त्यतिबेला राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन सम्हालिरहेका थिए । उनलाई जिल्लाहरूमा अभिनन्दन थाप्न भ्याइनभ्याई थियो । कालीकोट पनि पुग्ने कार्यक्रम थियो । उनकै ठाडो निर्देशनमा बाटो खन्न ब्यारेक नै खडा गरिएको थियो । त्यहाँ ठूलो मात्रामा विस्फोटक पदार्थ भण्डारण गरिएको थियो । यही विस्फोटक पदार्थ लुट्ने योजनासहित पिलीमा माओवादीले आक्रमण गरेको थियो ।
शुभाकर विश्वकर्मा । कोहलपुर ।
कर्णालीको सुदूर पहाडी क्षेत्र हो, पिली । यो कर्णाली राजमार्गअन्तर्गत कालीकोट–जुम्ला सडकमा पर्दछ । माओवादी आक्रमणको अन्तिम निसाना बनेको थियो, कालीकोटको पिली । पिली–जहाँ जनयुद्धको अन्तिम युद्ध भयो । माओवादीले अन्तिमपटक राजतन्त्रमाथि आक्रमण गरेको थियो । त्यहाँको घटनालाई पिली हमला-पिली आक्रमणको नामले चिनिन्छ ।
त्यतिबेला जनमुक्ति सेनाले नेपाली सेनाको क्याम्प नै कब्जा ग¥यो । पिलीमा नेपाली सेनाले सडक निर्माणार्थ सैनिक क्याम्प खडा गरेको थियो । कर्णाली राजमार्ग निर्माणका क्रममा २०६१ चैतमा ‘कर्णाली राजमार्ग सडक निर्माण कार्यदल’ स्थापना गरिएको थियो । निर्वाचित सरकार अपदस्थ गरेर शासन गरिरहेका राजा ज्ञानेन्द्रले ठाडो आदेशमा ९ साउन २०६२ मा पिलीमा सैनिक क्याम्प राख्न लगाएका थिए ।
राजतन्त्र ढाल्न कस्सिएको माओवादीले पिलीलाई निसाना बनायो । त्यतिबेला माओवादीमा क्रियाशील सात डिभिजनमध्ये तीनवटा डिभिजनले एकैपटक हमला गरेका थिए । पिली आक्रमणमा सडक खन्न भर्ना गरिएका १४ मजदुरसहित ६२ जना नेपाली सेनाका गरेर ७५ जना मारिए । पिलीमा माओवादीतर्फ पनि २८ जनाले ज्यान गुमाए भने कैयौँ घाइते भए । केहीको भीरमा लडेर ज्यान गयो । स्थानीयको समेत घाँटी रेटेर हत्या गरिएको थियो ।
उक्त आक्रमणका योजनाकार तत्कालीन पश्चिम डिभिजन कमान्डर जनार्दन शर्मा (प्रभाकर) थिए । तर आक्रमणको सम्पूर्ण जिम्मेवारीसहित कारबाही डिभिजन कमान्डर नन्दबहादुर पुन (पासाङ)लाई भयो ।
जनमुक्ति सेनाले २३ साउन २०६२ मा पिली आक्रमण गरेको थियो । सोही दिन साँझ ५ बजेबाट भीषण आक्रमण सुरु भएको थियो । आक्रमण बिहान ३ बजेसम्म पनि जारी थियो । २ सयभन्दा बढी नेपाली सेनालाई जनमुक्ति सेनाले कब्जामा राख्यो । आक्रमणको बेला गणपति राजु देवकोटासहित केही सेना भाग्न सफल भएका थिए । उनी केही दिनपछि मात्रै सम्पर्कमा आएका थिए ।
खासमा त्यहाँ त्यतिबेला प्रत्यक्ष शासन गरिरहेका राजा ज्ञानेन्द्र जिल्ला दौडाहामा थिए । उनी त्यहाँ पुग्नुअघि नै बाटो खुलाउनका लागि ब्यारेक नै खडा गरिएको थियो । त्यहाँ ठूलो मात्रामा विस्फोटक पदार्थ भण्डार गरिएको थाहा पाएका माओवादीले निकै तयारी गरेर आक्रमण गरेका हुन् ।
पिली आक्रमणको केही महिनामा माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । उक्त आक्रमणपछि हो, माओवादीले दिल्लीमा १२ बुँदे सम्झौता गरेको । उक्त सम्झौतापश्चात शान्ति प्रक्रियामार्फत माओवादी जनयुद्धको ‘सेफ ल्यान्डिङ’मा आएको हो ।
पिली : युद्ध पर्यटकीय क्षेत्र
पिली नेपालमा तत्कालीन सरकार र व्यवस्थाविरुद्ध नेकपा माओवादीले सञ्चालन गरेको १० बर्से जनयुद्धका क्रममा अन्तिम पटक लडाइँ भएको स्थान हो । पिलीलाई अहिले ‘युद्ध पर्यटन’का रूपमा विकास गरिएको छ । पिली भिडन्तको अध्ययन गर्नेका लागि आकर्षण केन्द्र बनेको छ । पिलीलाई पर्यटकीय गन्तव्य बनाउन २०७९ सालदेखि प्रदेश सरकारले पूर्वाधार निर्माण सुरु गरेको थियो । पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाउन पूर्वाधार निर्माणमा मात्रै ३ करोड रुपैयाँ खर्च गरिएको छ ।
एउटा प्रशासनिक भवन बनेको छ । शौचालय निर्माण गरिएको छ । पिलीमा युद्ध संग्रहालयसमेत बनेको छ । रेलिङसहित करिब १९ सय मिटर पैदल मार्ग रहेको छ । त्यहाँ पोखरी पनि बनाइएको छ । भ्युटावरका साथै चौतारो निर्माण गरिएको छ । मृतकहरूको नामावलीसहितको शान्ति बाटिकासमेत निर्माण गरिएको छ, पिलीमा । पिलीलाई पर्यटकीय क्षेत्र बनाउन खाडाँचक्र नगरपालिकाले डीपीआरसमेत बनाएको थियो । सोही डीपीआरअन्तर्गत नै त्यहाँ संरचना बनेका हुन् ।
संघीयतापछि बदलिएको पिली
पिली–खाँडाचक्र नगरपालिकाको ७ नम्बर वडामा पर्छ । पिली २०४८ सम्म पाखा गाविसअन्तर्गत पथ्र्यो । त्यसपछि संघीय संरचना नहुँदासम्म दाहा गाविसमा रह्यो । पिलीमा ठकुरी, क्षेत्री र दलित समुदायको बसोबास छ । उक्त गाउँमा करिब २ सय ५० घरधुरी रहेका छन् । १ हजार ४ सय जनसंख्याको बसोबास रहेको छ । पिली क्षेत्रमा पछिल्लो समय व्यापारिक क्षेत्रको रूपमा विस्तार हुँदै गएको छ ।
त्यहाँ आधारभूत स्वास्थ्य एकाइले सेवा प्रदान गरिरहेको छ । कालीकोटमा युद्ध पर्यटकीय क्षेत्र निर्माणले पूर्णता पाएपछि पिली आसपासको क्षेत्र पर्यटन हब बन्ने सम्भावना रहेको छ । विभिन्न खुद्राका साथै होटल व्यवसाय पिलीमा चलिरहेका छन् । रारा जाने बाटोसमेत त्यहाँ पर्ने भएकाले धेरै पर्यटकले त्यहाँको अवस्था जानकारी लिने गरेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्