सात वर्षदेखि नेपालगन्ज रंगशालामा खेल्न नदिएको भन्दै विरोध



बाँके ।

नेपालगन्ज रंगशालामा सात वर्षदेखि खेलाडीहरूलाई खेल्न नदिएपछि त्यसको विरोध सुरु भएको छ । सात वर्षयता रंगशालामा पूर्वाधार निर्माण भैरहेको छ भन्दै खेलाडीलाई खेल्न रोक लगाइएको छ । नेपालगन्ज रंगशालामा खेलाडीले खेल्न नपाएको भन्दै बाँके जिल्ला फुटबल संघले विरोध सुरु गरेको हो ।

संघले बुधबार सरोकारवाला निकायलाई यसका बारेमा ध्यानाकर्षण गराएको थियो । संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँकेलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो ।

अध्यक्ष शाहीले प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई खेलाडीको खेल्ने अधिकार सुनिश्चित गरिदिनका लागि अपिल गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । रंगशालामा सात वर्षदेखि खेलाडीहरूले प्रशिक्षण गर्न पाएका छैनन् । खेलाडीले लामो समयदेखि रंगशालामा खेल्न नपाएपछि त्यसको विरोध हुँदै आएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को मातहतमा रहेको रंगशालामा प्रशिक्षण र खेलकुदका गतिविधि गर्न नपाएको भन्दै त्यसको विरोध हुँदै आए पनि त्यसको सुनुवाइ हुनसकेको छैन् ।

निःशुल्क रूपमा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम आयोजना गर्नका लागि संघले मैदान मागेको थियो । तर संघले मैदान नपाएपछि विरोधमा उत्रिएको छ । संघले यु–१२ ग्रासरुट फुटबल प्रशिक्षणका लागि नेपालगन्जस्थित मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशलाई नेपालगन्ज रंगशालाको मैदान उपलब्ध गराउन अनुरोध गरेको थियो । तर समितिले मैदान अहिले दिन नमिल्ने भन्दै फर्काएपछि विवाद सुरु भएको हो ।

अध्यक्ष शाहीले खेल र खेलाडीको हितमा काम गर्ने निकायले खेलकुदका गतिविधिहरूलाई निरुत्साहित गरेको आरोप लगाए । ‘नेपालगन्ज रंगशाला निर्माणमा राज्यले अर्बौ रकम खर्च गरेको छ । आज सात वर्ष भयो खेलाडीले यहाँ खेल्न पाएका छैनन् । यति धेरै रकम खर्च गरेर बनाएको रंगशालामा खेलाडीले खेल्न पाउँदैनन् भने त्यो पूर्वाधारको के काम,’ उनले भने ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले राखेपसँग अनुमति लिएर फुटबल मैदान दिन मिल्ने वा नमिल्ने बारेमा जवाफ दिने बताए । ‘हामीले फुटबल मैदान नदिन मिल्दैन । तर यहाँ केही प्राविधिक रूपमा काम भइरहेको छ । त्यसको बारेमा हामीले राखेपसँग अनुमति लिनु पर्छ,’ उनले भने ।

प्रकाशित मिति : २०८१ असोज १० गते बिहीबार