रूकुम पश्चिम ।
रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकाबाट ६ करोडको अदुवा बिक्री भएको छ । पालिकाभर यो वर्ष अदुवा उत्पादन वृद्धि भएको हो । त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनका अनुसार करिब ६ करोड रूपैयाँको अदुवा बिक्री भएको छ ।
जसमा अदुवा बिक्रीबाट किसानले ५ करोड ९२ लाख आम्दानी गरेका छन् । १० वडा रहेको त्रिवेणीमा १ हजार ९ सय ५० परिवारले अदुवा खेती गर्दै आएका छन् । प्रत्येक किसानले दुई रोपनीभन्दा बढी जग्गामा अदुवा खेती गर्दै आएको जनाइएको छ ।
पालिकाभर हाल १ सय ९५ हेक्टर जग्गामा अदुवा उत्पादन भइरहेको छ । कृषि शाखा प्रमुख पुनका अनुसार एक रोपनी क्षेत्रफलमा ४ क्विन्टलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ । पालिकाभर यस वर्ष १५ हजार ६ सय क्विन्टल अर्थात् १५.६ मेट्रिक टन अदुवा उत्पादन भएको छ ।
गत आर्थिक वर्षमा पालिकामा २ हजार ६ सय परिवारले अदुवा खेती गर्दै आएकोमा यो वर्ष उक्त संख्या ६ सय ५० ले घटेको उल्लेख छ । व्यापारी गाउँमा पुगेर अदुवा खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका त्रिवेणी–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट १ लाख आम्दानी गरेको जानकारी दिए । २० वर्षदेखि अदुवा खेतीमा लागेका उनी प्रत्येक सिजनमा २ लाखसम्म आम्दानी गर्ने गरेको बताउँछन् ।
त्रिवेणी–६ बाँठाकोटका कृषक कमलप्रसाद घर्तीले यो वर्ष अदुवा उत्पादन र मूल्य दुवै राम्रो पाएको भन्दै खुसी व्यक्त गरे । अदुवा गाउँबाटै प्रतिक्विन्टल पाँच हजार र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्विन्टल १२ हजारसम्ममा बिक्री हुने गरेको छ । तर पल्लिो समय मौसममा आएको परिवर्तन, मल अभावलगायत कारणले अदुवा उत्पादन घटेको किसानहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्