पुष्प खेतीमा देउखुरीका किसान आकर्षित



शिवु खनाल । दाङ ।

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार (दीपावली) सुरु हुन केहीदिन मात्रै बाँकी छ । तिहार नजिकिएसँगै बजार होस् या खेत, फूलमय बनेका छन् । तिहारका लागि तयार गर्नेगरी केही महिना अघिदेखि नै देउखुरीका किसान, विभिन्न संघसस्था तथा समूह व्यावसायिक रूपमै फूलखेतीमा व्यस्त छन् ।

व्यावसायिक फूलखेतीमा आकर्षण बढेसँगै भारतबाट फूल आयातमा पनि कमी आएको व्यवसायीहरू बताउँछन् । नेपालमा सबैभन्दा बढी फूलको खपत हुने समय भनेको तिहार हो । तिहारमा प्रयोग हुने सयपत्री, मखमलीलगायतका फूलहरूको स्रोत केही वर्षअघिसम्म भारत थियो । तर, अहिले भारतीय फूललाई विस्थापित गर्नेगरी नेपाली कृषकहरू फूलको व्यावसायिक खेतीमा संलग्न छन् ।

यसबाट फूलमा पनि नेपाल आत्मनिर्भर बन्ने बाटोमा देखिन्छ । तिहारमा बढी प्रयोग हुने सयपत्री र मखमली फूलको उत्पादन नेपालमै हुन थालेपछि भारतबाट यसको आयातमा कमी आउनुले पनि यसलाई पुष्टि गर्दछ । तिहारलगायत विभिन्न पर्व एवम् उत्सव तथा कार्यक्रममा प्रयोग हुने सयपत्री फूलको मालाका लागि सधैँ भारतमा आत्मनिर्भर हुँदा वार्षिक लाखौँ रुपैयाँ बाहिरिने गरेको थियो ।

तर, पछिल्ला केही वर्षदेखि देउखुरीसहित देशका विभिन्न स्थानमा सयपत्री फूलको व्यावसायिक खेती हुन थालेपछि पाएसम्म नेपाली सयपत्री फूलकै मालाको प्रयोग बढ्दो छ । तिहारमा एकैपटक धेरै फूल खपत हुनेहुँदा पनि भारतको भर पर्नुपरेको व्यवसायीहरू बताउँछन् ।

कृषक र व्यवसायीका अनुसार तिहारबाहेकको समयमा नेपाल सयपत्री फूलका लागि भारतको भर पर्नुपर्ने अवस्थामा छैन । तिहारलगायत यस क्षेत्रमा लाग्ने मेला, महोत्सव तथा सभा समारोहमा नेपालमै उत्पादित सयपत्री फूलको माला प्रयोग गर्ने गरिएको छ ।

दाङको लमही नगरपालिका–६ कुलमोहर निवासी डिलबहादुर आलेले व्यावसायिक फूलको खेती गर्दै आएका छन् । तिहारलाई मध्यनजर गर्दै सयपत्री फूलको उत्पादन गर्ने गरेको उनले बताए ।

गतवर्ष दुई कठ्ठा जग्गामा ३० हजार लगानी लगाएर गरेको उत्पादन सफल भएपछि अहिले आठ कठ्ठा जग्गा लिजमा लिएर १ लाख लगानी गरेको उनले बताए । यहाँका किसानले उत्पादन गरेका फूल देउखुरी, लमही, भालुवाङ्, राजपुर, अमिलिया, सिसहनियालगायतका बजारमा बिक्री हुने गरेको किसानहरूको भनाइ छ ।

लमही नगरपालिका–५ कोलही निवासी किशोर रेग्मीले पनि तिहारलाई लक्षित गरेरै सयपत्रीको उत्पादन गरेका छन् । उनले सयपत्री फूलको माग अत्यधिक भएकाले केही क्षेत्रमा लगाइएको फूल पनि कम भएको बताए । नेपाली किसान फूलखेतीमा आकर्षित भएपछि भारतबाट हुँदै आएको फूल निर्यातमा कमी आएको लमही नगरपालिकाले जनाएको छ ।

लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले भारतीय फूलको आयातलाई रोक्न तथा लमही नगरपालिकालाई सयपत्री फूलमा आत्मनिर्भर बनाउन व्यावसायिक फूलखेती गर्ने कृषकको सङ्ख्या बढेको दाबी गरे ।

नगर क्षेत्रलाई फूलमा आत्मनिर्भर बनाउन लमही नगरपालिकाले पनि व्यावसायिक रूपमा गरिने पुष्प खेतीका लागि बीउ उपलब्ध गराउने योजना अगाडि सारेको अधिकृत देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ कात्तिक ८ गते बिहीबार