बाँकेमा कांग्रेस नेताको घरबाट २० जुवाडे पक्राउ



बाँके ।

नेपाली कांग्रेसका एक नेताको घरमा छापा मारेर बाँकेमा प्रहरीले २० जना जुवाडेहरूलाई पक्राउ गरेको छ । राप्ती सोनारी गाउँपालिका–६ स्थित कांगे्रसका नेता सञ्जय राणाको घरमा छापा मारेर बाँके प्रहरीले नगदसहित २० जना जुवाडेहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की नेतृत्वको टिमले मंगलबार बिहानै राणाको घरमा भइरहेको जुवा खालमा छापा मारेको थियो । जुवा खालबाट नगद ३ लाख ९१ हजार रुपैयाँसहित २० जना जुवाडेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जुवा खेलाइरहेका राणा गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका थिए । उनले लामो समयदेखि राजनीतिक आडमा घरमै जुवा खेलाउने गरेको सूचना पाएपछि प्रहरी नेपालगन्जबाट राप्तीपारि पुगेको थियो ।

एसपी कार्कीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा केही लामो समयदेखि जुवा खेल्दै आइरहेका समेत छन् । तिहार नजिकिएसँगै जुवातास खेल्नेहरू सक्रिय हुन थालेपछि प्रहरी पनि सक्रिय भएर सो रोक्न लागि परेको उनले बताए ।

उनले जिल्लामा जुवा हुने सम्भावित स्थान र खेलाउने व्यक्तिहरू बारे प्रहरीले धेरै सूचना संकलन गरिसकेको बताउँदै यसपटक जुवातास नियन्त्रण अभियानलाई कडा पारिएको दाबी गरे ।

यसअघि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले जयसपुरबाट १५ जना जुवाडे पक्राउ गरेको थियो । हरेक वर्ष तिहारको समयमा जिल्लामा जुवातासका घटना बढ्ने भएकाले प्रहरीले निगरानी बढाएको छ ।

उनका अनुसार जुवातासका कारण धेरै परिवार समस्यामा पर्ने गरेकाले कानुनले वर्जित गरेका यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी चनाखो रहेको छ ।

दसैँ, तिहार, छठलगायतका चाडपर्वमा मानिसहरूको ठाउँ–ठाउँमा जमघट हुने र यही मौकामा जुवातास समेत खेल्ने गरेको पाइएपछि प्रहरीले सम्भावित क्षेत्रको पहिचान नै गरेर निगरानी बढाएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक ८ गते बिहीबार