सानी हुनाले छुटेको पिरती र बालविवाहको प्रसङ्ग



हाम्रा बालबालिका र किशोर किशोरीहरूका निम्ति हाम्रो समाज जति प्रेरणादायी र जति असल गुरूको भूमिकामा हुनुपथ्र्यो त्यो हुन नसकिरहेको अवस्था छ । यौनका मामलामा समाज झनै कठोर र बन्द प्रकृतिको छ । त्यही भएर नै अँध्यारोमा लुकेर यौनका तानाबाना बुन्ने काम गरिन्छ । तिनै तानाबाना कहिले बालविवाहमा अनुवाद हुन्छन् भने कहिले हत्या र आत्महत्यामा । अतः शारीरिक वृद्धि र विकास सँगसँगै आवश्यकता महसुस हुने यौनका बारेमा घरपरिवारमा समेत खुलेर छलफल हुनु आवश्यक छ । विद्यालयका कक्षाकोठाहरूमा समेत छलफल हुनु आवश्यक छ ।


जीतबहादुर शाह ।

‘सुर्खेत बुलबुल ताल, माया मै सानी-सानो हुनाले छुट्यो मायाजाल ।’

निवृत्त शिक्षक एवम् कलाकार कुलमान नेपालीलाई सोधेपछि थाहा भयो, रत्न रेकर्डिङ संस्थानबाट रेकर्ड भएर यो गीत रेडियो नेपालबाट बज्न थालेको विसं २०३४ सालदेखि रहेछ । त्यतिबेला मेरो उमेरको कुरा गर्दा १२/१३ वर्षको रहेछु ।

यो गीत भने धेरै पहिलेदेखि सुनेझैँ लाग्छ । कहिलेदेखि हो त्यो भने हेक्का भएन । सायद रेडियोमा बज्न थालेदेखि नै सुन्न थालेको हुनुपर्छ । हरेक गीत र सङ्गीतले समाज र समयको एउटा–एउटा कथालाई आफ्नो प्राण बनाएर जन्मिएझैँ बुद्धिबहादुर श्रेष्ठको सङ्कलन एवम् गणेश रसिक, नवीनकिशोर राई, गङ्गा राणा र कमला श्रेष्ठको आवाजको यो गीतले पनि त्यतिबेलाको समाज र समयको एउटा कथा बोकेर जन्मिएझैँ लाग्छ ।

समाज र समयको वास्तविक र यथार्थ कथा समेटेर जन्मिएकै कारण यो गीत अहिलेसम्म पनि अलिकति पनि बुढो नभई सदाबहार जवान भएर बाँचिरहेझैँ लाग्छ । सायद यो गीतले समेटेको कथा यो समाज र यो समयबाट ओझेल पर्दा वा नपर्दा पनि बाँचिरहनेछ । कथा ओझेल प¥यो भने एउटा दुःखद स्मृतिको रूपमा यो गीत बाँचिरहनेछ भने कथा बाँचिरह्यो भने यो गीत एउटा दुःखद वर्तमानको रूपमा हाम्रो समाजमा बाँचिरहनेछ ।

मेरो अनुमान, यो गीत जन्मिँदा यसले बोकेको कथा यस्तो हुनुपर्छ– यो गीत रेडियोमा बज्ने समयको मेरो उमेरझैँ एउटी कुनै किशोरीको उमेर १३/१४ वर्षको थियो होला । शारीरिक हिसाबले भएको परिवर्तनसँगै उनको मन, रुचि र संवेगमा पनि परिवर्तन हुने क्रममा विपरीत लिङ्गप्रतिको आकर्षण बढ्दै गएको हुनुपर्छ ।

यस्तै क्रममा उनीभन्दा उमेरले केही पाको मानिस उनको किशोरावस्थाको जवानीबाट लोभिएर उनीसँग नजिकिएको हुनुपर्छ । उनले पनि आफ्नो उमेरसँगै चढ्दै गरेको जवानीको साथमा पग्लिँदै गएको मनको मन्दिरमा उक्त पाको मानिसलाई सजाउँदै गइन् होला । यही मौकाको फाइदा उठाएर १३/१४ वर्षकै उमेरमा उक्त पाको उमेरको मानिसले उनिसँग विवाहको प्रस्ताव राखेको हुनुपर्छ । उनले नाइँ भन्न सकिनन् होला ।

यसरी उनीहरू विवाहबन्धनमा बाँधिएकै एकाध महिनापछि विवाह हुनुअगाडिको मायाको त्यो बलियो डोरी विस्तारै कमजोर हुँदै गएको हुनुपर्छ र अन्ततः एउटी किशोरीलाई घर न घाटको जीवन बिताउन बाध्य पारियो होला । सायद त्यसैबेला ती किशोरीले यो गीत गाएको सुनेर सङ्कलनकर्ताले सङ्कलन गरेको हुनुपर्छ । यस्तै–यस्तै किशोरी र किशोरहरूको जीवन्त कथा बोकेर यो गीत अहिलेसम्म पनि बाँचिरहेको छ ।

अहिले पनि किशोर किशोरीहरू १३/१४ वर्षकै छँदा भर्खरै आरम्भ भएको विपरीत लिङ्गप्रतिको कौतुहल र कामुकताबाट लिप्त भएर एक अर्कालाई माया गर्न थाल्छन् । त्यतिबेला उनीहरूले एक अर्कालाई यस्तो महसुस हुने गरी माया गर्छन् कि मानौँ यो माया जुगजुगसम्म यसरी नै अगाडि बढिरहनेछ र यसरी नै जुगजुगसम्म बाँचिरहनेछ ।

यस्तै अनुभूतिको परिणामस्वरूप उनीहरू प्रणयसूत्रमा बाँधिन्छन् । त्यसपछि भने उनीहरूका सपनाहरू धुमिल हुन थाल्छन् । पढाइ चौपट हुन थाल्छ । कतिपयले विवाहलाई कारण बनाएर विद्यालय छोड्छन् । विद्यालयको हाजिरी बहीमा कक्षा शिक्षकले पढाइ छोड्नुको कारणमा पोइल गएको भनेर नाम काटिदिन्छन् ।

आयआर्जनका लागि आफूसँग सीप र दक्षता हँुदैन । यस्तैमा उनीहरू बच्चाको बाबुआमासमेत हुन पुग्छन् । जब उनीहरूको बच्चाको जीवन सुरु हुन्छ त्यतिबेलैदेखि उनीहरूको जीवन करिब–करिब समाप्त हुन्छ ।

उनीहरूले आफ्नो निम्ति होइन कि बच्चाको भविष्यका निम्ति संघर्ष गर्नुपर्ने हुन्छ । जुम्लालगायत कतिपय जिल्लामा काम गर्दा पाखापखेरा र गाउँटोलहरूमा आमा सानी र ती सानी आमाको काखमा अझै चिचिला नानी देख्दा उनीहरूको भविष्य सम्झिएर भक्कानिएको यो मन अहिले पनि बालविवाहको कुरा गर्दा खाटा बसेको घाउ कसैले उप्काइदिएझैँ लाग्छ ।

साँच्चि मानिसहरू किन बुझ्दैनन् जो आफू स्वयम् अर्काको खुट्टामा उभिएर एउटा सानो नानीको रूपमा बाँचिरहेको छ त्यही व्यक्ति नै एउटा बच्चाको बाबा वा आमा हुनुप¥यो भने स्थिति कस्तो होला ? यी सबैै क्रियाकलापहरूलाई हामी किन मूकदर्शक र रमिते भएर हेरिरहेका छौँ ? यस्ता क्रियाकलापहरूमा हामी किन पर्दा अगाडि वा पर्दा पछाडिबाट सघाइरहेका छौँ ? सामाजिक कुरीतिको रूपमा यस्ता प्रथाहरूलाई बचाएर हामीले किन हाम्रा सन्ततीहरूलाई जिउँदै मारिरहेका छौँ ?

झोला चलचित्र हेरेपछि त यस्तो लाग्दै छ कि हामी एउटी अवला नारीलाई जिउँदै चितामा जलाएर रमिता हेर्नेहरूका सन्तान भएर होला हाम्रै सन्ततिहरूको भविष्यलाई जोखिममा पार्ने बालविवाह जस्ता कुरीति र कुप्रथालाई पनि समाजबाट कुचो लगाएर बढार्नुपर्नेमा अझै सधैँ आवश्यक परिरहने सामानलाई झैँ जतन गरेर राखिरहेका छौँ । त्यही भएर त हामी पछि परिरहेका छौँ । हामीलाई हाम्रा कतिपय परम्परा र कुप्रथाका भारीले अघि बढ्न दिइरहेका छैनन् । हाम्रो विकास र समुन्नतिका लागि हाम्रा यिनै परम्परा र कुरीतिहरू हाम्रा निम्ति विशालु सर्पलाई दूध खुवाएर पालेझैँ भइरहेका छन् ।

यो पङ्क्तिकारले विद्यालयहरूमा गएर किशोरावस्थाका विद्यार्थीहरूसँग बालविवाहबाट हुने क्षतिको कुरा गर्दा विद्यार्थीहरूका अनुहार गम्भीर भएका दृश्यहरू धेरैपटक देखेको छ । तिनै विद्यार्थीहरूले सुन्दर हुने सम्भावना बोकेको जीवनलाई बालविवाह गरी बरबाद नगर्ने भनी प्रतिबद्धताका हातहरू उठाएको पनि देखेको छ । बर्दियाको एउटा विद्यालयमा कक्षा १० का विद्यार्थी, उनका अभिभावक र शिक्षकहरू सहभागी भएको एउटा विद्यालयमा बालविवाहबाट हुने क्षतिका बारेमा चर्चा गर्दा अभिभावकको रूपमा उपस्थित एउटी विद्यार्थीकी भाउजू आँसु पुछ्दै रोएको समेत बिर्सेको छैन ।

कार्यक्रम सकिएपछि उनीसँग भलाकुसारी गर्दा रुनुको कारणबारे उनले भनेकी थिइन्– ‘मैले पनि पढाइ छोडेर सानैमा विवाह गरेकी हुँ । त्यतिबेला यसरी सहजीकरण गर्ने कोही भइदिएको भए सायद बालविवाहको यो दुष्चक्रमा फसेर जीवनका सम्पूर्ण सम्भावनाहरूलाई बन्ध्याकरण गरी बाँच्नु पर्दैनथ्यो होला ।

त्यही सम्झिएर आँखाबाट आँसु बग्ने गर्दछ ।’ यो भनिरहँदा पनि उनले आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । उनको अनुहारका भावहरू पढ्दा यस्तो लाग्थ्यो कि उनले आफैँले रोजेर गरेको बालविवाहले उनको जीवनमा अनगिन्ति दुःख र पीडाहरू दिइरहेको छ ।

साँच्चि भन्नुपर्दा हाम्रो समाजका निम्ति बालविवाह विकास र समुन्नतिका दृष्टिकोणले एउटा ठूलै बाधकको रूपमा देखा परेको छ ।
विवाह गरेपछि जति प्रयत्न गर्दा पनि विवाह नगरेको झैँ गरी व्यक्तित्व विकासलाई अघि बढाउन सकिँदैन । त्यसैमा पनि कलिलो उमेरमै बच्चाबच्चीको आमा भइयो भने शारीरिक हिसाबले बच्चा र आमाको स्वास्थ्य नै जोखिममा पर्दछ ।

बालविवाहले गर्दा सन्तान जन्माउने अवधि पनि लामो हुने गर्दछ । यसैको नियन्त्रणका लागि जथाभावी रूपमा प्रयोग गरिने परिवार नियोजनका अस्थायी साधनहरूले पनि स्वास्थ्यमा त्यत्तिकै प्रतिकूल असर पार्दछ । यस्तैमा तनको आकर्षणले मिलेको मन क्रमशः तन बिग्रन थालेपछि मन पनि बिग्रन थाल्छ । यसैको परिणामस्वरूप बहुविवाह, महिला हिंसा र जोखिममा परेका बालबालिकाको संख्यामा वृद्धि हुन थाल्छ ।

जीवन जिउनका लागि आवश्यक पर्ने सीप र सिर्जना त एकादेशको कथा भइदिन्छ । सिर्जनाको नाममा सन्तानको सिर्जना (जन्म) र यससँगै दुःख, पीडा र गरिबीको सिर्जनाबाहेक अरू सबै सिर्जनामा भोटेताल्चा झुन्डिन्छ । हातमा सीप र मष्तिष्कमा सिर्जना नभएका जीवनहरू सफल हुनु भनेको काँशी जान कुतीको बाटो हिँडेजस्तै असम्भव हुन्छ भन्दा अन्यथा नहोला ।

मानिसको किशोरावस्था भावना र संवेगको धरातललाई आधार बनाएर देखिने सपनामा सयर गर्ने उमेर हो । यतिबेलाको उनीहरूको भावना र संवेग काँचको घरजस्तै कमजोर हुन्छ । विचार पु¥याउन सकिएन भने त्यो फुट्न र चर्किन पनि सक्छ । अतः यस्तो अवस्थामा परिवारका अग्रज र समाजका अगुवाहरूले उनीहरूलाई राम्रोसँग परामर्श दिन सक्नुपर्दछ । अर्को शब्दमा भन्नुपर्दा परिवार र समाजका अग्रजहरू आफैँमा उनीहरूका निम्ति राम्रो काम गर्नका लागि प्रेरणाका स्रोत हुन सक्नुपर्दछ ।

यतिबेला उनीहरूलाई माया, प्रेम, सहयोग र सद्भावको आवश्यकता पर्दछ । यी कुरा घरपरिवार र विद्यालयबाट प्राप्त भएनन् भने उनीहरू यिनैका प्राप्तिका लागि अर्को विकल्प रोज्न सक्छन् र अर्को बाटो खोज्न सक्छन् । ती बाटाहरू भनेका बालविवाह, लागू औषध दुव्र्यसन, हिंसाजन्य क्रियाकलाप आदि पनि हुन सक्छन् र अन्ततः आत्महत्या पनि उनीहरूको रोजाइमा पर्न सक्छ ।

हाम्रा बालबालिका र किशोर किशोरीहरूका निम्ति हाम्रो समाज जति प्रेरणादायी र जति असल गुरूको भूमिकामा हुनुपथ्र्यो त्यो हुन नसकिरहेको अवस्था छ । यौनका मामलामा समाज झनै कठोर र बन्द प्रकृतिको छ ।

त्यही भएर नै अँध्यारोमा लुकेर यौनका तानाबाना बुन्ने काम गरिन्छ । तिनै तानाबाना कहिले बालविवाहमा अनुवाद हुन्छन् भने कहिले हत्या र आत्महत्यामा । अतः शारीरिक वृद्धि र विकास सँगसँगै आवश्यकता महसुस हुने यौनका बारेमा घरपरिवारमा समेत खुलेर छलफल हुनु आवश्यक छ । विद्यालयका कक्षाकोठाहरूमा समेत छलफल हुनु आवश्यक छ ।

यसका सकारात्मक र नकारात्मक पक्षहरूका बारेमा समेत सरोकारवालाहरूसँग बहस र अन्तरक्रिया हुनु आवश्यक छ । एउटा भकुण्डो जति थिच्यो त्यति उफ्रिएझैँ यौनको सन्दर्भ पनि जति लुकायो त्यति भयावह र त्यति कुरूप भएर देखा पर्दछ ।

यस मामलामा हामी अलि गम्भीर भएर हाम्रा किशोर किशोरीहरूलाई परामर्श प्रदान गर्न सक्यौँ भने मलाई लाग्छ कसैले पनि मै सानी-सानो हुनाले छुट्यो मायाजाल भनेर गीत गाउँदै भक्कानिएर कहालीलाग्दो जीवन बाँच्नुपर्ने छैन ।

प्रकाशित मिति : २०८१ असोज १७ गते बिहीबार