कोहलपुर ।
कोहलपुर नगरपालिकाले गन्धर्व समुदायको संस्कृति प्रवद्र्धनका लागि सारंगी वादन तालिम सुरु गरिएको छ ।
नगरपालिकाभित्र रहेका लोपोन्मुख गन्धर्व समुदायका लागि संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले ६ दिने सारंगी वादन तालिम सञ्चालन गरिएको हो । मंगलबारबाट सुरु भएको तालिमको उद्घाटन कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले गरेका थिए । उनले गन्धर्व समुदायको संस्कृतिको प्रवद्र्धन गर्नु स्थानीय सरकारको दायित्व रहेको बताए ।
पछिल्लो समय गन्धर्व समुदायले समय अनुसार आफ्नो पेशालाई परिमार्जन गर्न आवश्यक रहेको भन्दै उनले पहिलेको जसरी घरघरमा र सडक बजारमा मात्र नभई यसलाई व्यवसायिक रूपमा अघि बढाउनुपर्ने बताए । आत्मनिर्भर बनाउन र संस्कृति जोगाउन सबै लाग्नुपर्ने बताउँदै उनले आर्थिक रूपमा विपन्न र सामाजिक रूपले पछाडी परेकाले अब आफ्नो कलाबाटै पहिचान बनाउन लाग्नुपर्ने बताए ।
पछिल्लो पुस्तालाई आफ्नो कला, संस्कृति हस्तान्तरण गर्दै संरक्षण गर्न आवश्यक रहेको गन्धर्व विपन्न अल्पसंख्यक संस्कृति संरक्षण विकास संघ कोहलपुर–२ का अध्यक्ष सुशील कुमार बैगारले बताए । गन्धर्व समुदायको संस्कृति र सारंगी वादन तालिमले गन्धर्व समुदायलाई जीवन यापनमा थप राहत मिल्ने विश्वस लिएको उनले बताए ।
तालिममा अधिकांश महिलाहरू सहभागी रहेका छन् । नेपालमा पहिलो पटक महिलाहरूले पनि सारंगी रेट्न सक्ने गरी तालिमले सक्षम बनाउने आशा गरिएको छ । महिलाहरू पनि सारंगी वादन गर्न इच्छुक रहेकाले तालिम प्रदान गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्