सम्पादकीय : अनिवार्य पीसीआर गरौं



बाँकेका आठवटै स्थानीय तहमा कोरोना संक्रमण फैलिसकेको छ । गत बुधबार कोहलपुर नगरपालिकामा एकैदिन तीन जनामा कोरोना संक्रमण देखिएसँगै यहाँका सबै पालिकामा कोरोना संक्रमण पुष्टि भयो । जिल्लामा कोरोना संक्रमणबाट सबैभन्दा बढि प्रभावित भएको नरैनापुर गाउँपालिकामा संक्रमण शुन्य भइसकेको छ । त्यहाँका संक्रमितहरु सबैजना उपचार पश्चात घर फर्किसकेका छन् । अन्य पालिकामा भने पछिल्लो केहीदिनयता दिनहँु जसो कोरोना भाइरस संक्रमण देखिएको छ ।

यहाँको कोरोना संक्रमण फैलिदो अवस्थामा रहेको छ । अर्कातिर प्रत्येक दिन ठूलो संख्यामा कोरोना संक्रमित निको भएर फर्किरहेका छन् । यसले केही भएपनि कोरोना कहरका बिच आशाका किरण समेत देखाउँछ । कोहलपुर नगरपालिकाको हकमा भर्खर कोरोना संक्रमण देखिन थालेकोले अबको केही समय गम्भिर रुपमा परीक्षणमा तिव्रता दिनतर्फ लाग्नुपर्छ । यसको लागि नगरपालिकाले ढिलो गर्नुहुँदैन । यहाँ एउटा मात्र आइसोलेसन सेन्टर रहेको छ । कुल १७ वटा क्वारेन्टिन रहेका छन् । भने सात सयको हाराहारीमा नागरिक त्यहाँ बसिरहेका छन् ।  उनीहरु सबै कोरोनाका कारण रोजगारी गुमेपछि भारतबाट आएका हुन् । उनीहरुको अनिवार्य स्वास्थ्य परीक्षण गर्नु पर्ने बाध्ता रहेको स्थानीय सरकारलाई छ । नगरपालिकाको तयारी हेर्दा आरडीटी जाँचलाई नै तिव्रता दिइएको छ । यो विधि कोरोना संक्रमण रोक्ने भरपर्दो माध्यम नभएको भन्दै व्यापक विरोध समेत भइरहेको छ । देशभर आरडीटी परीक्षण बन्द गर्नुपर्ने माग भइरहेको छ । तर सीसीएमसीले देशभर आरडीटी रिपोर्ट नेगेटिभ आएमा घर पठाउन स्थानीय सरकारलाई निर्देशन दिएको छ ।

सोही अनुसार देशभरका स्थानीय सरकारले पनि आरडीटी परीक्षणलाई नै प्राथमिकतामा राखेका छन् । कोहलपुरमा अझ् पीसीआर परीक्षण गर्नुको साटो आरडीटी जाँच गरेकै भरमा क्वारेन्टिनबाट मानिसहरुलाई घर पठाइदैंछ । पछिल्लो उदाहरण भनेको कर्णाली प्रदेशको दैलेखमा आरडीटी गरेर घर पठाएका नागरिकमा ठूलो संख्यामा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यसैले कोरोना कहर रोक्नको लागि अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनुको विकल्प नै छैन । त्यसैले आरटीडी होइन पीसीआर परीक्षण बढाउन तर्फ लागौं । तर सरकार पनि पीसीआरको साटो आरडीटीलाई नै ध्यान राखेर काम गरिएको छ । यसो गर्दा कुनै बेला पनि कोहलपुरमा कोरोना संक्रमणले भयानक रुप लिनसक्छ । कोहलपुरमा रहेका क्वारेन्टिनमा रहेका नागरीकहरुलाई बरु केही दिन नै कुरेर भएपनि पीसीआर परीक्षण गरेरै घर पठाउने वातारण सम्बन्धित निकायले गराउन जरुरी देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३२ गते आइतबार