न्याय नपाएको भन्दै बाँके प्रहरीको गेटमै आत्मदाहको प्रयास



आफ्नी ६ महिनाकी गर्भवती श्रीमतीलाई कुटपिट गर्ने र कुटपिट गर्न उक्साउनेलाई पक्राउ गरेर कारबाही गर्न बाँके प्रहरीले ढिलाइ गरेपछि ती पुरुषले जिल्ला प्रहरी कार्यालय बाँकेको गेटमा आफैँमाथि प्रज्वलनशील पदार्थ छर्केर आत्मदाहको प्रयास गरेका हुन् । गर्भवती महिलालाई कुटपिट गरिरहेको दृश्यसमेत सीसीटीभी क्यामेरामा कैद भएको छ । प्रहरी भने अनुसन्धानको आफ्नै प्रक्रिया हुने भन्दै पन्छिरहेको छ ।वीरेन्द्र जैसी । नेपालगन्ज ।

पुस ८ गते नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालय बाँकेको गेटमा एक जना पुरुषले आफैँमाथि प्रज्वलनशील पदार्थ छर्केर आत्मदाहको प्रयास गरे । कार्यालयको गेटमा ड्युटीमा बसेका प्रहरीहरूले समयमै उनलाई नियन्त्रणमा लिएपछि उनको ज्यान जोगियो र एक भयानक दुर्घटना हुन पाएन । त्यसो गर्न खोज्ने व्यक्ति उक्त घटनापछाडिको कारण आफूले जाहेरी दिएका व्यक्तिलाई प्रहरीले पक्राउ नगरी उन्मुक्ति दिनु रहेको बताउँछन् ।

मंसिर २० गते नेपालगन्ज उपमहानगरपालिका–२२ का बिर्ता गाउँका ती व्यक्ति (वाजिद अलि शेष)की ६ महिनाकी गर्भवती श्रीमती आशियामाथि स्थानीय केही महिलाहरूले कुटपिट गरे । आशियालाई आफूमाथि किन कुटपिट भइरहेको छ भन्ने पनि थाहा थिएन । पसलमा बसेको बेला एक्कासि केही महिलाहरू आएर हात तथा झाडुले हिर्काउन थाले । आशियामाथि कुटपिट भइरहेको दृश्य सीसीटीभी क्यामेरामा समेत कैद भएको छ ।

त्यसरी कुटपिट गर्न उक्साउने व्यक्ति वाजिदका काकासँग लेनदेनको विवाद भएका एक जना सोही ठाउँकै व्यक्ति भएको वाजिदको आरोप छ । काकाको एक जना व्यक्तिसँग उधारो लेनदेनको विवादका सन्दर्भमा वडा प्रहरी कार्यालय नेपालगन्जमा गएको बेला आफ्नो श्रीमतीमाथि कुटपिट भएको उनले बताए । उनी भन्छन्, ‘त्यो मान्छे (काकासँग विवाद भएको) कुटपिट भइरहेको बेला त्यहीँ रहेको भिडियोमै देखिन्छ । मेरो विरुद्धमा तेरो श्रीमान किन पुलिसमा गएको ? भनेर आफ्ना आफन्त महिलाहरूलाई ल्याएर पिट्न लगाएको रहेछ ।’

उक्त घटनापछि वाजिदले गर्भवती रहेकी श्रीमतीलाई तत्काल नेपालगन्ज मेडिकल कलेजमा लगेर गए । मंसिर २१ गते उनले वडा प्रहरी कार्यालय नेपालगन्जमा आफ्नी श्रीमतीमाथि कुटपिट भएको भन्दै निवेदन दिए । वडा प्रहरी कार्यालयबाट प्रहरी २२ गते गाउँमा पुगेर कुटपिटमा संलग्न भएको भिडियोमा देखिएका पाँच जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाए पनि एक जना लल्लन भनिने आविद खान नाम गरेका व्यक्ति प्रहरीमा पुगेर सबैलाई छुटाइदिएको वाजिद र उनका छिमेकी वाहिद खान बताउँछन् । ती व्यक्ति एक जना नेताको नजिकको मानिस भएको उनीहरूको आरोप छ ।

त्यसपछि दिनहुँ जिल्ला प्रहरी कार्यालय बाँकेमा गएर जाहेरी दर्ता गर्न आग्रह गरेको र सुनुवाइ नभएको वाजिद र उनका साथीहरू बताउँछन् । आफूहरूले कुटपिटमा संलग्न ६ जनाको नाममा जाहेरी दिन खोजे पनि प्रहरी अधिकारीहरूले तीन जनाको नाममा मात्रै जाहेरी दिन भनेर दर्ता गर्न नमानेको उनीहरूको भनाइ छ । २० गते भएको घटनाका सम्बन्धमा मंसिर २ गते मात्रै जाहेरी दर्ता भयो, त्यो पनि अभद्र व्यवहारको कसुरमा ।

जाहेरी दर्ता गरिसकेपछि आफूले आरोपितहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न ताकेता गर्न थालेको वाजिदले बताए । ‘म हरेक दिन जिल्ला प्रहरी कार्यालयमा गएर पक्राउ गर्नुप¥यो भनेर अनुरोध गर्थें, उहाँहरू भोलि भोलि भन्दै टार्दै जानुहुन्थ्यो । कुटपिट गर्नेहरू गाउँमै घुमेर हामीलाई उल्टै चिढ्याउँथे, धम्की दिन्थे कि देखिस् तैँले केही गर्न सकिनस् । हामीलाई नेताले जोगाइदिन्छ भनेर,’ वाजिदले भने, ‘उता पुलिसमा गयो भने कुरै नसुन्ने ।’

उनीहरूको लगातारको दबाबपछि पुस ८ गते प्रहरी कुटपिटमा संलग्न महिलालाई समात्न गाउँमा पुग्यो । महिला आरोपितलाई समात्न पुगेको प्रहरी टोलीमा महिला प्रहरी नै थिएनन् । प्रहरीले फेरि अर्काे टोली मगायो । तर, त्यसमा पनि महिला प्रहरी नरहेको वाहिद बताउँछन् । त्यसैबीचमा त्यहाँ एउटा भारतीय नम्बर प्लेटको गाडी आइपुग्यो । त्यसमा आएका व्यक्तिले पक्राउ गर्न खोजिएका व्यक्तिलाई आफूहरूले गाडीमा लगेर प्रहरीकहाँ पु¥याइदिने भन्न थालेको वाजिदको भनाइ छ । यसै विवादका बीच ती महिलाका बुबाको जिम्मा लगाएर १ घन्टामा जिल्ला प्रहरीमा हाजिर गराउनु भनेर प्रहरी हिँडेको वाजिदले बताए ।

प्रहरी हिँडेपछि आफू पनि जिल्ला प्रहरी कार्यालय पुगेको र ती महिलालाई ल्याउलान् भनी कुरिबसेको वाजिदको भनाइ छ । घन्टौँ कुर्दा पनि ती महिला प्रहरीकहाँ नल्याइएपछि प्रहरीलाई आफूले तुरुन्त झिकाउन अनुरोध गरेको र दबाब दिएको बताए ।

तर, प्रहरीले कुनै चासो नदेखाएपछि आफूलाई रिस र हिनताबोध एकैसाथ भएको वाजिदले बताए । त्यसपछि अप्रिय निर्णय लिन खोजेको उनको भनाइ छ । वाजिद नेपालगन्जबाट बेतहनी जाने बाटोकिनारमा घरमै किराना पसल चलाइरहेका छन् । उनी प्रहरीले आफूमाथि अन्याय गरेको र दोषीहरूलाई उम्काएर शक्तिशालीहरूको पक्षमा लागेको आरोप लगाउँछन् ।

यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की उक्त घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताउँछन् । अनुसन्धानमै रहेको बेला आरोपितलाई तुरुन्तै समात्नुपर्छ भनेर ती व्यक्तिको माग रहेको उनले बताए । एसपी कार्कीले प्रहरीले ती व्यक्तिलाई दुःख दिएको, मानसिक दबाब दिएको, कसैको प्रभावमा परेको आरोप अस्वीकार गरे ।

‘अनुसन्धानको आफ्नै प्रक्रिया हुन्छ । समय लाग्छ । त्यो कुरा नबुझेर कसैले आफैँलाई हानि पु¥याउन खोज्छ भने त्यसमा प्रहरीको के दोष हुन्छ र ?,’ एसपी कार्कीले मिसन टुडेसँग भने । उनले जाहेरी दिँदा पनि प्रमाणका आधारमा दिनुपर्नेमा मात्रै प्रहरीले सुझाव दिने गरेको बताए । ती व्यक्तिले आफैँलाई हानि पु¥याउन खोजेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर सम्झाइबुझाई गरी पठाएको उनले दाबी गरे । ‘आफैँलाई हानि पु¥याउनु पनि कसुर नै हो । त्यसकारण केही काम भएन भन्दैमा आफैँलाई हानि पु¥याउन खोज्नु आफैँमा गलत काम हो,’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस ११ गते बिहीबार