पुड्कोपन घटे पनि शीघ्र कुपोषणको जोखिम कायमै



शेरबहादुर ऐर । कैलाली ।

सुदूरपश्चिम प्रदेशमा बालबालिकाको पोषण अवस्थामा केही सकारात्मक सुधार देखिए पनि कुपोषणको समस्या अझै चुनौतीपूर्ण रहेको सरकारी तथ्यांकले देखाएको छ । पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपनको दर राष्ट्रिय औसतभन्दा कम भए पनि ख्याउटेपन र मोटोपनको दर राष्ट्रिय औसतभन्दा बढी छ । त्यस्तै, ६ देखि २३ महिनासम्मका बालबालिकाले न्यूनतम आहार विविधता प्राप्त गर्ने अवस्था पनि राष्ट्रिय औसतभन्दा कमजोर छ ।

प्रदेश नीति तथा योजना आयोग, सुदूरपश्चिम प्रदेशले सार्वजनिक गरेको बहुक्षेत्रीय पोषण कार्यक्रमसम्बन्धी तथ्यपत्रअनुसार प्रदेशमा पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपनको दर २४.१ प्रतिशत छ । नेपालभर यस्तो दर २६.२ प्रतिशत रहेको छ । राष्ट्रिय औसतभन्दा प्रदेशको अवस्था २.१ प्रतिशत विन्दुले राम्रो देखिए पनि प्रत्येक चारमध्ये झन्डै एक बालबालिका पुड्कोपनको समस्याबाट प्रभावित हुनु सामान्य अवस्था होइन ।

पुड्कोपन कम हुनु सकारात्मक संकेत भए पनि ख्याउटेपन र मोटोपनको अवस्था भने चिन्ताजनक छ । तथ्यांकअनुसार सुदूरपश्चिममा पाँच वर्षमुनिका बालबालिकामा ख्याउटेपनको दर ८ प्रतिशत छ । जबकि राष्ट्रिय औसत ६.६ प्रतिशत मात्रै छ । यसरी प्रदेशको अवस्था राष्ट्रिय औसतभन्दा १.४ प्रतिशत विन्दुले खराब देखिन्छ । त्यस्तै, बालबालिकामा मोटोपनको दर पनि प्रदेशमा ३.१ प्रतिशत पुगेको छ । राष्ट्रिय औसत २.१ प्रतिशत रहेको अवस्थामा सुदूरपश्चिममा मोटोपनको समस्या एक प्रतिशत विन्दुले बढी देखिएको हो ।

यसले प्रदेशमा कुपोषणको समस्या केवल खाना नपुग्ने अवस्थासँग मात्र सम्बन्धित नभई असन्तुलित खानपान र पोषणसम्बन्धी व्यवहारसँग समेत जोडिएको देखाउँछ ।प्रदेशमा एकातिर बालबालिकाले आवश्यक पोषण नपाउँदा ख्याउटेपनको समस्या छ भने अर्कोतिर अस्वस्थ तथा असन्तुलित खानपानका कारण मोटोपनको जोखिम पनि देखिएको छ । अर्थात्, कुपोषणको पुरानो स्वरूपसँगै नयाँ प्रकृतिको पोषण समस्या पनि थपिँदै गएको तथ्यांकले संकेत गरेको छ ।

राष्ट्रिय बहुसूचक सर्वेक्षण सन् २०२४–०२५ (एनएमआईसीएस)मा आधारित तथ्यांकले सुदूरपश्चिमको पोषण अवस्थालाई मिश्रित रूपमा प्रस्तुत गरेको छ । तथ्यांकले पुड्कोपन र जन्मेको एक घण्टाभित्र स्तनपान गराउने सूचकमा प्रदेशको अवस्था राष्ट्रिय औसतभन्दा राम्रो देखाए पनि अन्य केही महत्वपूर्ण सूचकमा सुधार आवश्यक रहेको देखाउँछ । विशेषगरी, जन्मेको एक घण्टाभित्र स्तनपान गराउने दर प्रदेशमा ५७.५ प्रतिशत छ ।

राष्ट्रिय औसत ३८.४ प्रतिशत रहेको अवस्थामा प्रदेशको उपलब्धि १९.१ प्रतिशत विन्दुले बढी छ । यो प्रदेशका लागि सकारात्मक उपलब्धि हो । तर, स्तनपानको सुरुआत राम्रो हुनु मात्रै पर्याप्त हुँदैन । शिशुलाई आवश्यक अवधिसम्म स्तनपान गराउने, उमेरअनुसार पूरक खाना खुवाउने र खानामा पोषणका विभिन्न समूह समावेश गर्ने अभ्यास पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

तथ्यांकअनुसार ६ देखि २३ महिनासम्मका बालबालिकामा न्यूनतम आहार विविधता प्राप्त गर्ने दर ४९.८ प्रतिशत मात्रै छ । राष्ट्रिय औसत ५१.५ प्रतिशत रहेको अवस्थामा प्रदेश १.७ प्रतिशत विन्दुले पछाडि छ । प्रदेशका आधाभन्दा बढी बालबालिकाले उमेरअनुसार आवश्यक खाद्य विविधता प्राप्त गरिरहेको अवस्था सुनिश्चित हुन सकेको छैन । बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि आवश्यक पोषणयुक्त खानेकुराको विविधता महत्वपूर्ण हुने भएकाले यो सूचकलाई सामान्य रूपमा लिन मिल्दैन ।

कार्यक्रमको पहुँच व्यापक, कार्यान्वयन र नतिजामा छैन सुधार

प्रदेशमा कुपोषण न्यूनीकरणका लागि बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालनमा छ । यस कार्यक्रमले स्वास्थ्य क्षेत्रलाई मात्र नभई कृषि, शिक्षा, खानेपानी, सरसफाइ, महिला तथा बालबालिकाको विकासलगायतका क्षेत्रलाई पोषणसँग जोड्ने अवधारणा राखेको छ । प्रदेश नीति तथा योजना आयोगको तथ्यपत्रअनुसार सुदूरपश्चिमका समुदायस्तरमा ६ हजार ७९ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालित छन् । त्यस्तै, ९५० वटा सार्वजनिक स्वास्थ्य सेवा केन्द्रका बाह्य सेवा क्लिनिकमार्फत मातृ, नवजात शिशु, शिशु तथा बाल स्वास्थ्य र पोषणसम्बन्धी सेवा प्रदान भइरहेको उल्लेख छ ।

यसका अतिरिक्त प्रदेशका सबै स्वास्थ्य संस्थामा बाह्य उपचारात्मक सेवा (ओटीसी) उपलब्ध रहेको तथ्यपत्रमा उल्लेख छ । गम्भीर तथा जटिल कुपोषण व्यवस्थापनका लागि प्रदेशमा चारवटा पोषण पुनःस्थापना केन्द्र सञ्चालनमा छन् । किशोरकिशोरीको स्वास्थ्य र पोषणसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्न १९२ वटा स्वास्थ्य संस्थाले किशोरकिशोरीमैत्री सेवा प्रदान गरिरहेको तथ्यांक छ । यी संरचनाले प्रदेशमा पोषणसम्बन्धी सेवा विस्तारका लागि आधार तयार भएको देखाउँछन् ।

तर सेवा केन्द्रको सङ्ख्या, स्वास्थ्यकर्मीको परिचालन र कार्यक्रमको पहुँच बढ्नुले मात्रै कुपोषण न्यूनीकरण भएको प्रमाणित गर्दैन । त्यसका लागि लक्षित समुदायले वास्तविक रूपमा कस्तो सेवा पाए, पोषणसम्बन्धी व्यवहारमा कति परिवर्तन आयो र बालबालिकाको पोषण अवस्थामा कति सुधार भयो भन्ने परिणाम पनि महत्वपूर्ण हुन्छ ।

विशेषगरी, ६ देखि २३ महिनासम्मका बालबालिकामा आहार विविधताको अवस्था कमजोर रहनुले समुदायस्तरमा पोषण शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाउँछ । बहुक्षेत्रीय पोषण कार्यक्रमको कार्यान्वयनका लागि प्रदेशका ७२ स्थानीय तहमा ६९ जना बहुक्षेत्रीय पोषण सहजकर्ता परिचालित रहेको तथ्यपत्रमा उल्लेख छ ।

स्थानीय तहमा पोषण कार्यक्रमको समन्वय, सहजीकरण र कार्यान्वयनमा सहजकर्ताको भूमिका महत्वपूर्ण हुन्छ । तर ७२ स्थानीय तहमा कार्यक्रम सञ्चालनको जिम्मेवारी रहेको अवस्थामा ६९ जना मात्रै सहजकर्ता सक्रिय हुनु जनशक्ति व्यवस्थापनको दृष्टिले पनि ध्यान दिनुपर्ने विषय हो । तथ्यपत्रको कार्यान्वयन अवस्थासम्बन्धी विवरणमा ४० स्थानीय तहलाई लक्षित गरिएको देखाइएको छ । त्यसमध्ये ३५ स्थानीय तहमा पोषण सहजकर्तासहित नियमित कार्यक्रम र १६ स्थानीय तहमा सहजकर्ताविना नियमित कार्यक्रम सञ्चालन भइरहेको उल्लेख छ ।

तर, लक्षित स्थानीय तहको सङ्ख्या ४० र नियमित कार्यक्रम सञ्चालन भइरहेका स्थानीय तहको विवरण ३५ तथा १६ गरी फरक देखिएकाले यी समूहबीचको सम्बन्ध र कार्यक्रमको वास्तविक भौगोलिक विस्तार स्पष्ट पार्नुपर्ने देखिन्छ । कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्दा कति स्थानीय तहमा कार्यक्रम पुग्यो भन्ने सङ्ख्याभन्दा पनि ती स्थानीय तहमा कस्ता गतिविधि सञ्चालन भए, कति परिवार लाभान्वित भए र पोषणसम्बन्धी सूचकमा कस्तो परिवर्तन आयो भन्ने विषयलाई प्राथमिकता दिनुपर्छ ।

बजेट खर्च ६६ प्रतिशत

बहुक्षेत्रीय पोषण कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष बजेट कार्यान्वयन हो । प्रदेश नीति तथा योजना आयोगको तथ्यपत्रअनुसार आर्थिक वर्ष २०८२–८३ मा स्थानीय तहका लागि संघीय ससर्त अनुदानअन्तर्गत १९ करोड ७ लाख रूपैयाँँ विनियोजन गरिएको थियो । त्यसमध्ये १४ करोड ६१ लाख ८० हजार रूपैयाँँ बजेट निकासा भएको देखिन्छ । तर खर्च भने १२ करोड ६६ लाख ४० हजार रूपैयाँँ मात्रै भएको छ । तथ्यांकअनुसार विनियोजित बजेटमध्ये करिब ६६.४ प्रतिशत मात्रै खर्च भएको छ । निकासा भएको बजेटमध्ये भने करिब ८६.६ प्रतिशत खर्च भएको देखिन्छ । पोषणजस्तो प्रत्यक्ष रूपमा आमा र बालबालिकाको स्वास्थ्यसँग जोडिएको कार्यक्रममा विनियोजित बजेटको करिब एकतिहाइ खर्च हुन नसक्नुले बजेट कार्यान्वयनको प्रभावकारितामाथि प्रश्न उठाउँछ ।

एक हजार दिनका आमालाई अनुदान

बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२–०८३ मा एक हजार सुनौला दिनका कूल एक हजार ७६२ जना आमाले आयआर्जन अनुदान प्राप्त गरी पोषण उद्यमशीलता सुरु गरेको तथ्यपत्रमा उल्लेख छ । गर्भावस्थादेखि बच्चा दुई वर्ष पुग्दासम्मको अवधिलाई एक हजार सुनौला दिनका रूपमा लिइन्छ । यो अवधिमा आमा र बालबालिकाको पोषणमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

कार्यक्रमले आमालाई अनुदान उपलब्ध गराएर आयआर्जनसँग जोड्ने प्रयास गरेको देखिन्छ । परिवारको आर्थिक अवस्था र खाद्य उपलब्धतामा सुधार ल्याउन यस्ता कार्यक्रम उपयोगी हुन सक्छन् । तर, अनुदान प्राप्त गरेका एक हजार ७६२ आमामध्ये कति जनाको उद्यम दिगो भयो, कति आम्दानी वृद्धि भयो र त्यसले परिवारको पोषण अवस्थामा कस्तो प्रभाव पा¥यो भन्ने विवरण तथ्यपत्रमा खुलाइएको छैन ।

अनुदान वितरणलाई मात्रै उपलब्धि मानेर कार्यक्रमको सफलता मूल्यांकन गर्नुभन्दा लाभग्राहीको आर्थिक तथा पोषणसम्बन्धी अवस्थामा आएको परिवर्तन मापन गर्नुपर्ने आवश्यकता छ । प्रदेशस्तरमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सचिवालय प्रदेश नीति तथा योजना आयोगमा सक्रिय रहेको तथ्यपत्रमा उल्लेख छ । बहुक्षेत्रीय पोषण कार्यक्रमको अवधारणा नै विभिन्न क्षेत्रबीच समन्वयमा आधारित भएकाले यस्तो समितिको भूमिका महत्वपूर्ण हुन्छ । स्वास्थ्य क्षेत्रले मात्रै कुपोषण न्यूनीकरण गर्न नसक्ने भएकाले कृषि उत्पादन, खाद्य पहुँच, सरसफाइ, खानेपानी, शिक्षा र सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने हुन्छ ।

तथापि, समिति सक्रिय रहेको उल्लेख हुनु र त्यसले प्रभावकारी रूपमा काम गरेको प्रमाणित हुनु फरक विषय हुन् । समितिका बैठक, निर्णय तथा निर्णय स्थानीय तहसम्म कार्यान्वयन भए नभएको विश्लेषण छैन् । तथ्यपत्रमा अमरगढी नगरपालिका, डडेल्धुरा वडा नम्बर १ तथा साँफेबगर नगरपालिका, अछामका वडा नम्बर १ र ६ लाई पोषण तथा खाद्य सुरक्षासम्बन्धी सूचकमा प्रगति हासिल गरेको स्थानीय तह तथा वडाका रूपमा उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर १२ गते शुक्रबार