मगर भाषाको प्रशिक्षण तथा तालिम



बुटवल ।

बुटवलमा मगर भाषाको प्रशिक्षण तथा तालिम दिइएको छ ।

मगर भाषा लोप हुन थालेको भन्दै आफ्नो भाषा संरक्षण गरेर नयाँ पुस्तालाई मगर भाषाबारे जानकारी गराउने उद्देश्यले मगर भाषा तालिमको आयोजना गरिएको फोनिज रुपन्देही अध्यक्ष सोनु थापाले बताए । नेपाल मगर संघ बुटवल वडा नम्बर ७ ले आयोजना गरेको मगर भाषा प्रशिक्षण तथा तालिम १५ दिनसम्म्म सञ्चालन गरिएको थियो ।

नेपाल मगर संघ बुटवल उपमहानगर–७ एकाइ समितिका अध्यक्ष सूर्यबहादुर गाहामगरको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगर–७ का वडा अध्यक्ष पदमराज गाहामगरले मगर भाषालगायत जुनसुकै जातिको भाषा संरक्षण गर्नुपर्ने बताए ।

मानवीय जीवनसँग जोडिएको भाषा संरक्षण गर्ने दायित्व राज्यको भएको बताउँदै भाषालाई प्रयोगमा ल्याउन आवश्यक रहेको तथा मगर भाषा संरक्षणका लागि भाषा प्रशिक्षणको दैनिक कक्षाहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नेपाल मगर बौद्ध सेवा समितिका प्रशिक्षण विभाग प्रमुख पूूर्णबहादुर तरामीमगर, नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठीघरेमगर, पत्रकार सोनु थापामगरलगायतले भाषा संरक्षण गर्नुपर्ने र त्यसका लागि आफ्नो भाषा संरक्षण गर्न पहिला मगर समुदाय प्रतिबद्ध हुनु आवश्यक रहेको बताए ।

७१ जना प्रशिक्षार्थी सहभागी रहेको प्रशिक्षण कार्यक्रममा उत्कृष्ट हुने प्रशिक्षार्थी कालिका रानामगर, प्रेम पुनमगर, सुधा पाँडेमगरलगायतलाई सम्मान गरिएको थियो । संघका वरिष्ठ उपाध्यक्ष लक्ष्मी पुनमगरको स्वागत तथा सचिव अनन्तबहादुर गाहामगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ६ गते आइतबार