लुम्बिनी प्राविधिक विश्वविद्यालयमा बढ्दै विद्यार्थीको आकर्षण



शिक्षाको गुणस्तरमा सम्झौता नगर्ने, समयतालिका अनुसार विषयहरू पूरा गर्ने र दक्ष जनशक्ति उत्पादन गरेर प्राविधिक शिक्षामा आकर्षण बढाउन विश्वविद्यालय प्रतिबद्ध रहेको रजिष्ट्रार रेगबहादुर भण्डारी बताउँछन् । उनका अनुसार अहिले लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशबाट समेत विद्यार्थीहरू आइरहेकोमा सीमावर्ती भारतका विद्यार्थीहरूलाई पनि आकर्षण गर्ने लक्ष्य रहेको छ ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएको दुई वर्ष बित्दा दुई वटा संस्थानहरूका चार वटा विषय सञ्चालनको अवस्थामा पुगेको छ । खजुरा गाउँपालिकाको रनियापुरमा केन्द्र रहने गरी लुम्बिनी प्रदेश सरकारले विश्वविद्यालयको स्थापना गरेको थियो ।

विश्वविद्यालयले यसअघि सूचना प्रविधितर्फ बि टेक इन आइटी र बि टेक इन कम्प्युटर साइन्स एण्ड आर्टिफिसियल इन्टेलिजेन्सको पढाई सुरु गरिरहेको छ । अब भने इन्जिनियरिङतर्फ बि टेक इन सिभिल र बि टेक इन आइटी इन्जिनियरिङको पढाईका लागि भर्ना प्रक्रिया सुरु गरिएको विश्वविद्यालयले जानकारी दिएको छ ।

हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित वन कार्यालय परिसरमा रहेको भवनबाट विश्वविद्यालय सञ्चालित रहेको छ । मंसिरबाट पढाई सुरु गर्नेगरी बि टेक इन सिभिल र बि टेक इन आइटी इन्जिनियरिङको भर्ना प्रक्रिया सुरु गरिएको विश्वविद्यालयका रजिष्ट्रार रेगबहादुर भण्डारीले जानकारी दिए ।

उनका सूचना प्रविधितर्फ बि टेक इन आइटी र बि टेक इन कम्प्युटर साइन्स एण्ड आर्टिफिसियल इन्टेलिजेन्सको पहिलो ब्याचका विद्यार्थीहरू अहिले तेस्रो सेमेस्टरमा अध्ययन गरिरहेका छन् । दोस्रो ब्याचको लागि पनि मंसिरबाटै पढाई सुरु गर्नेगरी भर्ना प्रक्रिया अन्तिम चरणमा रहेको भण्डारीले मिसन टुडेलाई जानकारी दिए ।

सूचना प्रविधितर्फका दुई वटै विषयका विद्यार्थीको आकर्षण आशा जगाउने खालको रहेको भण्डारीको भनाइ छ । पहिलो ब्याचमा दुवै विषयमा गरी ३३ जना भर्ना भएकोमा दोस्रो ब्याचमा सोमबारसम्म ५५ जना विद्यार्थी भर्ना भइसकेको उनले जानकारी दिए । एउटा विषयमा अधिकतम ४८ जना भर्ना गरिने र एउटा कक्षामा अधिकतम २४ जना विद्यार्थी राखिने लुम्बिनी प्राविधिक विश्वविद्यालयको नीति रहेको छ ।

विश्वविद्यालयको सुरुवाती चरण रहेकोले अहिले देखिएको विद्यार्थी आकर्षण आशा जगाउने खालको भएपनि यतिमै सन्तोष भएर बस्न नहुने रजिष्ट्रार भण्डारी बताउँछन् ।

‘पहिलो वर्ष भएकोले सबैलाई थाहा नभएको पनि हुनसक्छ । हामीले विश्वविद्यालयको बारेमा अझै बढी प्रचार प्रसार गर्नु पनि जरुरी छ । विद्यार्थी सङ्ख्या बढाउँदै लैजानुपर्छ भनेर हामी प्रयास गरिरहेका छौँ,’ भण्डारीले मिसन टुडेसँग भने ।

अहिले पढाई भइरहेका दुई वटै विषयमा विद्यार्थीको उत्तीर्ण प्रतिशत पनि सन्तोषजनक रहेको विश्वविद्यालयको दाबी रहेको छ । एउटा विषयमा जाँच दिएका सबै उत्तीर्ण भएका छन् भने अर्काे विषयमा पाँच जना अनुत्तीर्ण भएका छन् ।

अब सञ्चालन हुने इन्जिनियरिङतर्फका विषयमा पनि ४८ जना विद्यार्थी नै भर्ना लिइने विश्वविद्यालयको नीति रहेको छ । चार वर्षमा ८ सेमेस्टर गरी पूरा गरिने विषयमा प्रति ब्याचमा ६ जना जेहेन्दार तथा पिछडिएका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, प्रति सेमेस्टरको नतिजामा पहिलो ६ जनालाई ७५ प्रतिशत छुट, त्यसपछिका ६ जनालाई ५० प्रतिशत र त्यसपछिका ६ जनालाई २५ प्रतिशत छुटको व्यवस्था पनि विश्वविद्यालयले गरेको भण्डारीले जानकारी दिए ।

सम्बन्धित विषयका लागि तोकिएको समयमै परीक्षासमेत सञ्चालन गरी नतिजा प्रकाशन गरिसक्नेगरी विश्वविद्यालयले काम गरिरहेको बताइएको छ । उक्त प्रतिवद्धताको उदाहरण अहिले सञ्चालन भइरहेका विभिन्न विषयहरूको गति रहेको भण्डारीको भनाइ छ ।

गतवर्ष मंसिर १३ गतेबाट पढाई सुरु गरिएका दुवै विषयको दोस्रो सेमेस्टरको नतीजा समेत आएर तेस्रो सेमेस्टरको पढाइसमेत सुरु भइसकेको उनले बताए ।

शिक्षाको गुणस्तरमा सम्झौता नगर्ने, समयतालिका अनुसार विषयहरू पूरा गर्ने र दक्ष जनशक्ति उत्पादन गरेर प्राविधिक शिक्षामा आकर्षण बढाउन विश्वविद्यालय प्रतिबद्ध रहेको भण्डारीको भनाइ छ । अहिले लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशबाट समेत विद्यार्थीहरू आइरहेकोमा सीमावर्ती भारतका विद्यार्थीहरूलाई पनि आकर्षण गर्ने लक्ष्य रहेको उनले बताए । सबै विषयहरू बजारको माग र आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको विश्वविद्यालयको दाबी छ ।

नेपालमा एआई सम्बन्धिको विषय पढाइ हुने काठमाडाँै विश्वविद्यालयपछि लुम्बिनी विश्वविद्यालय मात्रै रहेको उनको भनाइ छ । निकट भविष्यमा स्नातकोत्तर तहमा एम टेक इन आइटी, एम टेक बाइ रिसर्च इन एआई र एम टेक इन अर्बान प्लानिङ एण्ड म्यानेजमेन्टका विषय पनि सञ्चालन गर्ने गृहकार्यमा विश्वविद्यालय रहेको रजिष्ट्रार भण्डारीले जानकारी दिए । उनका अनुसार विश्वविद्यालयमा आइटी, इन्जिनियरिङ, कृषि, पर्यटन र वन गरी चारवटा संकायमार्फत प्राविधिक शिक्षा प्रदान गरिने नीति रहेको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक ६ गते मंगलबार