जस्तो हुने हो त्यस्तैसँग सङ्गत गर्ने कि ?



सङ्गतले मानिसको व्यक्तिगत जीवनमा ठूलो र महत्त्वपूर्ण प्रभाव पार्ने गर्दछ । त्यसैले पनि भोलि कस्तो हुने भन्ने बारेमा लक्ष्य निर्धारण गरेपछि सङ्गत पनि त्यही लक्ष्यलाई पूरा गर्न योगदान गर्ने किसिमले छनोट गर्नुपर्दछ । लक्ष्य एउटा लिने सङ्गत अर्कैसँग गर्ने बानीले तोकिएको लक्ष्यमा कहिल्यै पनि पुग्न सकिँदैन ।

जीतबहादुर शाह ।

सामाजिक सञ्जालमा भेटाएको थिएँ– वैज्ञानिकहरूका पनि वैज्ञानिक भनेर चिनिने अल्बर्ट आइन्स्टाइनलाई उनले गरेका आविष्कारहरूको बारेमा उनकै मुखारविन्दमा सुन्नका लागि विभिन्न संघसंस्था र मानिसहरूले विभिन्न स्थानमा आमन्त्रण गर्थे र विभिन्न स्थानहरूमा बोल्ने अवसर प्रदान गर्थे ।

कतिपय अवस्थामा त त्यस्तो स्थानमा आइन्स्टाइन पुग्थे, जहाँ आइन्स्टाइनलाई कसैले देखेकै र चिनेकै हँुदैनथे । यसरी उनी विभिन्न स्थानहरूमा जाने क्रममा उनको साथमा उनको गाडी चलाउने चालक हुन्थे । चालकले सधैँ आइन्स्टाइनका कुराहरू सुन्ने गर्थे । सुन्दासुन्दा चालक यस्तो भइसकेका थिए कि आइन्स्टाइनले बोल्ने सबै कुरा उनलाई थाहा भइसकेको हुन्थ्योे ।

एकपटक कुनै स्थानमा बोल्न जाने क्रममा चालकले आइस्टाइनलाई अनुरोध गरेछन्– ‘त्यो स्थानमा हजुरलाई आइन्स्टाइन भनेर कसैले चिनेका छैनन् । त्यसैले त्यो स्थानमा म नै आइन्स्टाइन हुँ भनेर हजुरले गर्ने भाषण म नै गर्छु । मेरो पनि क्षमता हेर्नु न हजुरले ? आइन्स्टाइनले अचम्म मान्दै साँच्चि सक्छौ त भन्दा उनले आत्मविश्वासका साथ सक्छु भनेछन् ।

चालकको आत्मविश्वास देखेर आइन्स्टाइन मञ्जुर भए र स्वीकृति दिए । कार्यक्रममा आइन्स्टाइनको नाम बोलाउँदा चालक गएर आसन ग्रहण गरे र भाषण पनि उनैले गरे । आइन्स्टाइनले ध्यान दिएर सुने । केही पनि नबिगारेर हुबहु भाषण गरेको देखेर आइन्स्टाइन चालकप्रति खुसी भए र अचम्भित पनि । अन्त्यमा, हिँड्ने बेलामा एक जना पत्रकारले चालकलाई सोधेछन्, मैले पत्रिकामा सङ्क्षेपमा लेख्नुपर्छ । त्यसैले हजुरले अघि बोलेको भाषणको सारसङ्क्षेप मात्रै भनिदिनु न ?

त्यतिबेला चलाखी गरेर चालकले आइन्स्टाइनलाई देखाउँदै भनेछन्– त्यो त मेरो चालकलाई पनि थाहा छ, उहाँलाई सोध्नुस् भनेर आफू पन्छिएछन् । चालकको चलाखी देखेर आइन्स्टाइन झनै खुसी भएछन् ।

माथिको दृष्टान्तबाट प्रमाणित हुन्छ कि जतिसुकै जटिल, गाह्रो र असजिलो कामसँग पनि हरेक दिन साक्षात्कार हुने हो भने सजिलो लाग्दै जान्छ । गाडीको सहचालकले गाडी चालकले गरेका क्रियाकलापहरू हेरेर गाडी चलाउन आँट गरेजस्तै सङ्गतले मानिसलाई आँटिलो बनाउने गर्छ । आफूले सङ्गत र बसउठ गरिरहेको मान्छे आफूलाई जति सजिलो र सहज लाग्छ, उसले गरेको काम पनि त्यस्तै सजिलो लाग्ने गर्दछ ।

जसरी विवाह गर्दा उसका राम्रा कुराहरूसँग मात्र होइन कि राम्रा नराम्रा सबै कुराहरूसँग विवाह गरिन्छ, त्यसरी नै सङ्गत गर्दा पनि व्यक्तिसँग मात्र सङ्गत नगरी उसले गरिरहेको राम्रा नराम्रा कामसँग पनि सङ्गत गरिन्छ । यसकारण आफूले सङ्गत गरिएको व्यक्ति राम्रो प¥यो वा उसले गर्ने कामहरू गतिला परे भने आफूले पनि राम्रा र गतिला कामहरू गर्ने सम्भावना स्वभावैले बढ्ने हुन्छ । त्यसैले पनि भनिन्छ, जीवनका धेरै फल र प्रतिफलहरू सङ्गत अनुसार प्राप्त भइरहेका हुन्छन् ।

सङ्गतको प्रभावको बारेमा चर्चा गर्ने क्रममा कतै पढेको थिएँ, यदि तिमी पाँच जना आत्मविश्वासले भरिएका मानिसका साथ लाग्छौ भने तिमी आत्मविश्वासले भरिएको छैटौँ व्यक्ति बन्न पुग्छौ । यदि तिमी पाँच जना करोडपतिहरूको साथमा लाग्छौ भने तिमी पनि छैटौँ करोडपति बन्न पुग्छाँै र यदि तिमी पाँच जना बेवकुफसँग लाग्छौ भने तिमी पनि छैटौँ बेवकुफ बन्न पुग्छौ ।

मानिससँग आफ्नै किसिमको क्षमता, सम्भावना र प्रतिभाहरू त हुन्छन् नै । राम्रा वा नराम्रा रहर र आकाङ्क्षाहरू पनि हुन्छन् नै । जसरी मांसहारी व्यक्ति मासु वा सेकुवा पसलको नजिक पुग्यो भने त्यसको बासनाले मासुप्रतिको उसको चाहनालाई थप सशक्त बनाउँछ त्यसरी नै सङ्गत गरिरहेका मानिसहरूको स्वभावले पनि व्यक्तिभित्र रहेको कुनै वस्तु वा स्वभावप्रति सुषुप्त अवस्थामा रहेको आशक्तिलाई सशक्त बनाउँदै अभ्यस्त बनाउन थाल्छ । साना–साना त्यान्द्राहरू मिलेर बलियो र छिनाल्न नसकिने डोरी तयार भएझै सङ्गतका कारणले व्यक्तिभित्र रहेको जिजीविषाले जीवन्त हुने मौका पाउँछ ।

कुरो यत्ति हो कि जिजीविषा खराब पनि हुन सक्छ र असल पनि हुन सक्छ । सङ्गत राम्रो भयो भने आफूभित्र रहेका राम्रा जिजीविषाहरूले मौलाउने मौका पाउँछन् । असम्भव देखिने कामहरू पनि सङ्गतका कारणले सम्भव हुन्छन् । सङ्गत खराब भयो भने व्यक्तिभित्र रहेका खराब प्रवृत्तिहरूले टाउको उठाउने मौका पाउँछन् ।

कतिपय अवस्थामा त आफूभित्र बीजसमेत नभएका विचार र व्यवहारहरू सङ्गतका कारणले व्यक्तिभित्र उम्रिन सक्ने सम्भावना हुन्छ । साथीहरूको करबलले सुरुमा व्यक्तिले देख्दैमा घृणा गर्ने विषय र व्यवहारलाई पनि नजानिँदो किसिमले आत्मसात् गर्ने स्थितिमा पुग्छ । यो पङ्क्तिकारले देखेको छ, कतिपय धुमपान, मादक पदार्थ र लागू औषधलाई अत्यन्तै घृणा गर्ने व्यक्तिहरू पनि सङ्गतकै कारणले त्यस्ता वस्तु र बानीहरू छोड्नै नसक्ने गरी तयार हुन्छन् ।

स्थिति यस्तो पनि आउँछ, बरु उनीहरू परिवारलगायत अरू सबै छोड्न सक्छन् तर त्यो वस्तु र बानी छोड्न सक्दैनन् । जब कि कुनै बेला उनीहरू आफैँले त्यसलाई घृणा गर्थे । सङ्गत छनोट गर्दाका सर्त र आधारहरूले पनि कहिलेकाहीँ मानिसहरूलाई समस्यामा पार्ने गर्दछ । कहिलेकाहीँ कुनै व्यक्तिले खर्चालु व्यक्तिसँग सङ्गत गर्छ । सुरुमा त हरेक बसउठ र खानपानमा उसैले नै खर्च गर्छ । क्रमशः त्यो बानी आफूमा पनि सर्न थाल्छ र उसको जस्तै खर्च गर्न मन लाग्छ ।

यसले गर्दा व्यक्तिले घाँटी हेरी हाड निल्नुपर्छ भन्ने कुरालाई बिर्सिन्छ र औकात बिर्सिएर खर्चको आयतन बढाउँछ । अन्ततः सङ्गतका कारणले धोती न टोपीको स्थितिमा पुग्छ । यसैगरी कतिपय व्यक्तिहरूले सङ्गत छनोट गर्दा शारीरिक हिसाबले आकर्षक र सुन्दर शरीर भएकोलाई प्राथमिकता दिन्छन् । व्यक्तिको बुद्धि, विवेक, स्वभाव र आचरणलाई बेवास्ता गरेर शरीरलाई मात्र हेरेर गरिएका सङ्गतहरू परिणाममा फलदायी हुन नसकेका दृष्टान्तहरू छरपस्ट भेटिन्छन् ।

यस्ता सवालहरूमा मै हुँ भन्ने विद्वानहरू पनि फसेका स्थितिहरू पनि भेटिन्छन् । राजा जनकले एकपटक सारा विद्वान र ऋषिमहर्षिहरूलाई बोलाएर भनेछन्– ‘तपाईंहरूमध्ये सबैभन्दा आत्मज्ञानी र विद्वान को हुनुहुन्छ ? संवाद र तर्कद्वारा प्रमाणित गर्नुहोस् र पुरस्कारबापत सिङमा सुन बेरिएका सय गाई लिएर जानुहोस् । यदि आफूलाई प्रमाणित गर्न सक्नुभएन भने जेल हालिन्छ ।’

राजाज्ञा पछि सबले आफूलाई आत्मज्ञानी र विद्वान प्रमाणित गर्न संवाद र तर्क गर्न लागेछन् । कति त हार खाएर भागेछन् र कति त जेल पनि परेछन् । जेलमा पर्नेमध्ये अष्टावक्रका पिता पनि रहेछन् । यो कुरा आमाबाट सुनेपछि बालक अष्टाबक्र राजाको उक्त सभामा पुगेछन् । आठतिर बाङ्गिएको अष्टाबक्रको शरीर देखेर त्यहाँ उपस्थित सबै हाँसेछन् । अरू सबै हाँसेको देखेर अष्टाबक्र पनि हाँसेछन् ।

राजा जनकले अष्टाबक्र पनि हाँसेको देखेर उनलाई भनेछन्– ‘अरू त तिमीलाई देखेर हाँसे । तिमी के देखेर हास्यौ ?’ अष्टाबक्रले जवाफ दिएछन्– ‘तपाईंले विद्वानहरू भनेर बोलाएको सभामा चमारहरू मात्र देखेर हाँसेँ ।’ अष्टाबक्रको जवाफ सुनेर त्यहाँ भेला भएका ऋषिमहर्षिहरू आफूलाई चमार भनेको सुनेर अष्टाबक्रसँग रिसाएछन् । त्यतिबेला अष्टाबक्रले आफ्ना कुरा राखेछन्– ‘पहिलो कुरा त विद्वान र आत्मज्ञानीहरू यसरी रिसाउँदैनन् ।

अर्को कुरा फलामको काम गर्ने कामीलाई असल कमसल फलामको बारेमा राम्रो जानकारी हुन्छ । त्यसरी नै तपाईंहरूलाई छालाको बारेमा राम्रोसँग थाहा रहेछ । त्यसैले मेरो आठ ठाउँमा बाङ्गिएको शरीर र कालो छाला देखेर हाँस्नु भयो । त्यसकारण तपाईंहरूलाई चमार भन्नका लागि मलाई धेरै सोच्नु पनि परेन ।’ अष्टाबक्रको यो कुरा सुनेर राजा जनक खुसी हुन्छन् र पछि उनैलाई राजा जनकले गुरु मानेर शिक्षा लिन्छन् । उनैबाट शिक्षा लिएको कारणले राजा जनकलाई राजर्षि जनक भन्ने गरिएको हो ।

माथिको सन्दर्भमा हामी जस्तो विद्वान र आत्मज्ञानी कोही छैन भनेर भेला भएका ऋषिमहर्षिहरूलाई समेत अष्टाबक्रले चमार भनेर त्यसको स्पष्टीकरण दिएपछि चुप लाग्नुपर्ने स्थितिको सिर्जना भयो । यसको मतलब कतिपय मानिसहरू विषय र क्षेत्रको हिसाबले विद्वान हुन सक्लान् तर दृष्टिकोण, स्वभाव र आचरणको हिसाबले गिद्द जति माथि गए पनि धर्तीमा सिनो कता छ भनेर खोजेजस्तै अवस्था हुँदो रहेछ । हाम्रा कतिपय समाज र राष्ट्रको सेवा गर्ने जिम्मा बोकेका मानिसहरूमा पनि त्यस्ता आचरणहरू हाबी भएको अवस्था छ ।

जसले गर्दा जतिबेला पनि उनीहरूले आफ्नो भलो भन्दा अरू देख्न सक्दैनन् । देशको भलोलाई समेत आफ्नो भलो हुनुमा देख्छन् । उनीहरूले सङ्गत पनि त्यस्तै त्यस्तैको गर्छन् । जसले उनीहरूको खल्ती भर्ने र व्यक्तिगत भलाइको काममा सहयोग गर्दछन् । पर्दाभित्र बसेर त्यस्तै मानिसहरू सुशासनका बाधक भएर काम गर्छन्् र पर्दाबाहिर तिनीहरू नै सुशासनका खम्बा हौँ भनेर आफूलाई प्रदर्शन गर्दछन् ।

त्यसैले सङ्गतले मानिसको व्यक्तिगत जीवनमा ठूलो र महत्त्वपूर्ण प्रभाव पार्ने गर्दछ । त्यसैले पनि भोलि कस्तो हुने भन्ने बारेमा लक्ष्य निर्धारण गरेपछि सङ्गत पनि त्यही लक्ष्यलाई पूरा गर्न योगदान गर्ने किसिमले छनोट गर्नुपर्दछ । लक्ष्य एउटा लिने सङ्गत अर्कैसँग गर्ने बानीले तोकिएको लक्ष्यमा कहिल्यै पनि पुग्न सकिँदैन । सङ्गत मांसहारीको प¥यो भने जन्मजात शाकाहारी व्यक्तिलाई समेत मांसहारी हुने अवस्थाको सिर्जना हुन्छ ।

पहिले–पहिले कतिपय ऋषिमहर्षिहरूको तपस्या भङ्ग गर्नका लागि देवताहरूले अप्सराहरूको प्रयोग गरेजस्तै कतिपय मानिसहरूको महान् हुने सपनाहरूलाई नाङ्गेझार पार्नुछ भने सङ्गत खराब भयो भने पर्याप्त हुन्छ । त्यसैले व्यक्तिले कसैसँग सङ्गत गर्नुपूर्व कोसँग र केका लागि सङ्गत गर्ने भन्ने कुरामा विशेष ध्यान दिनुपर्दछ । केही गर्न चाहने हरेक व्यक्तिले कसैसँगको सङ्गतले आफ्नो जीवनको लक्ष्य वा उद्देश्य पूरा गर्न सहयोग पुग्छ वा धराशायी बनाउन योगदान गर्छ भन्ने कुरालाई विशेष ख्याल गर्नु जरुरी छ ।

सङ्गतको सवालमा हरेक अभिभावकहरू आफ्ना बालबालिकाहरूका निम्ति समेत चनाखो हुनु त्यत्तिकै आवश्यक छ । सानो छँदा बालबालिकाहरूमा लक्ष्य र उद्देश्य छनोटका लागि आवश्यक वातावरणको सिर्जना गर्ने परिपाटी हाम्रोमा छैन । हामी बालबालिकामा कुनै कुरामा निर्णय क्षमताको विकास गरी उनीहरूलाई जिम्मेवार नागरिक बनाउनुमा भन्दा आज्ञाकारी बनाउनुमा आफूलाई भाग्यशाली ठानिरहेका हुन्छौँ ।

यस्तो अवस्थामा लक्ष्य र उद्देश्य पनि बालबालिकालाई नै छनोट गर्ने अवसर दिनुपर्छ र उक्त लक्ष्य र उद्देश्य पूरा गर्ने सवालमा पनि सकारात्मक किसिमले योगदान दिने सङ्गतका लागि आवश्यक वातावरणको सिर्जनामा समेत अभिभावकहरूले योगदान गर्न सक्नुपर्छ । अन्यथा गलत मानिससँग सङ्गत गर्नुभन्दा सङ्गत नगर्नु नै जीवनका लागि फलदायी हुन्छ, आखिर जङ्गलको गैँडा पनि कसैको सङ्गत नगरी एक्लै बसिरहेकै त हुन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक ८ गते बिहीबार