कतिपय साथीहरू भन्नुहुन्छ,– ‘तपाईं विजयी भइसक्नुभयो’



यो चुनावमा गइरहँदा मलाई कतै हारिन्छ कि जस्तो लागेकै छैन । कतिपय साथीहरूले त अहिल्यै ‘तपाईं विजयी भइसक्नुुुभयो,’ भन्नुभएको छ । म त्यही ऊर्जासहित हिँडिरहेको छु । सर्सर्ती गणितीय हिसाब गर्ने हो भने पनि हिजो मैले ल्याएको आठ सय बढी मतमा आधा कम भए पनि मसँग चार सय मत बढी नै छन् । त्यस्तै सय डेढ सय थप मत मेरा छन् । मेरो क्यालकुलेसनमा म अहिले पाँच, साढे पाँच सय मतले अगाडि छु ।

प्रदीप भट्टराई
अध्यक्ष पदका उम्मेदवार
लोकतान्त्रिक समावेशी व्यवसायी समूह

१. कोहलपुर उद्योग बाणिज्य संघमा अध्यक्ष पदका लागि कांग्रेसका तर्फबाट तपाईंले उम्मेदवारी दिनुभएको छ । संघमा तपाईंको उम्मेदवारी किन र केका लागि ?

म कोहलपुर उद्योग बाणिज्य संंघमा तीन कार्यकालदेखि आबद्ध छु । सदस्य पदमा अत्यधिक मतसहित विजय भएर संघमा प्रवेश गरेको म हाल संघको वरिष्ठ उपाध्यक्ष पदमा कार्यरत छु ।

कोहलपुर उद्योग बाणिज्य संघ भनेको निजी क्षेत्रको एउटा प्रतिनिधिमूलक संस्था हो । त्यसमा पनि यो संस्था आफैँमा नीतिगत काम गर्नेभन्दा पनि दबाब सिर्जना गर्ने संस्था हो । त्यसैले मेरो उम्मेदवारी भनेको उद्योगी व्यापारीहरूलाई परेका विभिन्न समस्याहरूको उठान गर्ने र समाधान खोज्ने, स्थानीय सरकार र अन्य संघसंस्थासँग समन्वय गरेर यहाँको विकासका लागि पहल गर्ने कुरामा नै हो । कोहलपुरलाई पश्चिम क्षेत्रकै एउटा पर्यटकीय हब बनाउने परिकल्पनासहित मैले संघमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएको छु ।

२. संघमा सदस्यदेखि वरिष्ठ उपाध्यक्षसम्म भइरहँदा र अध्यक्षका लागि दाबी गरिरहँदा अध्यक्ष भएपछिका तपाईंका प्राथमिकताका क्षेत्र के हुन् ? कस्ता योजना छन् ?

कोहलपुर क्षेत्र व्यावसायिक हिसाबले दु्रतगतिमा अगाडि बढिरहँदा एक्कासि जब कोभिड सुरु भयो त्यसपछि यहाँको आर्थिक गतिविधिमा ह्रास आयो । अहिले कोहलपुरको हकमा मुख्य समस्या भनेको व्यवसायी र घरधनीबीचको घरभाडा सम्झौता हो । एक्कासि घरभाडा बढाउने कुराले व्यवसायीलाई समस्या पर्ने गरेको छ ।

यसको समाधानका लागि संघकै रोहबरमा घरधनी र व्यवसायीबीच सम्झौता गराउने र त्यसको कार्यान्वयन गराउने कुरामा म प्रतिबद्ध छु । त्यस्तै, कोहलपुरलाई पर्यटकीय गन्तव्य बनाउनका लागि यसवरिपरिका पर्यटकीय क्षेत्रलाई जोड्ने कुरामा हाम्रो जोड रहनेछ ।

३. कोहलपुरको समग्र विकासका लागि गरिने गतिविधि त छँदै छन् तर अहिलेका व्यापारीले जस्तै आर्थिक मन्दीको मार, व्यापारमा गिरावट, बैंकको चर्को ब्याजलगायतका समस्या सहनुपरेको छ । चाडबाडकै सन्दर्भमा पनि हाम्रा बजारहरू सुनसान हुने तर सीमावर्ती भारतीय बजारहरूमा नेपाली उपभोक्ताहरूको भीडभाड लाग्ने गरेको देखिन्छ । यस्ता समस्या समाधानका लागि तपाईंको कस्तो पहल हुनेछ ?

सीमावर्ती बजारमा किनमेलका लागि जाने कुरामा म पहिल्यैदेखि असहमत छु । व्यक्तिगत रूपमा भन्नुहुन्छ भने मैले आजसम्म रूपैडिया गएर कुनै एउटा सामान पनि किनेको छैन, किन्दिन । सर्वप्रथम त यो कुरालाई हामी व्यापारीहरू आफैँले लागू गर्नुपर्छ । व्यापारीहरू स्वयम्ले बिहानै गाडी लिएर रूपैडिया गएर सामान ल्याएर पसल भर्ने काम बन्द गर्नुपर्छ ।

त्यसबाहेक बाणिज्य संघका तर्फबाट हामीले भन्सार होस् बाणिज्य कार्यालय कर कार्यालय वा अन्य सरोकारवाला निकायलाई दबाब दिने काम गर्दै आएका छाँै, गर्छौं । त्यसबाहेकका अन्य बैंक ब्याजका समस्या, आर्थिक मन्दीको मारलगायतका समस्या हामी सबै व्यापारीले व्यहोरिरहनुपरेको छ । यी समस्या संघले मात्रै समाधान गर्नसक्ने कुरा पनि होइनन् । तर हामी निरन्तर दबाब दिने काम गरिरहेका छौँ, गर्छौं । त्यसकै लागि पनि संस्थामा म नेतृत्वदायी भूमिकामा जान चाहेको हँु ।

४. तपाईंको उम्मेदवारीमा यहाँका व्यापारी व्यवसायीबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

हेर्नोस् व्यापारी व्यवसायीहरूमा हिजो जुनप्रकारको ऊर्जा थियो आजका दिनमा त्यो पक्कै पनि छैन । हामीमै पनि त्यति उत्साह पाउँदिन म । मतदाताकै कुरा गर्नुहुन्छ भने पनि हिजो ३४ सयभन्दा बढी मतदाता रहेकोमा अहिले १६ सय ८७ करिब आधाकै सङ्ख्यामा घटेको छ ।

५. हिजोका दिनमा लोकप्रिय मत ल्याएर चुनाव जितिरहँदा आज पनि त्यस्तै मत ल्याउँछु भन्ने लाग्छ ?

यो चुनावमा गइरहँदा मलाई कतै पनि केही बिग्रिन्छ कि वा हारिन्छ कि जस्तो लागेकै छैन । कतिपय साथीहरूले त अहिल्यै ‘तपाईं विजयी भइसक्नुुुभयो’ भन्नुभएको छ । म त्यही ऊर्जासहित हिँडिरहेको छु ।

सर्सर्ती गणितीय हिसाब गर्ने हो भने पछि हिजो मैले ल्याएको ८ सय बढी मतमा आधा कम भए पनि मसँग ४ मत बढी नै छन् । त्यस्तै सय डेढ सय थप मत मेरा छन् । मेरो क्यालकुलेसनमा म अहिले ५ साढे पाँच सय मतले अगाडि छु ।

६. भनेपछि हिजो बाणिज्य संघमा कांग्रेसले कायम गरेको विरासत यथावत रहने कुरामा ढुक्क हुनुहुन्छ ?

म भन्दा पनि कोहलपुरका मतदाता यसमा ढुक्क हुनुहुन्छ भन्ने मलाई लाग्छ ।

७. उद्योग बाणिज्य संघजस्तो विशुद्ध व्यावसायिक संगठनमा सर्वसम्मत रूपमा सक्षम नेतृत्वको खोजी गर्नुपर्ने ठाउँमा दलीय प्रतिनिधित्वका आधारमा तपाईंहरू चुनावमा होमिनुभएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास किन गरिएन ?

संघ एउटा व्यावसायिक संस्था भए पनि यसमा आबद्ध हामीहरू सबैमा कुनै न कुनै दलीय आस्था छ । तर पनि बाणिज्य संघको चुनावमा दलहरू सम्पूर्ण रूपमा होमिनु हुँदैन भन्ने कुरा मैले हिजोका दिनमा पनि भन्दै आएको हुँ । म संघकै मेरो दोस्रो कार्यकालका लागि भएको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर पनि लोकप्रिय मतले जितेको थिएँ ।

यसमा संघमा नेतृत्व गरिसकेका पूर्वअध्यक्षहरूले अग्रसरता लिएर बाणिज्य संघ जस्तो विशुद्ध व्यावसायिक संस्थामा राजनीति छिर्नु हुँदैन भन्न सक्नुपथ्र्यो । उहाँहरूले सबै व्यवसायीलाई जम्मा गरेर सामूहिक भेलाबाट सबैलाई मिलाएर सर्वसम्मतिको बाटो खोज्नुपथ्र्यो ।

८. दलीय प्रतिनिधित्वका आधारमा हुने चुनावहरूमा दलहरूभित्रैबाट घात अन्तर्घातका कुरा पनि सुनिन्छन् । यो चुनावमा पनि दलभित्रैबाट अन्तर्घात हुनसक्ने कुराप्रति तपाई कत्तिको सचेत हुनुहुन्छ ?

कतिपय साथीहरूले भन्ने पनि गर्नुभएको छ, लोकतन्त्रप्रति आस्था राख्ने साथीहरूले दायाँबायाँ गरेनन् भने तपाईंको पक्षमा जित सुनिश्चित छ । तपाईंका विरोधी पनि यसमा खेल्न खोजिरहेका छन् भन्ने उहाँहरूको भनाइ छ । खानेपानी, उद्योग बाणिज्य संघको चुनाव र अन्य समयका चुनाव बिल्कुल फरक कुरा हुन् ।

हामीसँग सीमित मतदाता हुनुहुन्छ । उहाँहरूले कसलाई मत दिने, संस्थाका लागि उपयुक्त व्यक्ति को हो भन्ने कुरा राम्रोसँग पहिचान गर्नुभएको छ । ‘राइट म्यान इन राइट प्लेस’ भनेर उहाँहरूले मलाई चयन गरिसक्नुभएको छ भन्ने मलाई लाग्छ । मलाई घातअन्तर्घात हुन्छ भन्ने लाग्दैन ।

९. ऐतिहासिक रूपमा एक जना महिला उम्मेवारले संघमा नेतृत्वका लागि दाबी गरिरहँदा विगतमा जस्तै तपाईंको जित सुनिश्चित हुने आधार के ?

मेरो प्रतिस्पर्धी महिला उम्मेदवार हुनुहुन्छ, यो स्वागतयोग्य कुरा हो । म आफैँ पनि महिलाहरूलाई सम्मान गर्ने व्यक्ति हुँ । मैले आफ्नो व्यवसायमा पनि आमा, श्रीमतीलाई जोड्दै आइरहेको छु । महिलालाई प्राथमिकता साथ अगाडि ल्याउनुपर्छ भन्ने हो । तर महिलालाई अगाडि ल्याउने नाममा असक्षम मानिस त्यो स्थानमा पुग्यो भने उसले निर्वाह गर्ने भूमिका कमजोर हुन्छ ।

संस्थाले नै प्रभावकारी रूपमा काम गर्न सक्दैन । उद्योग बाणिज्य संघ भनेको कोहलपुरको एउटा गर्विलो संस्था हो । त्यसैले भोलि कुनै पनि ठाउँमा प्रतिनिधित्व गर्दा समग्र कोहलपुरलाई प्रतिनिधित्व गर्न सक्ने खालको नेतृत्व चाहिन्छ भन्ने मलाई लाग्छ ।

१०. तपाईं लामो समयदेखि संघमा आबद्ध हुनुहुन्छ, वर्तमान कार्यसमितिमा पनि वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । तर वर्तमान कार्यसमितिले व्यापारीहरू यत्रो समस्यामा पर्दा पनि उनीहरूका कुरा सुन्ने, उनीहरूको पीडामा सहानुभूतिसम्म व्यक्त गर्न नसकेका गुनासा सुनिन्छन् । किन यस्तो ?

यो विषयमा वर्तमान कार्यसमितिले व्यवसायीका पक्षमा आफूले गरेका कामको प्रचार प्रसार पनि गर्न जानेनौँ कि जस्तो लाग्छ ।

लक्ष्मणराज पौडेलको नेतृत्वको यही कार्यसमितिले संघको आफ्नै भवन बनाउन सफल भएको छ । यसअघिका अध्यक्षहरूले देखेको महत्वपूर्ण सपना यही कार्यसमितिले पूरा गरेको छ ।

प्रकाशित मिति : २०८१ असोज ३० गते बुधबार