कोहलपुरका छाडा चौपाया गौ धाममा व्यवस्थापन



कोहलपुर क्षेत्रमा रहेका ठूलो सङ्ख्याका छाडा पशुचौपाया व्यवस्थापनका लागि कोहलपुरमा रहेको गौशालाले नभ्याउने भएकाले राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगन्जमा रहेको मंगल राधिका सदानन्द गौ सेवा धाममा पु¥याउने गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए । उनका अनुसार छाडा पशुचौपायाका कारण नगरपालिकाको हरित नगर अभियानमा समेत असर परिरहेकाले त्यसको व्यवस्थापन गर्न खोजिएको हो ।
गणेश रावत । कोहलपुर ।

पश्चिम नेपालका अधिकांश मुख्य सहरहरूको चुनौतीको रूपमा छाडा पशुचौपाया व्यवस्थापन रहेको छ । बुटवल, दाङ, नेपालगन्ज र कोहलपुरलगायतका ठूला सहरहरूमा समेत छाडा पशुचौपाया व्यवस्थापन गर्न स्थानीय सरकारलाई चुनौती बन्ने गरेको छ । तर, पछिल्लो समय कोहलपुर नगरपालिकाले भने छाडा पशुचौपाया व्यवस्थापन गर्न थालेको छ ।

सधैँजसो जनप्रतिनिधि अर्थात स्थानीय सरकारको टाउको दुखाइको विषय बनेका छाडा पशुचौपाया व्यवस्थापनमा अहिले नगरपालिका कटिबद्ध भएर लागिरहेको छ । नगरपालिका क्षेत्रमा रहेका छाडा पशुचौपायालाई इलाका प्रहरी कार्यालय कोहलपुर र ट्राफिक प्रहरीको समन्वयमा नगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापन गर्न थालेको हो ।

कोहलपुर नगरपालिकाका राजमार्ग र सडकखण्डहरूमा यत्रतत्र भेटिने पशुचौपाया अहिले नगरपालिकाले संकलन गरेर राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगन्जमा रहेको मंगल राधिका सदानन्द गौ सेवा धाममा पु¥याउने गरेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।

छाडा पशुचौपाया कोहलपुरको मात्रै नभई अन्य ठाउँहरूमा पनि व्यवस्थापनका लागि चुनौती बन्ने गरेको उनले बताए । यसले एकातिर सवारी दुर्घटनाको जोखिम बढाएको छ भने अर्काेतिर स्वयम् आफैँ पशु असुरक्षित रहेको उनको भनाइ छ ।

‘मानव र पशुचौपाया सुरक्षित रहन र बिरुवा संरक्षण गर्न हामीले छाडा पशुचौपाया व्यवस्थापनलाई प्राथमिकतामा राखेका हौँ,’ नगर प्रहरी प्रमुख थापाले भने, ‘पहिलोपटक नगर क्षेत्रमा रहेका ९१ वटा छाडा पशुचौपाया संकलन ग¥यौँ, सबैको सहयोगले छाडा पशुचौपाया गौ सेवा धाममा पु¥याएर व्यवस्थापन गरिहेका छौँ ।’ छाडा पशुचौपाया व्यवस्थापन गर्न नगरपालिकाले अभियानका रूपमा काम गरिरहेको उनको दाबी छ ।

त्यस्तै, दोस्रोपटक छुटेका र विभिन्न वडाहरूमा छाडा रूपमा देखापरेका २० वटा छाडा पशुचौपायाको पनि व्यवस्थापन गरिएको उनले जानकारी दिए । तेस्रोपटक पनि छुटपुट रहेका ३२ वटा छाडा पशुचौपायाको व्यवस्थापन गरिएको छ । अहिले सम्म १ सय ४३ वटा छाडा पशुचौपाया व्यवस्थापन गरिएको उनले बताए । ‘छाडा पशुचौपाया कोहलपुरबाट गौशालासम्म पु¥याउन अनेकौँ दुःख दिने गर्छन्,’ नगर प्रहरी प्रमुख थापाले भने, ‘६ घण्टा पैदल हिँडेर कष्ट खेप्दै जसोतसो व्यवस्थापन गर्ने गरेका छौँ ।’

स्थानीयले गाईले दूध दिउन्जेल पाल्ने र दूध दिन छाड्नासाथ छाडा छाड्ने प्रवृत्तिले यो समस्या आएको उनले बताए । यसको व्यवस्थापन गर्न थालेपश्चात अहिले दुर्घटना कम हुनुका साथै बिरूवा संरक्षण गर्न सहज भएको उनको भनाइ छ ।

‘तर, हामीले गौ धाममा पु¥याउँदा पनि बैजनाथ गाउँपालिका, जानकी गाउँपालिककाबाट आएर एनसिसिएन, चप्परगौडीलगायतका स्थानमा छाडा पशुचौपाया बस्ने गर्छन्,’ उनले भने, ‘यसलाई व्यवस्थापन गर्न पशु शाखाबाट गाईको पशु बिमा गर्ने र सूचीकरण गरेर राख्दा छाडा पशुचौपाया भेटिनासाथ चिन्न र कारबाही गर्न सहज हुन्छ ।’

कोहलपुर क्षेत्रमा रहेका ठूलो सङ्ख्याका छाडा पशुचौपाया व्यवस्थापनका लागि कोहलपुरमा रहेको गौशालाले नभ्याउने भएकाले राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगन्जमा रहेको मंगल राधिका सदानन्द गौ सेवा धाममा पु¥याउने गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए । चरण क्षेत्र कम रहेकाले आपतकालीन रूपमा अशक्त र दुर्घटना भएका पशुहरू मात्रै कोहलपुरमा रहेको गौशालामा पु¥याउने गरेको उनले जानकारी दिए ।

उनका अनुसार छाडा पशुचौपायाका कारण नगरपालिकाको हरित नगर अभियानमा समेत असर परिरहेकाले त्यसको व्यवस्थापन गर्न खोजिएको हो । छाडा पशुचौपायाको व्यवस्थापन गर्दा नगरपालिका मात्र नभई स्थानीय सबैलाई धेरै राहत भएको स्थानीय बताउँछन् । बालिनाली, पसलहरूमा हुने फोहोर, बिरुवा नष्ट र सडक दुर्घटना यसले कम गरेको छ ।

काञ्जीहाउस पठाउँदै नेपालगन्ज

बाँके । सडकमा छाडा छोडिएका पशुचौपायाको बिगबिगीले दुर्घटनाको जोखिम बढाएपछि नेपालगन्ज उपमहानगरपालिकाले प्रत्येक शनिबार सडकमा छाडा छोडिएका पशुचौपायालाई काञ्जीहाउस पु¥याउने थालेको छ । शनिबार नगरका विभिन्न सडकमा छरिएर रहेका पशुचौपायालाई एकत्रित गरेर नेपालगन्ज उपमहानगरपालिका– २१ विर्तास्थित काञ्जीहाउस पु¥याउने गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आ–आफ्ना पशुचौपाया घरमै बाँध्न आग्रह गर्दै आएका छन् । तर, छाडा छोड्ने प्रवृत्ति रोकिएको छैन । नगर प्रमुख विष्टले नगरबासी सबैले यसमा गम्भीरता देखाउनुपर्ने बताए । ‘छाडा पशुरहित सडक बनाउन सबैको सहयोग आवश्यक छ,’ उनले भने ।

घरधनीले आफ्नो पशुहरू सडकमै छोडिदिने र खुला सीमा नाकाका कारण पनि नेपालगन्जका सडकमा छाडा पशुचौपायाको सङ्ख्या उल्लेख्य हुने गरेको छ । छाडा पशुका कारण साना ठूला दुर्घटना भइरहेका हुन्छन् । कतिले ज्यानै गुमाउनुपरेको अवस्था छ भने कति घाइते हुने गरेका छन् ।

प्रकाशित मिति : २०८१ कात्तिक ७ गते बुधबार