मुख्यमन्त्रीद्वारा खजुरा क्यान्सर अस्पतालको अवलोकन



खजुरा ।

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अवलोकन गरेका छन् । धार्मिक कार्यबाट नागरिकले मुट्ठी दान गरेर निर्माण गरी सरकारलाई हस्तान्तरण गरिएको लुम्बिनी प्रदेशको एकमात्र क्यान्सर अस्पतालको बुधबार मुख्यमन्त्री आचार्यले अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा मुख्यमन्त्री आचार्यले बिरामीहरूसँग अस्पतालले दिएको सेवाबारे जानकारी लिएका थिए । सो अवसरमा अस्पताल प्रशासनलाई उनले संघीय सरकारमातहतको अस्पताल भए पनि प्रदेशले नियमले दिने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशले गर्न सक्ने योजनाहरू लिएर प्रदेश राजधानी आउन आग्रह गर्दै उनले दरबन्दी र किताबखानामा दर्ता गर्ने विषयमा आफूले संघीय सरकारमा पहल गर्ने प्रतिबद्धता जनाए । बिना दरबन्दी अस्पताल सञ्चालन भएकोप्रति आश्चर्य प्रकट गर्दै आफ्नो तर्फबाट मिल्ने सहयोग गर्ने बताए ।

त्यसअघि अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाशप्रसाद साहले विगत ९ वर्षदेखि दरबन्दीबिना काज र दैनिक ज्यालादारी कर्मचारी र चिकित्सकहरूबाट अस्पताल सञ्चालन भइरहेको, अस्पतालको जनशक्तिलाई निजामती किताबखानामा दर्ता नगरिँदा स्वास्थ्यकर्मीहरू टिकाउन असहज भएको, चिकित्सक तथा नर्सहरूको आवास नहुँदा सेवा प्रभावित बनेको जस्ता समस्या प्रस्तुत गरेका थिए ।

डा. साहले प्रविधि, स्रोत, साधन हुँदाहुँदै पनि जनशक्तिको व्यवस्थापन नहुँदा सञ्चालनमा असहज बनेको गुनासो गरेका थिए । अवलोकनमा प्रदेशसभाका सदस्य रत्न खत्री, लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थ, बर्दिया र बाँकेका सांसदहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ कात्तिक ८ गते बिहीबार