मानवता बिनाको समुन्नति ?



जीतबहादुर शाह ।

मिडियामार्फत सम्प्रेषण भएको एउटा खबरले गम्भीर र बेचैन बनायो । विश्वकै अति विकसित मुलुक जापानमा करिब सात सय वृद्धहरूलाई सरकारले उनीहरूकै घरबाट मृत अवस्थामा फेला पारी अन्तिम सद्गति ग¥यो । त्यसमध्ये पनि आधा जति मृतकहरू एक महिनाअघि नै आफ्नै घरमा देहत्याग गरिसकेको अवस्था अवगत भयो । किन भयो त यस्तो ?

जापानजस्तो अति विकसित मुलुकमा वृद्धहरूको यो अवस्था भएपछि अरू देशको अवस्था के हुने ? विकास र समुन्नतिको अर्थ नै बुढेसकालमा यही हविगत हुने हो भने किन चाहियो त्यस्तो समुन्नति र किन चाहियो त्यस्तो विकास ? मनभरि यस्तै यस्तै जिज्ञासा, अस्पष्टता, भ्रम र द्विविधाहरूले मन र मथिङ्गललाई हल्लाइरहे र अबिराम चलायमान बनाइरहे । परिणामस्वरूप जापान र अन्य त्यस्तै मुलुकको जनसंख्याको संरचना अध्ययन गर्न मन लाग्यो र गुगलतिर लागेँ ।

जापान संसारकै वृद्धहरूको अनुपात सबैभन्दा बढी भएको मुलुक हो । जापानमा मार्च १, २०२४ मा अद्यावधिक गरिएको तथ्याङ्क अनुसार त्यहाँको जनसंख्या १२ करोड ३९ लाख ७० हजार अनुमान गरिएको छ । जनसंख्या वृद्धिदर ऋणात्मक छ । सन् २०२० को जनगणना अनुसार त्यहाँको जनसंख्या अहिले अनुमान गरिएको भन्दा बढी अर्थात १२ करोड ६१ लाख ४६ हजार रहेको थियो ।

त्यहाँका मानिसहरूको औसत आयु ८४.४५ वर्ष रहेको छ । यो औसत आयु पनि संसारकै सबैभन्दा उच्च देखिन्छ । अमेरिकीहरूको औसत आयु अध्ययन गर्दा ७७.५ वर्ष देखिन्छ । हाम्रो मुलुक नेपालको ६८.४५ वर्ष रहेको देखिन्छ । जापानमा अहिले ६५ वर्षभन्दा माथिको जनसंख्या कुल जनसङ्ख्याको २८.७ प्रतिशत रहेको देखिन्छ । अर्थात करिब ३ करोड ५५ लाखभन्दा बढी मानिसहरू ६५ वर्षमाथिका रहेका छन् ।

मानिसहरूको औसत आयु बढ्नु विकासको प्रगतिशील सूचक हो । जनसंख्यामा वृद्धहरूको अनुपात बढ्नु पनि समुन्नतिको सूचक हो । यसकारण कि जुन देशमा मानिसहरू खाना नपाएर कुपोषित हुन्छन्, भोकभोकै मर्छन र जहाँ मानिसहरूको न्यूनतम स्वास्थ्योपचारको पनि व्यवस्था हुँदैन त्यहाँका मानिसहरूको मृत्यु दर बढी हुन्छ । त्यसैले त्यस्ता मुलुकहरूको औसत आयु कम हुने गर्दछ ।

जस्तो माथि उल्लेख गरेअनुसार जापान र अमेरिकाको तुलनामा नेपालको औसत आयु कम छ । अर्को पक्ष, कुनै पनि देशका कुल जनसंख्याको मध्यम आयु अर्थात बाँचिरहेका मानिसहरूको सरदर आयु जापानमा ४६.५ वर्ष, अमेरिकामा ३८.९ वर्ष र नेपालमा २५ वर्ष रहेको छ । बाँचिरहेका मानिसहरूको सरदर आयुबाट के प्रस्ट हुन्छ भने जहाँ बालबालिकाको संख्या बढी छ त्यहाँका मानिसहरूको सरदर आयु कम हुन्छ जहाँको सरदर आयु बढी हुन्छ त्यहाँ बालबालिकाको संख्या कम र वृद्धहरूको संख्या बढी हुन्छ ।

जापानमा महिलाहरूको प्रजनन् दर १.४ रहेको देखिन्छ भने नेपालमा यो दर २.०३ रहेको छ । यसबाट पनि प्रस्ट हुन्छ कि नेपालमा भन्दा जापानमा बालबालिकाको सङ्ख्या कम छ । यसबाट यो पनि प्रस्ट हुन्छ कि प्रजनन २ भन्दा कम हुने मुलुकहरूको जनसंख्या वृद्धि दर पनि स्वभावैले घट्दो क्रममा हुन्छ जुन दृष्टान्त जापानमा छ ।

मैले बुझेको विकास र समुन्नतिको अर्थ गास, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षाको सुनिश्चितता हुनु हो, स्वस्थ हुनु हो, निरोगी हुनु हो, ऐसआराम हुनु हो, अभावमुक्त हुुनु हो, आफ्ना सम्भावना र क्षमताहरूलाई भरपूर मात्रामा विकास र उपयोगका लागि अवसर पाउनु हो आदि आदि । के साँच्ची जापानमा आफ्नो घरमा मृत्युवरण गर्ने र मृत्यु भएको एक महिनापछि मात्र मृत्युको खबर सम्प्रेषण हुने ती वृद्धवृद्धाहरूको मृत्यु हुँदाको अन्तिम पल कस्तो भयो होला ?

आफूले काखमा राखेर दशधारा दूध खुवाउदै हुर्काएका सन्तानहरूको झझल्को आयो होला कि आएन होला ? ती सन्तानहरूले पनि आफूलाई जन्म दिने बाबाआमालाई एक महिनासम्म पनि बेखबर हुँदा कहीँकतै जिम्मेवारी बोध भयो होला कि भएन होला ? के समुन्नति र विकास भनेको यही हो त ? के समुन्नति र विकासले खुसी, अपनत्व, हार्दिकता, सहयोग, सहानुभूति, प्रेम, सामिप्यता जस्ता मानवीय पक्षलाई समेट्दैन होला त ? के हामीले चाहेको विकास र समुन्नति पनि बयोवृद्ध भएर मरेपछि एक महिनासम्म पनि बेखबर हुने स्थितिको सिर्जना हो त ?

हामीले भौतिक प्रगतिलाई विकास र समुन्नति भनिरहेका छौँ । त्यही भएर हरेक मानिसहरू भौतिक विकास र सम्पन्नतालाई समुन्नतिको द्योतक सम्झेर आफुलाई निर्देश गरिरहेका छन् । जेमा पनि भौतिक नाफाको हिसाबकिताब गरिरहेको छ मानिस । सामाजिक कार्यमा पनि नगदमा नाफा खोजिरहेको छ । व्यक्तिले सन्तति जन्माउँछ तर उचित किसिमले रेखदेख गर्नका लागि ऊसँग सम्पत्ति भए पनि समय छैन । त्यसकारण मातृवात्सल्यको जिम्मेवारीका निम्तिसमेत पैसा दिएर अरू कसैलाई कार्यभार दिएको छ ।

कतिपयलाई त दुई वर्ष नपुग्दै विद्यालयहरूले जिम्मा लिएका छन् । आमाका दूध इन्जेक्सन लगाएर सुकाइन्छ एकातिर भने अर्कोतिर सन्तति पाउडर दूध खाएर हुर्कन्छ । समयको अभाव र व्यस्तताका नाममा आमाबाबा र सन्ततिहरूको बीचको सम्बन्ध छेदविच्छेद भएको छ । कुनै बेला एउटै चुल्होमा खाएर एउटै छानामुनि बस्ने परिवारहरू टुक्रिएका छन् । परिवार सँगसँगै मान्छेका मनहरू पनि टुक्रिएका छन् । त्यसैको परिणामस्वरूप मानिसहरू वृद्धावस्थामा आफन्तहरू बिना छटपटाउनु परिरहेको छ । आजको दुनियाँले यसैलाई समुन्नति र यसैलाई विकास भनेर विकास र समुन्नतिको धज्जी उडाइरहेको छ ।

तनाव, रोग, मानवताको अभावजस्ता कारणले गर्दा उत्पन्न पीडा सहन गर्न नसकेर मानिसहरू बाँच्न चाहँदैनन् । त्यसै कारण पनि इच्छा मृत्यु नाम दिएर मानिसलाई आफूखुसी मर्न पाउने गरी कतिपय मुलुकहरूले कानुन बनाएका छन् । यस्तो कानुन बनाउने पहिलो देश नेदरल्यान्ड हो जसले यो कानुन सन् २००२ मा बनाएको थियो । सन् २०२३ सम्म ९०६८ जनाले इच्छा मृत्यु स्वीकार गरेर कानुनतः देहत्याग गरिसकेको अवस्था छ । त्यसरी नै बेल्जियम, स्वीट्जरल्यान्ड, अस्ट्रेलिया, जर्मनी, लक्जेम्बर्ग, कोलम्बिया, अमेरिका, क्यानडा र भारतमा समेत इच्छा मृत्युसम्बन्धी कानुन निर्माण गरेर कार्यान्वयन गरेको अवस्था छ । यसरी विकसित देशहरूमा नै यस्तो कानुन किन चाहियो ?

मानिसहरू किन बाँच्न रहर गरिरहेका छैनन् ? अविकसित र अल्पविकसित मुलुकहरूको तुलनामा विकसित मुलुकहरूमा किन आत्महत्याको दर बढ्दो छ ? त्यहाँका नागरिकहरू स्वाभाविक निद्राको अभावमा किन सिल्पिङ ट्याबलेट खाएर निदाउनु परेको छ ? के विकास र समुन्नति भनेको यस्तै मानवता र प्रेमबिना छट्पटाउँदै गरेको पीडादायक जीवनको अर्को नाउँ हो त ?

समाजमा मानवताको अभ्यूदय हुन सकेन भने मानिस आफैँले कमाएको सम्पत्तिको थुप्रोले थिचेर पीडादायक किसिमले मृत्युवरण गर्नुबाहेक अर्को विकल्प देखिएन । त्यसैले पनि सुख र खुसी भनेको भौतिक सम्पत्तिको पर्याय होइन, यो आत्मिक सुख र आत्मसन्तुष्टि हो भन्ने कुरा बिर्सिनु हुँदैन । मैले अरूलाई के गरिरहेको छु र त्यसबापत मैले के पाउँछु भनेर अहिलेदेखि तर्कसङ्गत किसिमले चिन्तन गर्नु आवश्यक छ ।

व्यक्तिसँग उचित ठाउँमा उचित किसिमले प्रयोग गर्नका लागि संवेगात्मक क्षमता हुनु जरुरी छ जसअन्तर्गत दया, माया, सहानुभूति, सहयोग, दुःख, पीडा आदि पर्दछन् । यति मात्र नभई व्यक्तिमा सामाजिक स्वभाव हुनु आवश्यक छ । व्यक्तिलाई अप्ठ्यारो पर्दा समाज चाहिन्छ भन्ने कुराको हेक्का हरेक व्यक्तिमा हुनु आवश्यक छ र तदनुसार आफूले पनि सामाजिक क्रियाकलापहरूमा संलग्न हुनु आवश्यक छ । यसका साथै व्यक्तिमा आफूले के गर्न हुने र के गर्न नहुने भन्ने विषयमा समेत नैतिक चेतना  हुनु पनि त्यत्तिकै जरुरी छ ।

मानिसले सिर्जना र अन्वेषण लाई मेसिनको रूपमा होइन कि मानवताको प्रवर्धनका निम्ति प्रयोग गर्नुपर्दछ । मान्छेसँग भएको सञ्चार सीप ले मानिसहरूको बिचमा द्वेष र मतभेद सिर्जना गर्ने होइन कि मानवता र हार्दिकताको विकासका निम्ति प्रयोग गरिनुपर्दछ । मानवमात्रले प्रदर्शन गर्ने उत्सुकता र सिकाइले समग्र मानिसको उन्नति र भलो कसरी हुन्छ भन्ने कुरालाई केन्द्रविन्दु बनाउनु पर्दछ ।

वसुुधैव कुटुम्बकमको भावनालाई उचाइमा राखी हरेक व्यक्ति र समुदायको सांस्कृतिक विविधता लाई सम्मान र संरक्षण गर्न सहकार्य गर्नुपर्छ । कुनै खास मानव समुदाय र व्यक्तिको क्षतिलाई हरेक व्यक्तिले आफ्नै क्षति सम्झेर उत्थानका निम्ति आआफ्नो क्षेत्रबाट पहल गरिनुपर्छ । सबैभन्दा ठूलो कुरा त कुनै कुरा अरूलाई सिकाउनुभन्दा त्यो कुरा मबाट कत्तिको कार्यान्वयन भइरहेको छ भन्ने कुराको आत्म चेतनाको भाव मानिसले आफूभित्र खोज्नुपर्दछ । यसकारण कि एउटा आँैलाले अरूलाई औँल्याउँदा बाँकी चार औँलाले आफैँलाई औँल्याइरहेका हुन्छन् ।

विकास र समुन्नतिको नाममा हाम्रो समाजमा पनि नजाँनिदो तरिकाले असामाजिक र अमानवीय क्रियाकलापहरू बढ्दो क्रममा छन् । सन्तानहरू बाबाआमाबाट अलग्गिने क्रम जारी छ । बिरामी हुँदा र काजक्रिया गर्दासमेत पारिश्रमिक दिएर अरूलाई नै जिम्मा दिने प्रवृत्ति झाँगिदो छ । साम, दाम, दण्ड, भेद जे गरेर भए पनि सम्पत्ति कमाउने हरकतहरू बढिरहेका छन् । सम्पत्ति कमाउने नाममा मानवता धरापमा परेको छ । म मेरो सौभाग्यले तेस्रो पुस्ता अर्थात नाति हुर्कदा सँगै छु ।

कहिलेकाहीँ तेस्रो पुस्तासँगका क्रियाकलापहरू सामाजिक सञ्जालहरूमा सेयर गर्दासमेत कतिपयका लागि तेस्रो पुस्तासँगका त्यस्ता क्रियाकलापहरू दुर्लभ भइसकेका वा त्यसका लागि खास दिन कुर्नुपर्ने स्थितिको सिर्जना भइसकेको छ । अरू जे भए पनि विकासको नाममा मानिसहरूको औसत उमेर त बढ्ने तर मृत्युवरण गर्दा महिनौँसम्म बेखबर हुने स्थिति नआओस् ।

समुन्नति र स्वतन्त्रताको नाममा एकलकाटे नबनोस् मानिस, मेसिन पनि नबनोस् मानिस् । बरु त्यसो हुनुभन्दा त महाकवि देवकोटाले भनेझैँ ‘हातको मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेला आनन्दी मनले’ भन्ने दर्शनबाट प्रेरित जिन्दगी बिताउनु धेरै बेश र धेरै उत्तम । मलाई त यस्तो लाग्छ मावनताबिनाको समुन्नति त प्राणबिनाको शरीरभन्दा अरू केही होइन । भौतिक सम्पत्तिले पुरिएको मुर्दा !

प्रकाशित मिति : २०८१ असोज १० गते बिहीबार