
२१ फागुनमा बर्दिया निकुञ्जका कर्मचारी पुलिसराम थारूलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिंदै प्राविधिकहरू । तस्वीर सौजन्यः एनटीएनसी बर्दिया
कृष्ण ओली । कोहलपुर ।
बाँकेको राप्तिपारि क्षेत्रमा केही दिनयता आतंक मच्चाइरहेको पाटेबाघलाई नियन्त्रणमा लिन प्राविधिक टोली आउन ढिलाइ भएको छ ।
तीन दिनमा दुई महिलाको ज्यान लिएपछि स्थानीयहरुले तत्काल बाघलाई नियन्त्रणमा दबाब दिएका थिए । बाँकेमा बाघलगायतका ठूला जनावरहरु नियन्त्रणमा लिने प्राविधिक जनशक्ति छैन ।
बाघ नियन्त्रणको लागि शनिबार नै डिभिजन वन कार्यालय बाँकेले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) बर्दियाको सहयोग मागेको थियो । एनटिएनसी बर्दियामा रहेका प्राविधिक जनशक्ति पहिलेदेखि नै अन्य स्थानमा रहेकाले बाँकेमा आउन सकेनन् ।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले बर्दियामा रहेका जनशक्ति अन्य काममा रहेकोले चितवनबाट प्राविधिक टोली आउन लागेको जानकारी दिए ।
‘बर्दियामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषलाई सहयोग माग्दा पहिलेबाट नै अन्य काममा रहेको पाइयो,’ उनले भने, ‘त्यहीबाट चितवनमा रहेको प्राविधिक टोलीलाई समन्वय भएको थियो । सायद टोली चितवनबाट नै आउँछ होला ।’
एनटिएनसी बर्दियामा कार्यरत प्राविधिक जनशक्ति जारी रहेको बाघ गणना र बर्दियाकै आतंक मच्चाइरहेको बाघ नियन्त्रणमा लिन खटिएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत कुननारायण चौधरीले अन्य जनशक्ति भए पनि डार्ट गर्ने जनशक्ति नभएको बताए । ‘हात्तीलगायतका अन्य टोली त हामीसँगै छ भन्दा हुन्छ,’ उनले भने, ‘बाघलाई नियन्त्रणमा लिनको लागि डार्ट गर्ने प्राविधिक नहुँदा अहिले समस्या आएको हो ।’
चितवनबाट बाघ नियन्त्रणको लागि प्राविधिक टोली आउँदै गरेको सहायक संरक्षण अधिकृत चौधरीले मिसन टुडेलाई जानकारी दिए । ‘बर्दियाको टोली बिजी भएपछि चितवनबाट टोली आउने कुरो भएको छ,’ उनले भने, ‘त्यहाँ पनि बाघ नियन्त्रणमा लिनुपर्ने रहेछ ।
टोली सकेसम्म यतै आउने कुरा सुनेका छौं ।’ राप्तिपारि क्षेत्रमा हात्तीसहितको टोली परिचालन गरिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । दुईवटा हात्तीसहित निकुञ्ज तथा वन कार्यालयका कर्मचारी, नेपाली सेना र प्रहरी परिचालन गरिएको छ ।
चितवनबाट प्राविधिक आउँछन्
पाटेबाघ नियन्त्रणको लागि चितवनको सौराहामा रहेको एनटिएनसीको कार्यालयबाट प्राविधिक टोली आउने पक्का भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) बर्दियाका प्रमुख रवीन कडरियाले चितवनबाट एउटा टोली बाँके आउन लागेको जानकारी दिए ।
‘हामीसँग रहेको टोली अन्य क्षेत्रमा नै रहेकोले चितवनबाट बाँके अर्को टोली आउँदैछ,’ उनले भने, ‘आइतबार साँझ नै त्यहाँबाट हिँड्ने कुरा थियो ।
सबैसँग समन्वय गरेर चिकित्सकसहित प्राविधिक टोली सोमबार बिहान चितवनबाट हिँड्नेछ ।’
प्रमुख कडरियाका अनुसार सकेसम्म प्राविधिक टोलीले मंगलबारबाट बाघले मान्छे खाएको स्थानमा पुगेर आफ्नो काम थाल्नेछ । बाघको पहिचानको लागि सुरुमा क्यामेरा ट्रयाप जडान गरिने उनले जानकारी दिए ।
‘दुवै स्थानमा मान्छेलाई आक्रमण गर्ने बाघ एउटै हुन की फरक हुन भनेर थाहा पाउनको लागि क्यामेरा राखिनेछ,’ उनले भने, ‘सोही आधारमा मात्र प्राविधिक टोलीले डार्ट गरेर बाघ नियन्त्रणमा लिन्छ ।’
बाघ नियन्त्रणमा लिन प्राविधिकहरुलाई केही दिन लाग्न सक्ने प्रमुख कडरियाले बताए ।
प्रतिक्रिया दिनुहोस्