बालबालिका र अभिभावकको अन्तरसम्बन्धको चर्चा



कहिले कचौरा दुई हातले समातेर त कहिले भुइँमा राखेर नातिले माछालाई रमाएर हेर्दै गर्दा उनले आफू र माछाको बीचमा तुलना गरेछन् । आफूले नुहाउँदा वा पानीमा बस्दा चिसो पानीले आफूलाई पीडा भएको सम्झेछन् । उनले माछालाई पनि त्यही पीडा भएको अनुमान गरेछन् । त्यसपछि माछालाई कोठाभित्र ल्याएर विस्तारै कचौराबाट निकालेर आफू सुत्ने ओछ्यानमा सुताएछन् । अनि माछालाई ओढ्नेले ढाकिदिएछन् ।

जीतबहादुर शाह ।

मेरो घरमा तीन वर्ष पुग्नलाई तीन महिना बाँकी भएको एउटा सानो मान्छे (नाति) छन् । सानो मान्छेले रहर गर्ने भएको कारण उनका सिनियर साथीहरूले खेतबाट जिउँदै सानो माछा ल्याएर दिएछन् । कचौरामा पानी राखेर उक्त पानीमा माछालाई राखिएको थियो । कहिले कचौरा दुई हातले समातेर त कहिले भुइँमा राखेर नातिले माछालाई रमाएर हेर्दै गर्दा उनले आफू र माछाको बीचमा तुलना गरेछन् ।

आफूले नुहाउँदा वा पानीमा बस्दा चिसो पानीले आफूलाई पीडा भएको सम्झेछन् । उनले माछालाई पनि त्यही पीडा भएको अनुमान गरेछन् । त्यसपछि माछालाई कोठाभित्र ल्याएर विस्तारै कचौराबाट निकालेर आफू सुत्ने ओछ्यानमा सुताएछन् । अनि माछालाई ओढ्नेले ढाकिदिएछन् । त्यतिबेलै म कोठाभित्र पसेँ । उनले झट्टपट्ट तोतेबोलीमा मलाई बुबा भन्दै माछालाई ओछ्यानमा सुताएको देखाए ।

यसलाई किन यसो गरेको भनेर जिज्ञासा राख्दा यो पानीमा थियो, यसलाई चिसो हुन्छ भनेर ओछ्यानमा राखेको कुरा गरे । सानो माछा पानीबाट झिकेर ओछ्यानमा राखेपछि बिचरा बाँच्ने त कुरै भएन । माछा करिबकरिब मरिसकेको थियो । नातिलाई लागिरहेको थियो– माछा ओछ्यानमा न्यानो मानेर आरामसँग सुतिरहेको छ ।

प्रस्तुत घटनामा मेरो नातिले जानी वा नजानी उक्त सानो माछाको अभिभावकको भूमिका निर्वाह गरिरहेको महसुस भयो मलाई । नातिको उक्त माछाप्रतिको माया र सद्भाव असीमित थियो । उसप्रति सहानुभूति भन्दा पनि समानुभूति थियो नातिको ।

सहानुभूति भनेको अरूलाई अप्ठ्यारो वा समस्या पर्दा सक्ने जति आफ्नो तर्फबाट सहयोग गर्ने भावना र उक्त भावना अनुसार गरिने कार्य हो । समानुभूति भनेको अरूलाई समस्या पर्दा आफूलाई पनि पीडा हुनु वा उसलाई जस्तै आफूलाई पनि दुखेको अनुभूत गरी सक्दो सहयोग गर्नु हो । त्यसैले नातिमा समानुभूतिको विकास भएको हो माछाप्रति ।

आफूलाई जसरी चिसो पानीमा डुब्दा पीडा हुन्छ त्यही पीडा माछालाई भएको हो भन्ने अनुमान गरेर माछालाई उद्धार गरेका हुन् उनले । तथापि बुद्धि नपुगेपछि माछाको उद्धार होइन मृत्यु भयो । हाम्रा कतिपय अभिभावकहरूले बालबालिकाप्रति गरिने कर्महरू मेरो नातिले माछाप्रति गरिएका कर्मजस्तै लाग्छन् । मनमा समानुभूति भए पनि हाम्रो कर्मले उनीहरूप्रति सकारात्मक भन्दा नकारात्मक असर पारिरहेको हुन्छ । यस्तो अवस्थामा अभिभावकले निर्वाह गर्नुपर्ने केही भूमिकाहरूको बारेमा यहाँ सङ्क्षेपमा चर्चा गर्ने जमर्को गरिएको छ ।

बालबालिकाका जिज्ञासा र चञ्चलताको उचित किसिमले सम्बोधन गर्न सक्नुपर्दछ । यद्यपि यो पक्षमा अधिकांश अभिभावकहरू जिम्मेवार देखिँदैनन् । उनीहरूको जिज्ञासु र चञ्चल बानीलाई हामीले समस्याको रूपमा लियौँ भने बालबालिकामा सानैदेखि शारीरिक तथा मानसिक समस्याहरू देखा पर्ने सम्भावना रहन्छ । कहिलेकाहीँ हामीलाई आराम चाहिएको हुन्छ वा कुनै काममा ध्यान दिएर लाग्नुपरेको अवस्था हुन्छ ।

त्यस्तो अवस्थामा हामीसँग भएको बालबालिका चुप लागेर बसिदियो भने हामी खुसी हुन्छौँ, कुनै जिज्ञासा वा प्रश्नहरू पनि नराखिदिएमा पनि हामी अझै खुसी हुन्छौँ । उसको यो बानी तत्काललाई हाम्रो निम्ति त उपयुक्त होला तर बालबालिकाको विकासको निम्ति भने प्रतिकूल हुन्छ ।

एउटा असल अभिभावकले बुझ्नुपर्छ कि बालबालिकाले तपाईं हामीसँग जति धेरै जिज्ञासा र प्रश्नहरू राख्छन्, त्यति धेरै उनीहरू अध्ययन र अनुसन्धान गर्ने स्वभावका छन् । त्यसैले त्यो वातावरणको सिर्जना हामीले गर्न सक्नुपर्छ । कतिपय जिज्ञासाहरूको समाधान आफूले गर्न नसकेमा जिज्ञासाका लागि उनीहरूलाई हौसला दिँदै समाधानका लागि सकारात्मक किसिमले सहयोग एवम् मार्गदर्शन प्रदान गर्नुपर्दछ ।

बालबालिका उत्सुक र जिज्ञासु भएकै कारण उनीहरू चञ्चल पनि अत्यधिक हुन्छन् । वयस्कहरूका लागि संसारमा भएका आश्चर्यहरू सीमित भए पनि बालबालिकाहरूका लागि यो धरतीमा असीमित आश्चर्यहरू हुन्छन् । जे देखे पनि पहिलोपटक देखेजस्तो लाग्छ । प्रायः हुन्छ पनि त्यस्तै । किनभने उनीहरू यो धरतीमा आएको पनि धेरै भएको हुँदैन । यस्तो अवस्थामा उनीहरूको चञ्चलतालाई ज्ञान र विज्ञानको खोजीका लागि देखिएको सक्रियता हो भन्ने किसिमले बुझ्नुपर्दछ ।

हामीले उनीहरूको सक्रियतालाई सकारात्मक किसिमले पथप्रदर्शन गर्न सकेनौँ भने उक्त सक्रियता नकारात्मकतातिर पनि मोडिन सक्छ । जसरी नदी र तलाउमा पानी बढ्यो र निकासको उपाय बन्द भयो भने नदी र तलाउले आफ्नै हिसाबले बाटो बनाउँछ जुन मानव जीवनका लागि दुःख र पीडाले भरिएको हुने गर्दछ । जसरी बेरोजगार व्यक्ति कतै रोजगारी मिल्छ कि भनेर दौडिन्छ, त्यसरी नै एउटा बालक पनि आफूमा धेरै कुरा कमी भएका कारणले चञ्चले भएर देखिएको हो । यसलाई असल अभिभावकले सकारात्मक किसिमले सहजीकरण गर्न सक्नुपर्दछ ।

बालबालिकालाई जति सक्यो धेरै समय दिनु आवश्यक छ जुन आजका व्यस्त अभिभावकका निम्ति चुनौतीको रूपमा देखिएको छ । शिव खेराले आफ्नो पुस्तक तपाईंको जित पुस्तकमा कुनै अभिभावकको भोगाइ यसरी लेखेका छन्– ‘हामी बिहान काममा जाँदा उनीहरू उठेका हँुदैनथे । हामी बेलुका कामबाट फर्किदा अलि अबेर हुन्थ्यो, उनीहरू सुतिसकेका हुन्थे । एवम् रितले अठार–बीस वर्ष बितेछ । उनीहरू त हामीलाई छोडेर हिँडिसकेछन् ।’ धेरै अभिभावकको यस्तै छ अवस्था, शिव खेराले उल्लेख गरेजस्तै ।

बालबालिकाबाट माया पाउने हो भने माया दिन सकौँ । माया दिनका लागि उनीहरूसँग सँगै समय बिताऔँ, उनीहरूसँग अवलोकन भ्रमणमा निस्कने गरौँ, उनीहरूका कुरा ध्यान दिएर सुनौँ । उनीहरूले आफूसमक्ष प्रस्तुत गरेका समस्याहरूप्रति गम्भीर हुने गरौँं र उपयुक्त किसिमले समाधान पनि खोजौँं । तपाईं हाम्रो यो व्यवहारले उनीहरू र हाम्रो बीचको सम्बन्ध हार्दिक र मित्रवत् हुने गर्दछ । नातागत सम्बन्ध कामयावी नहुन सक्छ तर मित्रवत् सम्बन्धको अन्त्य कहिल्यै पनि हुँदैन ।

बालबालिकाले घरमा हुँदा कतिबेला के गर्ने भन्ने बारेमा उनीहरूको समयसारिणी वा कार्यतालिका बनाउने मामिलामा सहकार्य गरौँ । यसरी कार्यतालिमा बनाउँदा उनीहरूलाई अध्ययनका अतिरिक्त खेलकुद, घरायसी काम र व्यक्तिगत कामका लागि पनि कार्यतालिकामा स्थान दिने गरौँ । बालबालिकालाई ब्रोइलर कुखुरा जस्तो नबनाएर स्वाभाविक र प्राकृतिक किसिममा जिउने गरी प्रेरणा प्रदान गरौँ ।

कतिपय शारीरिक कामहरू उनीहरूलाई पनि गर्न दिने वातावरण तयार गरौँ । उनीहरूका जुत्ता उनीहरूलाई नै पहिरिन, जुत्ताका तुना बाँध्न, कपडा पट्याउन, जुत्ता पोलिस गर्र्न, उनीहरूले लगाउने गरेका आन्तरिक लुगाहरू उनीहरूबाटै धुन, कोठा मिलाउन, भान्सामा चिया बनाउन आदिजस्ता व्यावहारिक कुराहरू सिकाउने कामलाई सहजीकरण गरौँ जसले गर्दा बालबालिकामा सानैदेखि आत्मनिर्भर हुने स्वभावको विकास हुन्छ ।

बालबालिकाप्रति विश्वास गरौँ र उनीहरूलाई परिवारको जिम्मेवार सदस्य हुने अवसर प्रदान गरौँ । विश्वास गर्ने क्रममा उनीहरूले गरेका र गरिरहेका कामप्रति आभार व्यक्त गर्दै उक्त काममा अझै अघि बढ्न हौसला र प्रेरणा प्रदान गरौँ ।

उनीहरूले गरेको भन्दा अझै राम्रो गर्न सकिने स्थिति छ भने त्यसलाई पनि सकारात्मक भावले प्रस्तुत गर्दै ‘यसलाई यसरी गर्न सकेको भए अझै राम्रो हुन्थ्यो कि’ भन्ने भावना प्रस्तुत गरौँ । उनीहरू साना छन् र गर्न सक्दैनन् भनेर घरायसी छलफल र कामकाजबाट अलग्याउने काम कहिले पनि नगरौँ । बरु उनीहरूलाई पनि घरायसी छलफल र कामकाजमा संलग्न गराउदै ‘तिमी पनि यो घरको महत्त्वपूर्ण सदस्य हौ’ भनेर सम्मानजनक व्यवहार गरौँ । आवश्यकता अनुसार त्यस्ता छलफल र कामकाजको सिलसिलामा उनीहरूबाट सल्लाह पनि माग्ने गरौँ । यसले उनीहरूलाई परिवारको जिम्मेवार सदस्य हुन प्रेरित गर्दछ ।

नराम्रो क्रियाकलापहरूको सवालमा अभिभावकसँग बालबालिका तर्सिने होइन कि बालबालिकासँग अभिभावक तर्सिने वातावरणको विकास गरौँ । बालबालिकाहरूले कथम्कदाचित नराम्रो काम गरिहाले भने उनीहरूले नियतका कारणले भन्दा पनि अज्ञानताका कारणले त्यसो गरेका हुन सक्छन् । अतः उनीहरूलाई उक्त नराम्रो कार्यको परिणाम यस्तो हुने गर्दछ भनेर उल्लेख गर्दै त्यस्तो काम नगर्नका लागि उनीहरूलाई परामर्श प्रदान गर्न सकिन्छ ।

अभिभावकले उनीहरूका अगाडि नराम्रो क्रियाकलाप ग¥यो भने उनीहरूले त्यही काम गर्न थाल्छन् । उक्त काम गर्नु हँुदैन भन्यो भने ‘तपाईंले किन गरेको त ?’ भनेर अविश्वास प्रदर्शन गर्दै ओठे जवाफ दिन सक्छन् । अतः यस्तो अवस्थामा सकभर असल अभिभावकले नराम्रो काम कहिल्यै नगरौँ, गर्नुप¥यो भने पनि उनीहरूको सामुन्नेमा उनीहरूले देख्ने गरी कहिल्यै नगरौँ । यसको असर बालबालिकाको जीवनमा चिरकालसम्म नराम्रो हुने गर्दछ ।

बालबालिकालाई राम्रो बनाउनका लागि उनीहरूका शिक्षकहरूसँग अभिभावकले निरन्तर रूपमा सहकार्य गर्न जरुरी छ । बालबालिकाको उन्नति र प्रगतिका लागि अभिभावक जति चिन्तित हुन्छ, शिक्षक पनि त्यत्ति नै चिन्तित हुन्छ । तथापि यी दुई पक्षको बीचमा भेटघाट, भलाकुसारी र सहकार्य हुन सकेन भने बालबालिकाको उन्नतिका निम्ति गरिने कार्यमा एकरूपता नहुन सक्छ ।

अभिभावक र शिक्षकले गर्ने व्यवहारमा अनेकता भयो भने आफूले गर्नुपर्ने कामका विषयमा बालबालिकामा द्विविधा उत्पन्न हुन सक्छ । अतः यस्तो अवस्थामा बालबालिकाले घरमा देखाउने व्यवहारको बारेमा अभिभावकले शिक्षकलाई र बालबालिकाले विद्यालयमा देखाउने व्यवहारका बारेमा शिक्षकले अभिभावकलाई निरन्तर रूपमा जानकारी गराउर्नुपर्दछ । परिवेश यस्तो बनाउन सकियो आफूले के गर्ने भन्ने बारेमा बालबालिकाहरूको आत्मविश्वास बढ्छ ।

सारमा बालबालिका भनेका सम्भावनाका पुञ्ज हुन् । यसो भन्नुको आसय यो होइन कि पहिलेदेखि भनिएझँै बालबालिका भनेका काँचो माटो हुन् र उनलाई जे पनि बनाउन सकिन्छ । बालबालिकालाई जे चाह्यो त्यो बनाउन सकिँदैन । बनाइयो भने पनि त्यो बाटो अत्यन्त पीडादायक हुन्छ । बालबालिका त्यो सजिलरी बन्न सक्छ जुन कुरा उसले जन्मिँदा लिएर आएको छ ।

त्यसैले सर्वप्रथम त बालबालिकाले बोकेर ल्याएका सम्भावनाहरूको पहिचान गरौँ र उसले जे स्वभाव र क्षमता देखाउँछ त्यसैको जगमा टेकेर उसको भावी जीवनको सुन्दर महल निर्माणतिर लागौँ । बालबालिकालाई अरू कसैसँग तुलना गर्ने काम भूलेर पनि नगरौँ । किनभने ऊ अरू कसैजस्तो पनि हुन सक्दैन ऊ मात्र ऊजस्तो हुन सक्छ । उनीहरू अभिभावकको सपनाअनुसार पनि हुने होइन ।

उनीहरू आफ्नै सपनाअनुसार हुने हो । बालबालिकाहरूलाई आफ्नै सपनाको मालिक हुन दिनुपर्छ । उनीहरूका सपनाहरूलाई पाखा लगाएर अभिभावकले आफ्ना सपनाहरूको भारी बोकाउनु भनेको जीवनभर उनीहरूलाई दुःखी र दास बनाउनुजस्तै हो । बालबालिकालाई माया गरौँ र माया पनि बुझेर गरौँ । अन्यथा हामीले नुबुझेर उनीहरूलाई गर्ने माया कतै मेरो नातिले माछालाई गरेजस्तो घातक नभइदेओस् ।

प्रकाशित मिति : २०८१ कात्तिक २ गते शुक्रबार