शुक्लाफाँटामा जङ्गल सफारी सुरु



कन्चनपुर ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । एक साताअघि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो । गत असारमा आएको बाढीका कारण पर्यटक पथमा क्षति पुगेका कारण यस वर्ष ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।

‘अन्य वर्षको भन्दा यस पटक ढिलो गरी हामीले जङ्गल सफारी खुला गरेका छौँ,’ उनले भने, ‘निकुञ्जभित्र पर्यटक पथमा रहेका सबै पुल र बाटोमा बाढीले क्षति गरेको र मर्मतका लागि समय लागेका कारण ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको हो ।’

उनले बाढीले सडक र काठेपुलहरू बाढी क्षति गरेको बताए । ‘अहिले पनि सहायक बाटाहरूमा ग्राभेलिङलगायतको काम गर्न बाँकी छ,’ संरक्षण अधिकृत ऐरले भने, ‘निकुञ्ज कार्यालयले पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेको छ ।’

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगाका लागि प्रख्यात छ । निकुञ्जको विशाल घाँसेमैदानमा दुई हजार बढी बाह्रसिंगाको झुण्ड देख्न पाइन्छ ।

त्यसैगरी, निकुञ्ज पाटेबाघका लागि पनि प्रख्यात छ । निकुञ्जले गरेको पछिल्लो गणनाअनुसार यहाँ बाघको सङ्ख्या ४४ पुगेको छ । त्यसैगरी, गैँडालगायत दुर्लभ वन्यजन्तुका लागि पनि निकुञ्ज प्रसिद्ध छ ।

वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिका लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, २०१३ को गणनाअनुसार ८०–९० वटा नीलगाई र ४ सय ४९ प्रजातिका चरालगायत रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक ८ गते बिहीबार