पर्यटकीय क्षेत्रमै फोहोर डम्पिङ गर्दै लमही



लमही नगरपालिकाले पर्यटकीय क्षेत्र समेत रहेको अजम्मरी सामुदायिक वनमा फोहोर जथाभावी फाल्ने गरेको छ । फोहोरका कारण बजारसँगै जोडिएको यो पर्यटकीय क्षेत्रमा दुर्गन्ध बढिरहेको छ । अजम्मरी सामुदायिक वन क्षेत्र दुर्गन्धित बनेको भन्दै लमही नगरपालिकालाई ध्यानाकर्षण गराइएको छ ।

शिवु खनाल । दाङ ।

‘ग्रिन क्लिन लमही’ अभियान सञ्चालन भएपछि नजिकैको अजम्मरी सामुदायिक वन क्षेत्र लमहीकै फोहोरले दुर्गन्धित बनेको छ । सामुदायिक वन क्षेत्रमा घर, मासु पसल, सैलुन पसल, मेडिकलबाट निस्किने फोहोर जथाभावी फ्याँकिएका वन क्षेत्र दुर्गन्धित बनेको हो ।

लमही बजारसँग जोडिएको वडा नम्बर ५ स्थित वन क्षेत्रमा जथाभावी फोहोर फाल्ने गरिएका कारण वन क्षेत्रमा दुर्गन्ध बढेको छ । वन क्षेत्रमा रक्सीका बोतल, मेडिकलमा प्रयोग भएका सुई, सीसी, बोतल जथाभावी फालिने गरेका भेटिएका छन् ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बजार क्षेत्रको फोहोर लमही नगरपालिकाले अव्यवस्थित तवरले जथाभावी फाल्ने गरेका कारण वन क्षेत्रमा दुर्गन्ध बढेको बताए । सामुदायिक वनमा फ्याँकिएकोे फोहोरको दुर्गन्धका कारण आसपास बस्नसमेत समस्या भएको उनको भनाइ छ । ‘हामीले सामुदायिक वनबाट पटक–पटक डम्पिङ साइड व्यवस्थापन गर्न अनुरोध ग¥यौँ,’ उनले भने, ‘तर फोहोर फाल्ने कामलाई रोक्न सकिएन ।’ आफूहरूले पटक–पटक कडाइ गर्दासमेत नगरपालिकाले नटेरेको उनको भनाइ छ ।

अजम्मरी सामुदायिक वनभित्र लमही नगरपालिकाले बजार क्षेत्रको फोहोर फाल्ने डम्पिङ साइड नै बनाएको छ । हरियाली भएको वन क्षेत्र वातावरणीय हिसाबले राम्रो मानिँदै आए पनि देउखुरी क्षेत्रकै केन्द्रविन्दु लमही बजारलाई सुन्दर बनाएको सामुदायिक वन भने फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवि श्रेष्ठले बताए । वन क्षेत्र नै कुरुप हुने गरी फोहोर फाल्ने कार्य भइरहँदा सम्बन्धित निकाय लमही नगरपालिकाको ध्यान नपुगेको उनको गुनासो छ ।

‘लमही नगरपालिकाले बजार क्षेत्रभित्र निस्कने फोहोर जथाभाबी रूपमा फाल्ने गरेको छ,’ उनले भने, ‘सामुदायिक वनमै पर्यटकीय आकर्षणको पार्क छ र पार्कमा घुम्न आउने पर्यटकहरूले समेत गुनासो पोख्ने गरेका छन् ।’

फोहोरले गर्दा वन क्षेत्र दुर्गन्धित बनेको जानकारी आफूहरूसम्म आइपुगेको डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेले जानकारी दिए ।

‘जे भए पनि वनक्षेत्रमा त्यसरी फोहोर फाल्नचाहिँ मिल्दैन । स्थानीय तहले त्यति गर्दा पनि अटेर गरेमा कारबाहीका लागि प्रक्रिया अगाडि बढाउँछौँ,’ अधिकृत वाग्लेले भने, ‘सामुदायिक वनले लिखित कारबाहीको माग गरेमा वन ऐनअन्तर्गत कडा कारबाही गर्छौँ ।’

पूर्व–पश्चिम राजमार्ग लमही बजारसँग जोडिएको अजम्मरी सामुदायिक वन क्षेत्र यसरी दुर्गन्धित बनेपछि स्थानीयलाई मात्रै होइन बाटो हिँड्ने सबैलाई असर गर्न थालेको लमही नगरपालिका–५ निवासी शशिराम नेपालीले बताए । लमही नगरपालिकाले अजम्मरी सामुदायिकवन क्षेत्रभित्र गल्ने र नगल्ने फोहोर छुट्याउनका लागि भवन निर्माण गरेको छ ।

तर त्यो भवन सञ्चालनमा नआएर यसै अलपत्र परेको छ । लमही नगरपालिकाले फोहोर मैला व्यवस्थापन ऐन कार्यान्वयन गर्नु आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।

स्थानीय तहले फोहोर मैला व्यवस्थापन ऐनको कार्यान्वयन नगरेका धेरै उदाहरण छन् । फोहोर मैलाव्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहोर मैला व्यवस्थापन नियमावली २०७० जारी गरे पनि कार्यान्वयन नहुँदा स्थानीय तहले फोहोरलाई बाटो तथा सामुदायिक वनमा लगेर फाल्ने गरेको पाइएको छ ।

लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सामुदायिक वन क्षेत्रभित्र रहेको डम्पिङ साइड व्यवस्थापनमा लमही नगरपालिका चुकेको स्वीकार गरे । ‘उक्त क्षेत्र व्यवस्थित गर्नुपर्ने हो तर, सकिएको अवस्था छैन,’ नगर प्रमुख चौधरीले भने, ‘डम्पिङ साइड व्यवस्थापन गर्ने विषयमा गम्भीरताका साथ लाग्छाँै ।’

लमही नगरपालिका–५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी (सागर)ले अजम्मरी सामुदायिक वन क्षेत्रमा फालिने फोहोर पुनः निस्केर बजारमा आउने भएका कारण फोहोर फाल्ने ठाउँ उपयुक्त नरहेको बताए । उनले बस्तीदेखि केही टाढा फोहोर फाल्नुपर्ने सुझाव दिए ।

देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिह ठकुरीले फोहोर व्यवस्थापनमा स्थानीय सरकारले चासो दिनुपर्ने बताए । ‘हिजोका दिनमा लमही बजार सानो थियो । अहिले दिन प्रतिदिन बढ्दै गइरहेको छ,’ उनले भने, ‘बस्ती विकास भएसँगै फोहोर कहाँ फाल्ने भन्ने समस्या देखिएको छ । ’

अजम्मरी सामुदायिक वन क्षेत्र दुर्गन्धित बनेको भन्दै लमही नगरपालिकालाई ध्यानाकर्षण गराइएको छ । गत बुधबार सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल, उपाध्यक्ष रवि श्रेष्ठ, कोषाध्यक्ष तेजबहादुर विक, सचिव गोमा भण्डारी, सह–सचिव हिमन्तप्रसाद पाण्डेलगायत वनका पदाधिकारीले लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीलाई वनले वनक्षेत्र दुर्गन्धित बनेको भन्दै, डम्पिङ साइड अन्यत्र व्यवस्थापन गर्न ध्यानाकर्षण गराइएको थियो ।

प्रकाशित मिति : २०८१ असोज ३० गते बुधबार