दुई देशका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक



कैलाली ।

नेपालीहरूको महान् चाडबाड दसैँ तिहार लक्षित सुरक्षाका लागि कैलाली र कन्चनपुरका सशस्त्र प्रहरीका अधिकारी र भारत एसएसबीका अधिकारीहरू बीच समन्वयात्मक बैठक भएको छ ।

भारतको गौरीफन्टामा समन्वयात्मक बैठक सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दलबहादुर पाण्डेले जानकारी दिए ।

उनका अनुसार बैठकमा दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजनाका विषयमा छलफल भएको थियो । एसपी पाण्डेका अनुसार बैठकमा दुबै देशको सुरक्षाको अवस्थाबारे खबर आदान प्रदान समेत गरिएको छ ।

सीमा क्षेत्रमा संयुक्त गस्ती गर्ने, दशगजा अतिक्रमण हुन नदिने र सीमा स्तम्भहरूको सुरक्षा गर्ने, आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने, सामान, हातहतियार, लागूऔषध ओसारपसार तथा मानव तस्करी नियन्त्रण गर्ने विषयमा बैठकमा छलफल भएको उनले जानकारी दिए ।

बैठकमा सशस्त्र प्रहरी बल नम्बर ३४ गण कैलालीका गणपती दलबहादुर पाण्डे, ३५ नम्बर गण कन्चनपुरका गणपती खगेन्द्रबहादुर चन्द, भारतीय सशस्त्र सीमा बल (एसएसबी) ३९ औँ बटालियनका डिपुटी कमाण्डेन्ट विजयेन्द्र कुमार, गौरीफन्टा, फूलवारी, डोकेबजारका सशस्त्र प्रहरीका पोस्ट इञ्चार्जहरू, भारतीय प्रहरीका गौरीफन्टा कोतवाली र प्रहरी पोस्टका इञ्चार्जहरूको सहभागिता थियो ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मंगलबार