सकियो प्रथम बाँसगढी युवा सम्मेलन–२०८१



गणेश रावत । बाँसगढी ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो भूमि नेपालमा श्रम गरे सुन फलाउन सकिने बताएका छन् । बुधबार प्रथम युवा सम्मेलन बाँसगढी–२०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री आयार्यले सो कुरा बताएका हुन् । उनले नेपालमै प्रचुर सम्भावना हुँदाहुँदै नेपाली युवा पछिल्लो समय सम्भावनाको खोजीमा विदेशी भूमिमा भौँतारिइरहेकोमा दुःख व्यक्त गरे । नेपालमै बसेर धेरै काम गर्न सकिने भएकाले अन्य ठाउँमा भौँतारिनु नपर्ने उनको भनाइ थियो ।

‘यहीँ बसेर तपाईं हामीले सुन फलाउन सकिन्छ, अन्यत्र जानुपर्दैन,’ मुख्यमन्त्री आचार्यले भने, ‘म अनुरोध गर्न चाहन्छु– आफूभित्र रहेको सीपलाई यहीँ निखार्दै जानुभयो भने भोलि तपाईं उद्योगपति बन्न सक्नुहुन्छ । त्यसैले त्यो दिशातर्फ अग्रसर भएर लाग्नुस् ।’ त्यो हैसियत र ल्याकत हरेक नेपाली युवाले राख्ने पनि उनको भनाइ थियो ।

सिङ्गो लुम्बिनी प्रदेशमै बाँसगढी नगरपालिकाले ऐतिहासिक रूपमा युवा सम्मेलनको आयोजना गरेकोमा उनले प्रशंसा गरे । युवाहरूलाई उद्यममा जोड्न र स्वरोजगार बनाउन नगरपालिकाले गरेको काम प्रशंसायोग्य रहेको उनको भनाइ थियो । युवाहरूको रुचि अनुरूपको व्यवसाय छनोट गरेर उनीहरूलाई स्वरोजगार बनाउन तीनै तहका सरकारहरूले सहयोग गर्ने उनले बताए ।

‘यो मुलुक बनाउने जिम्मा युवाहरूको काँधमा रहेको उनले बताए । ‘यो मुलुक बनाउने भनेको तपाईं हामीले नै हो,’ मुख्यमन्त्री आचार्यले प्रश्न गर्दै भने, ‘हाम्रो देशको विकास तपाईं हामीले नगरे अरू कसले गरिदिन्छ ?’ सबै जना आ–आफ्नो ठाउँबाट सकारात्मक सोच लिएर अघि बढ्नुपर्ने आवश्यकता उनले औँल्याए ।

बाँसगढी सम्भावनाले भरिपूर्ण नगरपालिका रहेकाले पर्यटन र कृषिबाटै आत्मनिर्भर बन्न सकिने उनको धारणा थियो । ‘बर्दिया हरेक दृष्टिकोणले भरिपूर्ण र अन्नको भण्डारसमेत हो,’ उनले भने, ‘हामीले यसको सदुपयोग गर्न सक्नुपर्छ ।’ उनले युवा रोजगारीका लागि रणनीतिक योजना बनाउन र कार्यक्रमको दीर्घकालीन सफलताको शुभकामनासमेत दिए । जुन लक्ष्य र उद्देश्य बोकेर नगरपालिकाले यो कार्यक्रमको आयोजना गरेको हो त्यसअनुसार अघि बढ्न आग्रह गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धतासमेत जनाए ।

स्थानीय युवाहरूलाई रोजगारीमा जोड्ने वातावरण सिर्जना गर्न प्रथम युवा सम्मेलन बाँसगढी २०८१ आयोजना गरिएको बाँसगढी नगरपालिका प्रमुख खड्कबहादुर खड्काले जानकारी दिए । समाजमा कलंकका रूपमा रहेका बालविवाह, लागूऔषध दुव्र्यसनी न्यूनीकरणलगायतका साझा समस्या समाधान गर्न यो सम्मेलनमार्फत अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।

रोजगारी सिर्जना गर्न स्थापना गरिने लघु उद्यमका लागि प्राविधिक, त्यसका निम्ति चालु पँुजी स्थानीय सरकारको तर्फबाट व्यवस्था गरिने पनि उनले जनाए । सम्पन्न गर्न नसकेका ठूला काम प्रदेश र संघ सरकारसँग सहकार्य गर्दै स्वरोजगार सिर्जना गर्न लगानी गर्ने वातावरण तयार पारिने, स्थानीय सरकारले जिम्मेवारी लिने गरी लगानीको वातावरण मिलाइने उनको भनाइ थियो ।

कृषि शाखा, महिला तथा बालबालिका शाखा, रोजगार तथा उद्यम शाखाका माध्यमबाट एकीकृत रूपमा आवश्यता परिपूर्ति गरिने नगर प्रमुख खड्काले बताए । बाँसगढीका सबै नागरिकको चाहनाअनुरुप समृद्ध बाँसगढी बनाउन साझा संकल्प घोषणा गरिने खड्काले बताए ।
कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार तथा आईटी विज्ञ रेगबहादुर भण्डारी र प्रधानमन्त्री आधुनिक कृषि परियोजनाका कृषि विज्ञ वीरेन्द्र पराजुलीले बाँसगढीका सम्भावनाबारे प्रस्तुति दिएका थिए । बाँसगढीको समृद्धिका लागि कृषि, पर्यटन, व्यापार व्यवसाय र स्थानीयस्तरको उत्पादनलाई जोड दिनुपर्ने उनीहरूको भनाइ थियो ।

नेपालमा अनेकौँ सम्भावना हुुँदाहुँदै पनि पछिल्लो समय युवाहरू बिदेसिनु दुःखद् रहेको उनीहरूको धारणा थियो । स्थानीय सरकारले युवाहरूको महत्वलाई बुझेर यस्तो सम्मेलन गर्नु आफैँमा सकारात्मक रहेको स्थानीय युवाहरूको भनाइ छ ।

बाँसगढीका युवाहरूलाई उद्यमशीलतामा जोड्न यसले मद्दत पुग्ने विश्वास उनीहरूले लिएका छन् । वैदेशिक रोजगारीमा जानबाट युवाहरूलाई रोक्न र स्वदेशमै रोजगारी सिर्जना गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास युवाहरूले लिएका छन् ।

‘म बनाउँछु मेरो पालिका’ भन्ने मूल नारासहित प्रथम बाँसगढी सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा स्थानीय युवाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । विभिन्न सांस्कृतिक प्रस्तुतिसहित युवाहरूको सो सम्मेलनमा सहभागिता जनाएका थिए ।

१० बुँदे घोषणापत्र जारी

बाँसगढी नगरपालिकाले प्रथम युवा सम्मेलनबाट १०बँुदे घोषणापत्र जारी गरेको छ । ‘म बनाउँछु ः मेरो पालिका’ भन्ने मूल नारासहित ३ सय ३७ जना युवाहरूको सहभागितामा बुधबार घोषणापत्र जारी भएको हो ।

नागरिकको श्रम र पसिना ः राष्ट्र निर्माणको गहना, स्थानीय रोजगार रणनीति निर्माणका लागि युवाहरूको सहभागिता जस्ता नारा तय गर्दै बुधबार बाँसगढी नगरपालिकाको आयोजनामा प्रथम युवा सम्मेलन–२०८१ सम्पन्न भएको हो ।

यस्तो छ घोषणापत्र

१. युवामैत्री स्थानीय शासन प्रवद्र्धन गरी शान्ति, सुशासन, समृद्धि र विकासका लागि नीति निर्माण, निर्णय एवम् कार्यान्वयन प्रक्रियामा युवा सहभागिता सुनिश्चित गर्ने, साथै स्थानीय विकास निर्माणमा युवाहरूको सहभागिता, निगरानी÷चासो तथा अपनत्व विकास हुने वातावरणको सिर्जना गर्ने ।

२. स्थानीय युवा नीति तथा स्थानीय रोजगार रणनीतिक योजना तर्जुमा गरी युवासम्बन्धी योजना तथा कार्यक्रम बनाई लागू गर्ने ।

३. स्थानीय स्रोत साधनहरूको पहिचान, परिचालन तथा प्रभावकारी उपयोगमार्फत युवा उद्यमशिलता, रोजगार तथा स्वरोजगार सिर्जना गर्नका लागि सीपमूलक तालिम सञ्चालन गर्न आवश्यक सहयोग उपलब्ध गराउन नगरपालिकामा आवश्यक संयन्त्र विकास गर्ने ।

४. नगरभित्रका युवा समूह तथा सञ्जालहरूको क्षमता विकास, नेतृत्व विकास, व्यक्तित्व विकास र संस्थागत विकासमा सहयोग तथा परिचालन गरी डिजिटल माध्यमबाट गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्तिबाट जोगाउन सचेतनाका कार्यक्रम सञ्चालन गर्न, सामाजिक कुरीति, अन्धविश्वास, विभेद, असमानता, बालविवाह र लागूपदार्थ दुव्र्यसनीजस्ता कुलतबाट जोगाउन नीतिगत व्यवस्था गर्दै आवश्यक सचेतीकरणका अभियान सञ्चालन गर्न पहल गर्ने ।

५. नवीनतम् शैक्षिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय शिक्षा, युवाहरूलाई लक्षित गरी पढ्दै कमाउँदै कार्यक्रम, निःशुल्क उच्च शिक्षा तथा जीवनोपयोगी प्राविधिक शिक्षाको व्यवस्था गरी दिगो रोजगारीको सुनिश्चितता गर्ने ।

६. उत्पादन र उत्पादकत्व वृद्धि गर्दै युवाहरूको स्वरोजगार अभिवृद्धिका लागि स्थानीय तथा परम्परागत एवम् आधुनिक प्रविधिको उपयोग गरी कृषि तथा गैरकृषि स्थानीय उत्पादन, जैविक कृषि प्रणालीको प्रवद्र्धन, सीप विकास, लगानी, उत्पादन र बजारीकरणका लागि स्थानीय तहसँगको समन्वयमा संघीय सरकार, प्रदेश सरकार, विभिन्न संघसंस्था तथा निजी क्षेत्रको सहयोग तथा सहकार्यमा सीपमूलक तालिम एवम् वित्तीय साक्षरता कक्षा तथा बजारीकरणको सुनिश्चितता गर्ने ।

७. सहुलियत ब्याजदरमा उचित पुँजी प्राप्त गर्न सकिने संयन्त्रको व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य, समन्वय तथा सहजीकरण गर्ने, नवप्रवर्तन तथा स्टार्टअप बिजनेस प्रवद्र्धनमा सहयोग गर्ने ।

८. प्रविधिको प्रयोग गरी डिजिटल प्लेटफर्महरूमार्फत काम गर्ने (जीआईजी वर्कर)हरूको प्रवद्र्धन गर्ने प्रणालीको विकास गरी आंशिक रोजगारी, पूर्ण रोजगारीमार्फत युवाहरूमा उद्यमशिलता र नवीनतालाई बढावा दिन, व्यक्तिगत, पारिवारिक, आर्थिक, सामाजिक चुनौतीको नवीन समाधानहरू खोज्न अभिप्रेरित गर्न, युवाहरूलाई परिवर्तन र प्रगतिको लागि उत्प्रेरक बनाउन युवा पुस्तालाई उद्यमी, इन्नोभेटर र परिवर्तनकर्ता बन्ने तथा सामाजिक सद्भावको बाटोमा हिँडाउन भूमिका खेल्ने वातावरणको निर्माण गर्ने ।

९. पर्यावरण संरक्षण, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, फोहोर व्यवस्थापन, ग्रिन सिटी, स्मार्ट भिलेज निर्माण तथा दिगो विकासमा युवाको परिचालनको व्यवस्था मिलाउने ।

१०. युवा विकास, सशक्तीकरण एवम् पछाडि पारिएका समुदायहरूको मूल प्रवाहीकरण गर्दै समतामूलक समाजको निर्माण गर्ने विषयमा नेपाल सरकार, प्रदेश सरकारलाई सुझाव दिने ।

प्रकाशित मिति : २०८१ कात्तिक ८ गते बिहीबार