कुदु दुर्घटनाका १ जना घाइतेको मृत्यु



जाजरकोट ।

गत सोमबार जाजरकोट कुदुमा भएको गाडी दुर्घटनामा गम्भीर घाइते भएकामध्ये १ जनाको मृत्यु भएको छ । भेरी नगरपालिका–७ स्याउली बजारबाट नेपालगन्ज जाँदै गरेको १८९२ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते भएका भेरी नगरपालिका–५ का ६६ वर्षीय धर्म चन्दको मृत्यु भएको हो ।

सुर्खेतबाट थप उपचारका लागि नेपालगन्ज लाने क्रममा उनको बाँकेको चिसापानी नजिक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार मृतक चन्द दुर्घटनामा परेको गाडी चालकका बुबा हुन् ।

उक्त दुर्घटनामा २५ जना घाइते भएका थिए । घाइते १५ जनालाई हेलिकोप्टर र गाडीमार्फत थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । गाडी दैलेख जाने मध्यपहाडी राजमार्गअन्तर्गत कुदुको जिरो प्वाइट नजिक सडकबाट करिब ५० मिटर तल खसेको जाजरकोट प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २९ गते बिहीबार