बाँसगढीमा फर्फराइयो राष्ट्रिय झन्डा



मधुर पौडेल । बाँसगढी ।

पूर्व–पश्चिम राजमार्गको बाँसगढी बजारमा संविधान दिवसको अवसरमा राष्ट्रिय झन्डा राखिएको छ ।

बाँसगढी नगरपालिकाले आफ्नो प्रशासनिक भवननजिकै राजमार्गमा ठूलो राष्ट्रिय झन्डा राखेको हो ।

संविधान दिवसको अवसरमा बिहीबार उक्त स्थानमा नगर प्रमुख खड्कबहादुर खड्काले राष्ट्रिय झन्डाको उद्घाटन गरेका थिए । नगरपालिकाले राखेको राष्ट्रिय झन्डा ६ मिटरको रहेको छ । १६ मिटरको पोलमा नगरपालिकाले ६ मिटरको राष्ट्रिय झन्डा राखेको नगर प्रमुख खड्काले जानकारी दिए ।

‘बाँसगढी बजार प्रवेश गर्ने स्थानमा राखिएको ठूलो झन्डाले सबैलाई आकर्षित गर्नेछ,’ उनले झन्डाको उद्घाटन गर्दै भने, ‘झन्डाले बाँसगढीलाई चिनाउनसमेत मद्दत गर्छ ।’

राष्ट्रिय झन्डा बाँसगढी नगरपालिका र इलाका प्रहरी कार्यालय मोतीपुरको बीच भागमा रहेको राजमार्गमा राखिएको छ । झन्डा राख्नका लागि पोललगायतका लागि नगरपालिकाले १ लाख रुपैयाँ खर्च गरेको बताइएको छ ।

राष्ट्रिय झन्डाको उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, व्यवसायी, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज ४ गते शुक्रबार