बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा ढकेरीको बच्चापुर, बाघसाल मध्यवर्ती सामुदायिक वनक्षेत्र, आँपखोली मध्यवर्ती सामुदायिक वनक्षेत्र, निकुञ्जको कोर एरिया जलसेनी, चौकाफाँटा, कालीखोला, तारादेवी मध्यवर्ती सामुदायिक वनक्षेत्र हुँदै १ नम्बर वनपथ भएर ओभरीस्थित रणबम गणको हेडक्वार्टरमा पुगेर समापन हुनेछ ।
बाँके ।
भोलि शनिबार गर्न लागिएको ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्राको तयारी पूरा भएको छ । बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक गर्न लागिएको ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्राको तयारी पूरा भएको हो ।
साइकल यात्राको आयोजना राँझास्थित नेपाली सेनाको श्री नम्बर ४ बाहिनी अड्डा इमामनगर ब्यारेक, बाँके राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्जको सुरक्षार्थ खटिएको रणबम गणले संयुक्त रूपमा गरेका हुन् । बिहीबार राँझास्थित श्री नम्बर ४ बाहिनी अड्डा इमामनगर ब्यारेकमा आयोजित पत्रकार सम्मेलनमा तयारी पूरा भएको जानकारी गराइएको थियो ।
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कँडेलले नेपालकै कान्छो निकुञ्जका रूपमा स्थापित बाँके निकुञ्जको पर्यापर्यटन प्रवद्र्र्धन गर्नका लागि साइकल यात्राको आयोजना गरिएको जानकारी दिए ।
‘नेपालकै कान्छो निकुञ्जका रूपमा स्थापित बाँके निकुञ्जको व्यापक प्रचारप्रसार गरेर यहाँको पर्यापर्यटनलाई संसारभर चिनाउनका लागि ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्राको आयोजना गरिएको हो,’ उनले भने, ‘यो कार्यक्रम निकै फलदायी हुने अपेक्षा गरेका छौँ, कार्यक्रममार्फत् व्यापक प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षणको केन्द्र बनाउनेछौँ ।’
निकुञ्जको पर्यापर्यटन र संरक्षणका लागि नेपाली सेना र निकुञ्ज कर्मचारी अस्थायी भएको भन्दै मुख्य रूपमा यहाँकै स्थानीयको सहभागिता महत्वपूर्ण रहने उनले बताए । ‘हामी त अस्थायी हौँ, यहाँको सम्पत्ति यहीँकै स्थानीयको हो, उहाँहरूको अग्रसरबिना यसलाई सफल बनाउन सकिँदैन, सबै सरोकारवाला पक्ष र स्थानीयको सहभागिता र संयुक्त प्रयासमा यसलाई सफल पार्न सकिन्छ,’ उनले अगाडि थपे ।
श्री नम्बर ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका प्रमुख सेनानी दीपक गुरुङले बाँके राष्ट्रिय निकुञ्जलाई साइकल यात्रामार्फत् व्यापक प्रचारप्रसार गरी देश विदेशसम्म त्यहाँको पर्यापर्यटनलाई उजागर गर्ने र प्रवद्र्धन गर्ने उद्देश्यले ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्राको आयोजना गरिएको जानकारी दिए ।
‘बाँके राष्ट्रिय निकुञ्ज हाम्रै जिल्लाभित्र छ, कताकता ओझेलमा परेको जस्तो अनुभव हुने गरेको छ, यही निकुञ्ज भएर हजारौँ पर्यटकहरू बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्छन्, निकुञ्जसँग जोडिएकै कोहलपुरमा सुविधासम्पन्न होटलहरू छन्, नेपालगन्जमा छन्, निकुञ्जको नजिकै राँझामा विमानस्थलसमेत अवस्थित छ,’ उनले भने, ‘प्रचुर मात्रामा सम्भावना बोकेको बाँके निकुञ्जलाई पर्यटन प्रवद्र्धन गरी संसारभर पुराउने र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यका साथ शनिबार बिहान ‘टुर दि बाँके नेशनल पार्क’ कार्यक्रमको आयोजना गरेका छौँ, यसको सम्पूर्ण तयारी पूरा भएको छ ।’
निकुञ्जको पर्यटनलाई प्रवद्र्धन गर्नका लागि र प्रमोशन गर्नका लागि ढकेरीस्थित बच्चापुरको हात्तीसारबाट साइकल यात्रा सुरु गरेर निकुञ्जभित्रको कोर एरिया हँदै १६ किलोमिटर दूरी पार गरेर रणबम गण हेडक्वार्टर ओभरी पुगेर समाप्त हुनेछ ।
बच्चापुर, बाघसाल मध्यवर्ती सामुदायिक वनक्षेत्र, आँपखोली मध्यवर्ती सामुदायिक वनक्षेत्र, निकुञ्जको कोर एरिया जलसेनी, चौकाफाँटा, कालीखोला, तारादेवी मध्यवर्ती सामुदायिक वनक्षेत्र हुँदै १ नम्बर वनपथ भएर ओभरीस्थित रणबम गणको हेडक्वार्टरमा पुगेर समापन हुने साइकल यात्राको सम्पूर्ण सुरक्षाको व्यवस्था मिलाइएको बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको रणबम गणका गणपति प्रमुख सेनानी प्रविन थापाले बताए ।
बाँके साइकल संघका अध्यक्ष गगन थापाले साइकल संघको समन्वयमा साइकल यात्रा हुन लागेको जानकारी दिए । ‘टुर दि बाँके नेशनल पार्क’मा महिलासमेत गरी ९० जना साइक्लिष्टको सहभागिता रहने पक्का भइसकेको उनले दाबी गरे । उनका अनुसार साइकल यात्रामा बाँके, बर्दिया, दाङ, सुर्खेत तथा बुटवलका साइक्लिस्टहरू सहभागी हुनेछन् ।
बिहीबार नै पत्रकार सम्मेलनमा बाँके निकुञ्जमा पाइने पाटेबाघ र अति दुर्लभ र संरक्षित जनावर चौकाको फोटो अंकित टिसर्ट सार्वजनिक गरिएको थियो । ‘टुर दि बाँके नेशनल पार्क’ कार्यक्रमले निकुञ्जको संरक्षण, वन्यजन्तु, चराचुरुंगी, ताल तलैया जलाशय, जडिबुटी, वनजंगल, बोटबिरुवालगायतको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको आयोजकहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्