कैलाली ।
दार्चुलाको मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप दुर्घटनामा हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर जिप चालकसहित अन्य ५ जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा म१ज ३३८ नम्बरको जिप दुर्घटना भएको थियो ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शुक्रबार बिहान ४ बजेतिर दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजिव बस्नेतले जानकारी दिए । उनका अनुसार ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको जानकारी दिए । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ नक्तडका ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल रहेका छन् ।
त्यस्तै, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का ५० वर्षीय वीरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय सुजिव बोहरा, उत्तर प्रदेश भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिलको मृत्यु भएको दार्जुला प्रहरीले जनाएको छ ।
जिप चालक मालिकार्जुन–८ पस्तीका सुनिल जोशीको टाउकोमा गम्भीर चोट छ । अन्य घाइतेमा २२ वर्षीय प्रकाश रावल, डिलाशैनी–५ का उत्तम रोकाया, शैल्यशिखर लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह रहेका छन् ।
घाइतेहरूलाई शुक्रबार नै हेलिकोप्टरले उपचारका लागि धनगढी ल्याएको थियो । उनीहरू सबैको धनगढीमा उपचार भइरहेको छ । जिप सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्