कोहलपुर उ.वा. संघ चुनाव : फेरि लोकतान्त्रिककै बर्चस्व



बाँके ।

कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यावसायिक समूहले आफ्नो बर्चस्व कायम गरेको छ । शनिबार भएको चुनावबाट संघको आगामी कार्यकालका लागि चार जनाबाहेक अन्य सबै पदहरूमा अध्यक्षसहित लोकतान्त्रिक समूहका उम्मेदवारहरू विजयी भएका छन् ।

आइतबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार फेरि पनि संघमा लोकतान्त्रिक समूहले आफ्नो बर्चस्व कायम गरेको हो । संघको अध्यक्षमा लोकतान्त्रिक समूहका प्रदिप भट्टराई १४९ मतान्तरले विजयी भएका छन् ।

कुल खसेको एक हजार ४९५ मतमध्ये भट्टराईले ७९५ मत प्राप्त गरेका थिए । प्रगतिशील व्यावसायिक प्यानलबाट अध्यक्ष पदकी उम्मेदवार अञ्जना धितालले ६४६ मत ल्याएकी थिइन् ।

संघको आगामी तीन वर्षे कार्यकालका लागि निर्वाचित भएका भट्टराई विभिन्न पदमा बसेर २०७२ सालदेखि निरन्तर तीन कार्यकाल बिताइसकेका छन् । अध्यक्षमा निर्वाचित हुनुअघि उनी संघको वरिष्ठ उपाध्यक्ष रहेका थिए । संघको कार्यसमिति सदस्य, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै उनी अध्यक्षको कुर्सीमा पुगेका हुन् ।

शनिबार भएको चुनावमा संघको वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक समूहकै चण्डीप्रसाद गैरे विजयी भएका छन् । उनले प्रगतिशील प्यानलका भूपेन्द्रप्रसाद काफ्लेलाई पराजित गरे । ७८४ मत ल्याउँदै गैरे विजयी हुँदा काफ्लेले ६४३ मतमा चित्त बुझाउनुप¥र्यो । गैरे कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै संघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

उद्योगतर्फको उपाध्यक्षमा भने १ मतान्तरले प्रगतिशील प्यानलका अर्जुनकुमार सुवेदी विजयी भए । उनले लोकतान्त्रिक समूहका हरिशरण के.सीलाई १ मतले पराजित गरेका थिए । क्रमशः सुवेदीले ७१६ र केसीले ७१५ मत ल्याए ।

बस्तुगततर्फको उपाध्यक्षमा लोकतान्त्रिक समूहका राकेश बिष्ट भारी मतान्तरले विजयी भए । ८४९ मत ल्याउँदै बिष्ट विजयी हुँदा प्रतिद्वन्द्वी प्रगतिशील प्यानलका रुपककुमार भुजेलले ५८० मतमा चित्त बुझाए ।

महासचिवमा लोकतान्त्रिकका दिपकबहादुर भण्डारी विजयी भएका छन् । उनले प्रगतिशीलका दिपक अर्याललाई पराजित गरे । भण्डारी ८३५ मत ल्याएर विजयी हुँदा अर्यालले ५६९ मत पाए ।

संघको उपमहासचिवमा लोकतान्त्रिक समूहका राजकुमार पौडेलले बाजी मारे । उनले ७६५ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी प्रगतिशीलका गोपालप्रसाद अधिकारीले ६४५ मत प्राप्त गरेका थिए । लोकतान्त्रिक समूहकै उम्मेदवार भूमिराज कँडेल ७४८ मत ल्याउँदै कोषाध्यक्ष पदमा विजयी भए । निकटम प्रतिद्वन्द्वी प्रगतिशिलकी गंगाकुमारी बगालेले ६६७ मतमा चित्त बुझाइन् ।

सहकोषाध्यक्षमा भने प्रगतिशील प्यानलका टंकप्रसाद खनालले लोकतान्त्रिकका देविलाल विश्वकर्मालाई पराजित गरे । खनाल ७७६ मत ल्याउँदै विजयी हुँदा विश्वकर्माले ६२८ मत प्राप्त गर्दै पराजित भए ।

संघको कार्यसमिति सदस्यहरूमा दुई जनाबाहेक अरु सबै लोकतान्त्रिक समावेशी व्यावसायिक समूहबाट विजयी भएका छन् ।
खुला सदस्यहरूमा अंकित सिग्देल, ढकबहादुर थारू, अमृत प्रसाद पौडेल, अशोक गौडेल, किरण कुमार विक, किरणप्रसाद श्रेष्ठ, गिरीधारी शर्मा सुवेदी, गौरव श्रेष्ठ, नोखराज रावत, श्रीधर घिमिरे र एशोसियट सदस्यमा राजेन्द्रप्रसाद रिजाल विजयी भए ।

महिला सदस्यहरूमा ममता थापा र सीता योगी अधिकारी विजयी भएका छन् । सदस्यमा विजयी भएका सिग्देल र थारू मात्रै प्रगतिशील प्यानलका हुन् ।

प्रकाशित मिति : २०८१ कात्तिक ५ गते सोमबार