कोहलपुरमा वृक्षरोपण अभियान सुरु, १० हजार बिरुवा रोप्ने योजना



बाँके ।

कोहलपुर नगरपालिकाले वृक्षरोपण अभियान सुरु गरेको छ । शुक्रबार लामो दूरीको बसपार्क परिसरमा वृक्षरोपण गरेर यो वर्षको अभियान थालिएको हो । नगर प्रमुख पूर्णप्रसाद आचार्य, नगर उपप्रमुख संगीता सुवेदी र निवर्तमान नगर प्रमुख लुटबहादुर रावतले संयुक्त रूपमा वृक्षारोपण कार्यक्रमको सुभारम्भ गरेका थिए ।

उनीहरूले स्वामीको बिरुवा रोपेर अभियानको सुरुवात गरेका हुन् । चालु आर्थिक वर्ष २०८०/०८१ मा कोहलपुर क्षेत्रभित्र करिब १० हजार बिरुवा रोप्ने उद्देश्यका साथ यो वर्षको अभियान सुरु गरिएको नगर प्रमुख आचार्यले जानकारी दिए ।

कोहलपुर क्षेत्रमा बढ्दो तापमानलाई कम गर्नका लागि पनि वृक्षरोपण आवश्यक रहेको नगर प्रमुख आचार्यले बताए । ‘कोहलपुर नगरपालिकालाई हरित नगर बनाउँदै यसको सौन्दर्य बढाउने कुरा त भई नै हाल्यो तर पछिल्लो समय बढ्दो तापमानलाई समेत न्यूनीकरण गर्नका लागि पनि वृक्षरोपण अपरिहार्य आवश्यकता बन्यो,’ उनले भने, ‘बसपार्क क्षेत्रमा यसको आवश्यकता झनै देखियो । वरपर सबै कंक्रिट छ । कम्तिमा बोटबिरुवा रोपियो भने शितलता प्रदान गर्नमा सघाउ पु¥याउनेछ ।’

नगर क्षेत्रमै मात्र बिभिन्न प्रजातिका पाँच हजार बिरुवा रोप्ने योजना छ भने नगर बाहिरका विभिन्न वडाहरूमा थप पाँच हजार बिरुवा रोप्ने योजना रहेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । नगरपालिकालाई हरित नगरको रूपमा विकास गर्ने उद्देश्यले नगरपालिकाले नीतिगत रूपमै वृक्षरोपण कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

बसपार्क क्षेत्रमा मात्रै १६० बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको नगर प्रहरी प्रमुख थापाले बताए । स्वामी ३, कोनोकार्पस ५०, छतिवन ४०, कल्की २०, कपुर ३०, निम १०, पारिजात २० र धुपीका १० वटा बिरुवा रोपिएको उनले जानकारी दिए ।

कोहलपुर नगरपालिकामा नगर प्रमुख आचार्य नेतृत्वको जनप्रतिनिधिको टिम आइसकेपछि कोहलपुरलाई हरित नगरको रूपमा विकास गर्ने विषय प्राथमिकतामा परेको छ । अहिले कोहलपुर–नेपालगन्ज सडकखण्डमा कोनोकार्पस र छतिवन प्रजातिका बिरुवाहरू हुर्किरहेका छन् । कोहलपुर नगरपालिकाको हरित नगर बनाउने अभियानमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र लुम्बिनी प्रदेश वन मन्त्रालयले समेत सहयोग गरेको छ ।

यस्तै, बोटबिरुवा संरक्षणमा स्थानीयबासी, संघसंस्थाहरूले समेत महत्वपूर्ण योगदान गर्दै आएका छन् । ‘बिरुवा रोप्ने मात्र ठूलो कुरा होइन त्यसको संरक्षण सबैभन्दा महत्वपूर्ण पार्ट हो । नगर प्रहरी तथा स्थानीय सरकारले मात्रै संरक्षण गर्न सक्दैन नगर प्रहरी प्रमुख थापाले भने, ‘स्थानीयबासी, विभिन्न संघसंस्थाहरूले ट्रिगार्ड उपलब्ध गराएर बिरुवा संरक्षणमा महत्वपूर्ण सहयोग गर्नुभएको छ ।’

शुक्रबारदेखि सुरु भएको वृक्षरोपण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, वडा नं.९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगी, वडा नं.१२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाह, जिल्ला ट्राफिक कार्यालय प्रमुख गोपीकृष्ण सुवेदी, कार्यपालिका सदस्यहरू, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिबार