दैलेख ।
दैलेखका करिब साढे १६ हजार किशोरीलाई महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार ‘ह्युमन पापिलोमा भाइरस’(एचपीभी) विरुद्धको खोप लगाइने भएको हो ।
कार्यालयका खोप अधिकृत थीरप्रसाद रेग्मीले दैलेखका ११ स्थानीय तहलाई २ भागमा विभाजन गरी माघ २२ गतेदेखि २५ गतेसम्म दुई चरणमा खोप अभियान सञ्चालन गरिने बताए । जसमा पहिलो चरणमा नारायण नगरपालिका, भैरवी गाउँपालिका, भगवतीमाई गाउँपालिका, नौमुले गाउँपालिका, डुगेश्वर गाउँपालिका गुराँस र महावु गाउँपालिकामा खोप अभियान सञ्चालन हुने उनले जानकारी दिए ।
यस्तै माघ २७ गतेदेखि दुल्लु नगरपालिका, आठबिस नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका र ठाटिकाँध गाउँपालिकामा खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका ११ वटा स्थानीय तहका विद्यालयमा अध्ययनरत १५ हजार ४ सय ४३ र विद्यालयबाहिर रहेका ८ सय ४५ गरेर १६ हजार २ सय ९७ जना किशोरीलाई खोप लगाउने कार्यालयले जनाएको छ ।
२ सय ४० खोप केन्द्रमा उक्त खोप लगाउने तयारी छ । माघ ३० गतेसम्म विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइनेछ ।
खोप लगाउनका लागि हाल जिल्लाका सबै पालिका तहका स्वास्थ्यकर्मीलाई तालिम दिनेलगायत तयारीका काम भइरहेको कार्यालयले जनाएको छ । यसैबीच जिल्लास्तरीय खोप समन्वय समितिको बैठकसमेत सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले यो खोप अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
उनले भने, ‘कुनै पनि किशोरीहरूलाई खोपबाट वञ्चित नगराई सबैलाई समेटेर खोप लगाउनुहोला । यदि कुनै समस्या देखिए तत्काल खबर गर्नुुहोला । समस्या समाधानका लागि कार्यालयलाई तयारी अवस्था रहन निर्देशन गरिएको छ ।’









प्रतिक्रिया दिनुहोस्