सुरु भयो राप्रपाको ‘कर्णाली यात्रा’



सुर्खेत ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय नेताहरूले कर्णाली यात्रा थालेका छन् । उनीहरू मंगलबारदेखि ‘कर्णालीका कुरा सुन्न र आफ्ना कुरा भन्न’ भन्दै कर्णाली यात्रामा निस्किएका हुन् ।

त्यसका लागि मंगलबार बिहानै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्तीकुमारी शाही र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतका नेताहरू काठमाडौँबाट नेपालगन्ज विमानस्थल हुँदै सल्यानको सल्लीबजार पुगेका थिए ।

राप्रपा केन्द्रीय सदस्य रविकिरण हमालले दिएको जानकारी अनुसार मंगलबारदेखि सल्यानको सल्लीबजारबाट सुरु गरेको यात्रा सुर्खेत, दैलेख हुँदै मुगु पुग्नेछ ।

केन्द्रीय नेताहरूले थालेको अभियान पहिलो दिन मंगलबार सल्लीबजारबाट सुरु भएर प्रदेश राजधानी वीरेन्द्रनगर पुगेको थियो । केन्द्रीय सदस्य हमालका अनुसार आज पश्चिम सुर्खेतको बाबियाचौर, बिहीबार दैलेखको दुल्लु, शुक्रबार कालीकोट सदरमुकाम मान्म, शनिबार जुम्लाको गोठिजिउला र आइतबार मुगुको सदरमुकाम गमगढीमा आमसभा गर्ने कार्यक्रम तय भएको छ ।

यो अवधिमा प्रदेशका ६ जिल्लामा ६ वटा आमसभा हुनेछन् । ‘यो जनता र हाम्रो दोहोरो संवाद हो । ती कार्यक्रमहरूमा हामी स्थानीयका कुराहरू सुन्छौं र नेताहरूले पनि आफ्ना कुराहरू भन्नु हुनेछ,’ उनले भने । कर्णाली बदल्न सके मात्रै देश बदलिने भएकाले कर्णाली यात्रा थालिएको नेताहरू बताउँछन् ।

प्रकाशित मिति : २०८१ कात्तिक ७ गते बुधबार