जंगलमा चराउन लगिएका बाख्राहरू जंगलमै मार्ने गरेको स्थानीय बताउँछन् ।

वडाध्यक्ष विकका अनुसार खोच र जंगल क्षेत्र धेरै भएकाले बाघ देखिँदैन । तर चराउन लगिएका पशु चौपायामा क्षति पु¥याउने गरेको छ । केही दिनको फरकमा बाघले धमाधम पशुधनमा क्षति पु¥याउन थालेपछि स्थानीय पीडामा छन् ।
बाघको व्यवस्थापनका लागि डिभिजन वन कार्यालयसँग समन्वय गरेपनि प्रभावकारी हुन नसकेको वडा कार्यालयले जनाएको छ । बाघलाई नियन्त्रणमा लिन कठिन भूगोलका कारण समस्या भएको र एकै ठाउँ नबस्ने हुँदा स्थानीय कृषकले पालेका पशुहरू सखाप पार्ने गरेको दुःखेसो वडाध्यक्ष विकको छ । पछिल्लो १ वर्ष यतादेखि मेहेली क्षेत्रमा बाघ देखिँदै आएको स्थानीय बताउँछन् ।

गोठभित्रै बाँधिएको गोरु मारेकाले बाघ सानो नभएको भन्दै स्थानीयले पाटे बाघ नै भएको बताउने गरेका छन् । बाघले आतंक मच्चाएको क्षेत्र वीरेन्द्रनगरको १६ र लेकवेशी नगरपालिकाको ८ नम्बर वडा पर्दछ ।

गोठमै पसेर बाख्रा मार्दा थप त्रास

सल्यानको कालिमाटी गाउँपालिका–२ कालाखोलामा बाघले बस्तीमा पसेर २ किसानका ४ बाख्रा मारेको छ भने एउटा बाख्रालाई घाइते बनाएको छ । आइतबार राति घरसँगै सटेको गोठमा पसेर कालाखोलाका धामप्रसाद अधिकारी र कृष्णप्रसाद अधिकारीको घरसँगै जोडिएको गोठमा पसेर बाघले बाख्रा मारेको हो ।

बाघले धामप्रसाद अधिकारीका ३ बाख्रा मारेर खाएको र एउटालाई घाइते बनाएको उनले बताए । त्यसैगरी कृष्णप्रसाद अधिकारीको पनि एउटा बाख्रा मारेर खाएको छ । बस्तीमै छिरेर घरसँगै सटेको गोठमा पसी बाघले बाख्रा मारेर खाएपछि सिंगो बस्ती नै त्रसित बनेको हो ।

‘बाघको त्रासका कारण स्थानीय एक्लै घरदेखि टाढा जान सकेका छैनन् । बाघबाट पशु चौपायासँगै सर्वसाधारणको ज्यान बचाउन स्थानीयले सम्बन्धित निकायमा आग्रह गरेका छन्,’ वडा नं २ का सदस्य अमरबहादुर ओलीले भने, ‘बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेपछि सीमानामा पर्ने कालिमाटी गाउँपालिकाको विभिन्न वडामा बाघले बेलाबेलामा पशु चौपाया मार्दै आएको छ । ३ महिनाअघि मात्र बाघले कालाखोलाकै एक स्थानीयका धेरै बाख्रा मारेर खाएको थियो ।

बाघ बस्तीमा पस्न थालेपछि राति शौच गर्नका लागि बाहिर निस्कन र दिउँसो घरमा स–साना बालबालिकालाई एक्लै छाड्न नसकिने अवस्था सिर्जना भएको स्थानीय टीका अधिकारीले बताइन् । बस्तीका सबै मिलेर चारैतिरबाट धपाउन खोजेपनि बाघ नभेटिएको र जंगलतिर गएको उनले बताइन् । ‘अहिले गाईबाख्रा चराउन, घाँसदाउरा गर्न जंगल जान समेत डर छ । जंगल नजिकै बस्ती भएकाले बस्तीमा बाघ पस्न थालेको छ,’ उनले भनिन्, ‘विगतमा बेलाबेलामा मान्छेलाई पनि आक्रमण गर्दै आएकाले पशुपालन गर्न पनि डर छ ।’

स्थानीय लोकबहादुर केसीले निकुञ्जको सीमा क्षेत्र खुला भएकाले जंगली जनावरले मान्छेलाई दुःख दिँदै आएपछि बसाइँसराई गर्ने क्रम बढेको बताए । उनका अनुसार बसाइँसराईले कालिमाटी गाउँपालिका–७ घुइँयाबारीको जंगल नजिकका बस्ती खाली हुँदै जान थालेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख ३ गते बुधबार