
लमही ।
नर्ती मगर समाजले भैलो खेलेर संकलन भएको रकमबाट सुविधासम्पन्न सभाहल निर्माण गर्ने भएको छ । यो वर्ष समाजले ३ लाख २८ हजार २ सय ५० रुपैयाँ संकलन गरेको छ । समाजले अघिल्लो वर्षसम्म १० लाख २६ हजार ६ सय ४७ रुपैयाँ संकलन गरेर बचत गरेको थियो ।
भैलो कार्यक्रममा सबैभन्दा बढी आर्थिक दान दिने व्यक्तिहरूलाई समाजले एक कार्यक्रमको आयोजना गरी सम्मानसमेत गरेको छ । लमही नगरपालिका–१ नर्ती हाल युके बस्दै आएका शालिकराम पुनमगरबाट १ लाख ५ रुपैयाँ, राप्ती गाउँपालिका–२ लालमटिया घर भई हाल युके बस्दै आएका केहरसिंह पुनमगरबाट १८ हजार १० रुपैयाँ दान दिएका थिए ।
समाजका संस्थापक सदस्य स्वर्गीय मीनबहादुर मगरले सुरुवात गरेको भैलो र अन्य कार्यमा अतुलनीय योगदान गरेको भन्दै उनकी धर्मपत्नी अमृता वयक मगरलाई सम्मान गरिएको समाजका कोषाध्यक्ष दलबहादुर पुनमगरले जानकारी दिए ।
समाजले हरेक तिहारका समयमा भैलो खेल्दै आएको छ । देउसी भैलोबाट संकलित ४० प्रतिशत रकम विविध शीर्षकमा खर्चिने र ६० प्रतिशत रकम सामाजिक काममा लगाउँदै आएको छ ।
हालसम्म जम्मा भएको रकम सार्वजनिक गर्दै लमही नगरपालिका–१ नर्तीमा सुविधासम्पन्न सभा हल निर्माण गरिने समाजले जनएको छ । खर्च कटाएर अहिले समाजको कोषमा १२ लाख ३० हजार बचत रहेको कोषाध्यक्ष दलबहादुर पुनले जानकारी दिए । ‘यति रकमले त पुग्दैन,’ कोषाध्यक्ष दलबहादुरले भने, ‘तर हामीले सहयोगी दाताहरूलाई सहयोगका लागि अनुरोध गरेका छौँ ।’
भैलोको रकमबाट शिक्षकलाई तलब
कैलाली ।
बाजुराको उत्तरपूर्वी भेगमा रहेको बुढीनन्दा नगरपालिकास्थित एक विद्यालयले शिक्षकलाई तलबको व्यवस्था गर्न देउसीभैलो खेलेर रकम जुटाएको छ ।
विद्यालयको आयस्रोत न्यून भएको र नीजि स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलब दिन देउसी भैलोबाट एक लाख संकलन गरिएको पञ्चलक्ष्मी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर बोगटीले बताए ।
रकम विद्यालयको खातामा दाखिला गरिएको उनले जानकारी दिए । विद्यालयका अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले हरेक वर्ष देउसीभैलो र प्रत्येक घरमा मासिक रुपमा सहयोग मागेर निजी स्रोतका शिक्षकलाई तलबको व्यवस्था हुँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्