कोहलपुर ।
बारम्बारको निर्देशनको अटेरी गर्ने प्रवृत्ति बढेपछि कोहलपुर नगर शिक्षा शाखाले भौतिक उपस्थितिमा अध्यापन सेवा सञ्चालन नगर्न अपील गरेको छ । आइतबार एक सूचना जारी गर्दै शिक्षा, युवा तथा खेलकुद शाखाले अध्यापन सेवा प्रदायक शैक्षिक संस्थाहरु( ट्युसन÷कोचिङ सेन्टर, तालिम केन्द्र र विद्यार्थी परामर्श केन्द्र) समेतलाई भौतिक उपस्थितिमा अध्यापन नगराउन भनेको हो ।
नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालद्धारा जारी सूचनामा कोभिड–१९ को दोस्रो लहरका कारण अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्र समेत प्रभावित भइरहेको सन्दर्भमा स्थानीय प्रशासनबाट निरन्तर रुपमा शैक्षिक संस्थाहरु हाललाई सञ्चालन नगर्ने आदेश जारी गरेको उल्लेख गरिएको छ ।
यस्तै गत असार २२ गते समेत शिक्षा शाखाबाट विद्यार्थीको भौतिक उपस्थितिमा ट्युसन÷कोचिङ सेन्टर, तालिम केन्द्र र विद्यार्थी परामर्श केन्द्र र परिक्षा तयारी कक्षामा पठनपाठन सञ्चालन नगर्न निर्देशन दिइएको स्मरण गराइएको हो । ‘निर्देशनको विद्यालय लगायतका केन्द्रहरुमा विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भइरहेको पाइएको छ ।
यसले गर्दा संक्रमण फैलन सक्ने खतरा बढेको जनगुनासो आइरहेको छ ।’ सूचनामा भनिएको छ । यस्तै अवस्थामा अध्यापन कार्य सञ्चालन नगर्ने बारेमा स्थानीय प्रशासनबाट आदेश जारी भएको अवधिमा भौतिक उपस्थितिमा अध्यापन नगर्न÷नराउन अनुरोध समेत गरिएको छ । जारी आदेशको विपरित हुनेगरी विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन भएको पाइएमा संस्था जवाफदेही आफै हुनुपर्ने बताइएको छ । यस्तै नियम अनुसार कारबाही समेत गरिने उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्